नागरिक उड्डयन प्राधिकरणमा जागिरको अवसर: ६० भन्दा बढी पदका लागि दरखास्त आह्वान
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले आर्थिक वर्ष २०८२/८३ का लागि ठुलो संख्यामा स्थायी कर्मचारी माग गरेको छ। प्राधिकरणले रिक्त रहेका प्रवन्धकदेखि सहायक स्तरसम्मका विभिन्न प्राविधिक र प्रशासनिक पदहरूमा पदपूर्तिका लागि सूचना जारी गरेको हो।
लोक सेवा आयोगको सहमतिमा खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा यी पदहरू पूर्ति गरिनेछ। इच्छुक नेपाली नागरिकले घरमै बसेर अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।
कुन पदमा कति माग? (प्रमुख पदहरूको विवरण)
प्राधिकरणले प्रशासन र प्राविधिक दुवै समूहमा गरी ६० भन्दा बढी पदका लागि विज्ञापन खुलाएको छ:
| पद | तह | जम्मा सिट | आवश्यक न्यूनतम योग्यता |
| प्रवन्धक | ९ | २ | सम्बन्धित विषयमा स्नातकोत्तर (Masters) |
| उपप्रवन्धक | ८ | ३ | वाणिज्य वा अर्थशास्त्रमा स्नातकोत्तर |
| वरिष्ठ अधिकृत | ७ | २६ | विज्ञान, आईटी वा इन्जिनियरिङमा स्नातक |
| अधिकृत | ६ | ३ | प्रशासन वा लेखामा स्नातक (Bachelors) |
| वरिष्ठ सहायक | ५ | ८ | प्रवीणता प्रमाणपत्र (+2) वा सो सरह |
| सहायक (प्रशासन) | ४ | ४ | एसईई (SEE) वा एसएलसीमा कम्तीमा २ जीपीए |
| सहायक (प्राविधिक) | ४ | १७ | एसईई उत्तीर्ण र सम्बन्धित प्राविधिक तालिम |
आवेदन सम्बन्धी महत्वपूर्ण जानकारी:
-
दरखास्त दिने अन्तिम मिति: २०८२ चैत २६ गतेसम्म (नियमित दस्तुरमा) र २०८३ वैशाख ३ गतेसम्म (दोब्बर दस्तुरमा)।
-
आवेदन दिने माध्यम: प्राधिकरणको आधिकारिक वेबसाइट www.caanepal.gov.np मा रहेको ‘Online Application Form’ प्रणाली मार्फत।
-
उमेरको हद: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (अधिकृत तहका लागि २१ वर्ष पूरा भएको हुनुपर्ने)। महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्षसम्म आवेदन दिन पाइनेछ।
-
परीक्षा दस्तुर: तह ९ र ८ का लागि रु. १,६००/-, तह ७ र ६ का लागि रु. १,२००/- तथा तह ५ र ४ का लागि रु. ६००/- तोकिएको छ।
प्राविधिक सहयोग आवश्यक परेमा उम्मेदवारले ९८४९४६३४५६ मा भाइबर वा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्ने प्राधिकरणले जनाएको छ।
