अब वैदेशिक रोजगारीका लागि आएका हरेक काम ‘श्रम संसार पोर्टलमा’ राख्नै पर्ने

जीविको २०८३ वैशाख ८ गते १६:३६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीका सम्पूर्ण सेवा र सूचनाहरूलाई एकद्वार प्रणालीमा ल्याउन ‘श्रम संसार’ पोर्टललाई अनिवार्य र व्यवस्थित बनाउने निर्णय गरेको छ। सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, पारदर्शी र पूर्ण रूपमा प्रविधिमैत्री बनाउने नीति अनुरूप मन्त्रालयले यसअघि सञ्चालनमा रहेको डिजिटल प्रणालीलाई एकीकृत गर्दै सबै सरोकारवालालाई एउटै प्लेटफर्ममा समेट्ने गरी औपचारिक सूचना जारी गरेको हो। यो निर्णयसँगै अब निजी क्षेत्रका रोजगारदाता, रोजगारीको खोजीमा रहेका व्यक्ति, जब एजेन्सी तथा तालिम प्रदायक संस्थाहरू अनिवार्य रूपमा यसै प्रणालीमा आबद्ध हुनुपर्ने भएको छ।

मन्त्रालयको निर्णयअनुसार अबदेखि रोजगारीका विज्ञापन, सीप विकासका तालिम र श्रम बजारका महत्वपूर्ण सूचनाहरू ‘श्रम संसार’ पोर्टलबाहेक अन्यत्रबाट छरपस्ट रूपमा प्रवाह गर्न पाइने छैन। छरिएर रहेका विभिन्न डिजिटल संयन्त्रहरूलाई एउटै द्वारमा एकीकृत गरी सेवाग्राहीलाई झन्झटमुक्त सूचना दिने र रोजगारदाताले पनि सहजै दक्ष जनशक्ति भेट्टाउने वातावरण निर्माण गर्ने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। मन्त्रालयले यस पोर्टललाई राष्ट्रिय श्रम बजारको मेरुदण्डका रूपमा विकास गर्दै रोजगारीको माग र आपूर्तिको खाडल पुर्नका लागि कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ।

समग्र श्रम प्रशासनलाई डिजिटलाइज गरी बिचौलियामुक्त र उत्तरदायी बनाउन मन्त्रालयले यो प्रणालीको अनिवार्य प्रयोगमा विशेष जोड दिने भएको छ। अबदेखि सबै प्रकारका श्रम तथा रोजगारीका सूचना र अवसरहरू यसै माध्यमबाट मात्र सार्वजनिक गर्नुपर्ने गरी मन्त्रालयले नीतिगत रूपमै कडाइ गरेको हो। यसमार्फत राज्यसँग श्रम बजारको वास्तविक तथ्याङ्क उपलब्ध हुने र आगामी दिनमा युवा स्वरोजगारीका कार्यक्रमहरू तय गर्न समेत ठोस आधार प्राप्त हुनेछ। प्रविधिको उच्चतम् प्रयोगमार्फत श्रम क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको व्यापक स्तरोन्नति र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

आफ्नै मोबाइलबाट यसरी चेक गर्नुहोस् विज्ञापनको आधिकारिकता

म्यानपावरले देखाएको वैदेशिक रोजगारीको अवसर र डिमान्ड सरकारी रेकर्डमा छ कि छैन भनेर अब श्रमिकले आफ्नै मोबाइलबाट घरै बसीबसी जाँच्न सक्नेछन्। यसका लागि सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड मोबाइलको ‘गुगल प्ले स्टोर’ (Google Play Store) मा गएर ‘Shram Sansar’ एप डाउनलोड गर्नुपर्नेछ। एप डाउनलोड गरिसकेपछि त्यहाँ रहेको वैदेशिक रोजगारी खण्डमा गएर आफूले जान चाहेको देश, म्यानपावर कम्पनी वा विज्ञापनको लट नम्बर हालेर विवरणहरू हेर्न सकिने व्यवस्था मिलाइएको छ।

यदि एप चलाउन झन्झट लागेमा सिधै इन्टरनेट ब्राउजरमा https://shramsansar.gov.np/ लग–इन गरेर पनि म्यानपावरले दर्ता गरेका पछिल्ला विज्ञापन र डिमान्डको विवरण हेर्न सकिनेछ। मन्त्रालयले सबै म्यानपावरका विज्ञापनलाई यही एउटै प्रणालीमा अनिवार्य गरिदिएकाले, अब श्रमिकले कसैको कुरा सुन्नुअघि यो एप वा पोर्टलमा गएर आफूले जान चाहेको काम र कम्पनीको विवरण ‘भेरिफाई’ गर्न सक्नेछन्। यसरी प्रविधिको प्रयोग गर्दा श्रमिक र म्यानपावर दुवैलाई प्रक्रियामा ढुक्क हुने वातावरण बन्ने मन्त्रालयको विश्वास छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित