राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा रोजगारीको अवसर

जीविको २०८३ जेठ १७ गते ७:३७

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति, खुमलटार ललितपुरले विभिन्न प्राविधिक तथा प्रशासनिक पदमा २१ जना कर्मचारी माग गरेको छ। प्रयोगशालाले खुला, समावेशी तथा आन्तरिक प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

लोक सेवा आयोगको सहमतिअनुसार लिखित परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ। माग गरिएका पदहरूमा मुख्य वैज्ञानिक, वरिष्ठ वैज्ञानिक अधिकृत, सहायक वैज्ञानिक अधिकृत, सहायक लेखा अधिकृत, वैज्ञानिक सहायक, प्रशासनिक सहायक, लेखापाल र प्रयोगशाला प्राविधिक रहेका छन्।

प्रयोगशालाले तह १० मा मुख्य वैज्ञानिक १ जना, तह ८ मा वरिष्ठ वैज्ञानिक अधिकृत १ जना, तह ६ मा सहायक वैज्ञानिक अधिकृत र सहायक लेखा अधिकृत, तह ५ मा वैज्ञानिक सहायक, प्रशासनिक सहायक र लेखापाल तथा तह ४ मा प्रयोगशाला प्राविधिकका लागि आवेदन माग गरेको छ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०८३ असार ४ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। त्यसपछि दोब्बर दस्तुर तिरेर २०८३ असार ११ गतेसम्म आवेदन दिन सकिनेछ।

दरखास्त फारम राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। वेबसाइटमा “डाउनलोड” अन्तर्गत “दरखास्त फारम” राखिएको छ।

दरखास्तसँगै शैक्षिक योग्यता, नागरिकता, अनुभव तथा समावेशी समूहमा आवेदन दिनेहरूको हकमा सम्बन्धित प्रमाणित कागजातहरू पेश गर्नुपर्नेछ। विदेशी शैक्षिक संस्थाबाट अध्ययन गरेका उम्मेदवारले सम्बन्धित निकायबाट समकक्षता प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ।

उमेरको हकमा अधिकृत तहका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, सहायक तहका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्षसम्म र तह १० का लागि ४५ वर्षसम्म उमेर सीमा तोकिएको छ। प्रयोगशालामा कार्यरत स्थायी कर्मचारीको हकमा भने उमेर हद नलाग्ने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार, ललितपुरमा सम्पर्क गर्न सकिनेछ। प्रयोगशालाको सम्पर्क नम्बर ०१-५९२०९२७ र ०१-५२५३०४९ रहेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित