के उद्यम व्यवसाय गर्नका लागि ठूलो लगानी नै चाहिन्छ ?
पाँच लाख भन्दा कम लगानीमा गर्न सकिने १० व्यवसाय
कुनै पनि स्टार्ट-अप व्यवसायको लागि स्रोत र साधन जुटाउनु जति महत्वपूर्ण छ उत्तिकै महत्वपूर्ण हुन्छ; उद्यम गर्ने आँट, आइडिया, त्यसबारेको प्रयाप्त अध्ययन अनि धैर्यता । हो, धेरै स्टार्टअपहरू लगानीकै कारण उँभो लाग्न सकेका छैनन् अनि कति त हुर्कन नपाई ओइलाउँछन् । तर के यसको प्रमुख कारण पैसा मात्र हो त ? के कम लगानीमै व्यवसाय सञ्चालन गरेर त्यसलाई उत्कृष्ट र सफल उद्यम व्यवसायको उचाइमा पुर्याउन सकिँदैन ?
वि.स २०६७ सालमा भुसे चुल्होसँगै सडकमा कफी बेच्दै हिँड्ने दीपेश श्रेष्ठ ‘डेनी’ले पाटन मङ्गलबजारमा ‘डेनीज ह्यान्डमेड कफी’ चलाइरहेका छन् । विशेषगरी पाटन आसपासका युवाहरूको प्रिय थलो हो – डेनीज ह्यान्डमेड कफी । १५ सय रुपैयाँमा उद्यमशीलताको यात्रा सुरु गरेका डेनीले अहिले थुप्रै युवालाई रोजगारीसँगै आत्मनिर्भर हुने बाटो देखाएका छन् ।
भारतका एक प्रख्यात हेयर स्टाइलिस्ट जावेद हबीबले १९८० को दशकमा कोलकाता शहरमा रोडसाइड हेयर स्टाइलिस्टको रूपमा आफ्नो करियर सुरु गरेका थिए। उनले पछि १९९८ मा आफ्नो पहिलो सैलुन खोलेका थिए, जुन अहिले भारतभरि एक हजार भन्दा बढी सैलुनहरूको चेन श्रृंखलामा परिणत भएको छ।
हामीले यहाँ त्यस्ता उद्यम व्यवसायका उदाहरण प्रस्तुत गरेका छौं जुन ५ लाख रुपैयाँभन्दा कम लगानीमा सुरु गर्न सकिन्छ अनि छोटो समयमै राम्रो मुनाफा कमाउन सकिने स्वयम् उद्यमीहरू बताउँछन् । सीमित स्रोतमा आफ्नै केही व्यवसाय गर्ने जुनून तपाईँभित्र पनि छ भने यो सामाग्री तपाईँका लागि फलदायी हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।
१. बायोफ्लक प्रविधि: ट्याङ्कीमा माछा पालन
“प्राविधिक ज्ञान लिएर बायोफ्लक माछापालन गर्न सके गाडी किन्न समय लाग्दैन,” जीविकोसँगको कुरामा ट्याङ्कीमा माछापालन गरिरहेका चितवनका कपिल राज रेग्मीले भने।
कपिल राज रेग्मी र प्रकाश पन्थीले चितवनमा नै बायोफ्लक प्रविधि अर्थात् ट्याङ्कीमा माछापालन गरिरहेका छन् । सामान्यतया हामीले पोखरी खनेर वा प्राकृतिक पोखरीमा माछापालन गरेको देखेका छौँ । तर, बायोफ्लक माछापालन भने पोखरीमा नभई ट्याङ्कीमा गरिन्छ ।
कम लगानी धेरै उत्पादन र मनग्य आम्दानी हुनाले माछापालन गर्न खोज्ने किसानहरूको रोजाइमा बायोफ्लक माछापालन पर्दछ । बायोफ्लक प्रविधिमा माछापालन गर्दा पोखरीमा लाग्ने लगानी भन्दा कम लगानी पर्छ । एउटा ट्याङ्कीबाट एकपटकमा ३०० देखि ५०० केजीसम्म माछा उत्पादन गर्न सकिने उनीहरूको अनुभव छ ।
परम्परागतरूपमा माछापालन गर्दा एक कट्ठा जग्गामा १५० केजीदेखि ३०० केजी मात्र माछापालन गर्न सकिन्छ तर यो प्रविधिमा सोही बराबरको जग्गामा छ हजार केजीसम्म उत्पादन गर्न सकिन्छ । एक कट्ठा जग्गामा तीन डायमिटरको १६ वटा ट्याङ्क अट्छ । कपिलका अनुसार तराई र भित्री मधेशमा एक सालमा २ पटकसम्म उत्पादन गर्न सकिन्छ पहाडमा भने सालमा ४ महिनासम्म जाडो महिना रहने भएका कारण ट्याङ्कबाट दुईपटक माछा निकाल्न सकिदैन ।
अब गरौँ लगानीको कुरा,
बायोफ्लक माछापालन गर्दा माछा पाल्ने एउटा तीन डायमिटरको एउटा ट्याङ्की बनाएर माछाका भुरा राख्दासम्म ७० देखि ८० हजारसम्म लगानी लाग्ने कपिल बताउँछन् ।एकपटक हालेको माछाको आम्दानीले नै बायोफ्लक बनाएको आम्दानी उठ्छ, दोस्रो वर्षदेखिको माछाको दानामा लाग्ने खर्च कटाएर बाँकी आम्दानी नाफामा जोडिन्छ।
सामान्यतया ४ वटा ट्याङ्कीबाट माछापालन सुरुवात गर्दा ३ लाख रुपैयाँसम्म खर्च आउँछ माछापालन गर्ने जमिन धेरै नचाहिने हुँदा यो व्यवसाय ५ लाख भन्दा कम लगानीमा नै थाल्न सकिन्छ । ४ वटा ट्याङ्कीबाट व्यवसायीक बायोफ्लक सुरुवात गर्दा खर्च कटाएर डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । वर्षमा औसतमा ३ पटकसम्म माछा निकाल्न सकिने हुँदा करिब ४ देखि पाँच लाख रुपैयाँ वार्षिक आम्दानी लिन सकिने कपिल बताउँछन् ।
२. रेन्टल व्यवसाय: लुगा, डोलीदेखि कार्यविशेषका भाँडाकुँडा भाडामा
काठमाडौं असनमा रहेको पोखरेली वेडिङ्ग हाउसकी सञ्चालक ज्ञानु पराजुली विवाहको सिजनमा डोली भाडामा दिएर नै लाखौँ कमाउँछिन् । २ वटा डोली भाडामा दिएर उठेको पैसाले नै उनको घर व्यवहार धानिन्छ । अरू सरसामान बेचेर अनि भाडामा दिएर आएको पैसाबाट बेग्लै नाफा हुन्छ ।
ज्ञानुले डोलीसँगै विवाहमा बेहुलाको लागि चाहिने छाता, पास्नी व्रतबन्धका लागि चाहिने भाँडाकुँडा लगायतका सामाग्रीहरू समेत भाडामा दिन्छिन् ।
ज्ञानुले जस्तै काठमाडौंको अनामनगरमा निस्ता न्यौपानेले पनि फर्स्ट स्टेप रेण्टल स्टोर खोलेकी छिन् । दिदीको बिहेमा किनेको लेहेङ्गा फेरी प्रयोगमा नआएपछि त्यसलाई सदुपयोग गर्न लुगा भाडामा दिने गज्जबको आइडिया फुराइन् निस्ताले ।
१० हजारको लेहेङ्गाले उनको व्यवसाय सुरुवात भयो । बिस्तारै लुगा थपिँदै गयो व्यवसाय पनि बढ्दै गयो । अहिले त लुगा भाडामा दिएर नै विवाहको सिजनमा डेढ लाख बढी आम्दानी गर्छिन् निस्ता ।
लुगा भाडामा दिने व्यवसायलाई आफू अनुकुल बनाउन सकिन्छ । चलन चल्तीलाई बुझेर समयअनुकूल लुगा खरिद गरि व्यवसाय सुरु गरे २ देखि ३ लाखसम्म आम्दानी गर्न सकिने निस्ता बताउँछिन् ।
लुगाको सरसफाईलाई ध्यान दिने, फेसन अनुसारका लुगाहरू राख्न जान्ने अनि चुस्त सेवा दिन सक्ने हो भने रेन्टल व्यवसाय राम्रोसँग चलाउन सकिने निस्ताले जस्तै रेन्टल व्यवसाय चलाइरहेकी चितवनकी सन्ध्या कँडेल बताउँछिन् ।
उनी भन्छिन्, “विवाहको सिजनमा त यो भन्दा बढी कमाई हुन्छ, त्यतिबेला त मासिक ७ सय जना जति ग्राहक आउनुहुन्छ अरू बेलामा पनि मासिक २ सय ग्राहक त घटेको छैन ।”
यसरी रेन्टल व्यवसाय सुरुवात गर्दा कति लगानी लगाउने भन्ने तपाईंले किन्ने सरसामानको आकारले निर्भर गर्छ । साधारण कपडाको रेन्टल स्टोर सुरुवात गर्दा २ लाख रुपैयाँबाट नै व्यवसाय सुरुवात गर्न सकिने निस्ता अनि सन्ध्या बताउँछन् ।
३. डेरी खोल्नुस्, या मसला पिन्नुस्
“डेरी खोल्न तपाईंले सोचेभन्दा कम लगानी लाग्छ” काठमाडौं कोटेश्वरमा डेरी व्यवसाय सञ्चालन गरिरहेका इलामका भुवन ढकालले सुनाए ।
डेरी व्यवसाय कम लगानीमा बढी मुनाफा लिन सकिने किसिमको व्यवसाय हो । ठाउँको छनोट गर्न जान्ने हो भने डेरी व्यवसाय २ लाख भित्रमा नै सञ्चालन गर्न सकिन्छ ।
२ वटा फ्रिज, एकदिनको लागि दूधजन्य सामाग्री खरिद गर्ने रकम अनि तौलने मेसिनकै भरमा डेरी सञ्चालन हुन्छ । नयाँ फ्रिज आकार हेरेर ६० देखि ९० हजार रुपैयाँमा पाइन्छ । डेरीमा उपलब्ध सामाग्री धेरै दिन राख्न नमिल्ने हुँदा पहिले एकपटक किनेको दूध दही बेचेर आएको पैसाले नै दोस्रो दिन सामाग्री किन्न सकिन्छ ।
डेरीमा दूधजन्य सामाग्रीहरू सप्लायर्सले नै ल्याइदिने हुँदा ढुवानीमा केही खर्च लाग्दैन । “डेरी व्यवसाय मुनाफा कमाउन सकिने व्यवसायमा पर्छ । सरदर ५० लिटर दूध, २५ लिटर दही अनि १\२ केजी घ्यू वा पनिर बेच्ने डेरीले नै दैनिक औसत २५ सय देखि ३ हजार रुपैयाँसम्म आम्दानी लिन सक्छन्,” भुवनले सुनाए ।
डेरी सञ्चालनका लागि मानिसको बासस्थान बाक्लो भएको आवासीय क्षेत्र उपयुक्त हुन्छ । डेरीमा आवश्यकता अनुसार पाउरोटी, दुनोट, जुस, लस्सी जस्ता बस्तु थपेर पनि थप मुनाफा लिन सकिन्छ । यसमा पनि ठूलो लगानी चाहिँदैन ।
डेरी जस्तै मसला पिस्ने व्यवसाय पनि कम लगानीमा मनग्य आम्दानी दिने व्यवसायमा पर्छ ।
काठमाडौं घट्टेकुलोमा शक्ति मसला मिल सञ्चालन गरिरहेका व्यवसायी रविन श्रेष्ठले मसला पिस्ने व्यवसायबाट आएको आम्दानीले नै काठमाडौंमा जीविका चलिरहेको बताउँछन् ।
दशकअगाडि जम्मा ४० हजार रुपैयाँ लगानी लगाएर खोलेको पसलले अहिले पनि मासिक ४० हजारसम्म आम्दानी दिन्छ ।
एउटा मेसिन किनेर सुरुवात गरेको मसला पिस्ने व्यवसायमा अहिले ५ वटा मेसिन छन् । जिरा पिसेर सुरुवात गरिएको मसला पसलमा अहिले चामल, गहुँ, बेसार, दाल लगायत थुप्रै खाद्यान्न अनि मसला पिसिन्छ । आवासीय क्षेत्रमा मसला पिस्ने व्यवसाय सुरुवात गरेकाले यसरी सफलता पाउन सकेको रविन बताउँछन् ।
उनी भन्छन्, “मसला पिसेर नै पनि जीविकोपार्जन सहजै गर्न सकिन्छ । मैले व्यवसायबाट परिवारको जीविका चलाएँ अनि छोराछोरी पढाएँ”
अहिले पनि मसला पिस्ने पसल खोल्न ३ देखि ४ लाख भन्दा बढी लगानी नलाग्ने रविनको बुझाइ छ।
४. सिजन अनुसार पेय पद्दार्थ (लस्सी, जुस, चिया कफी)
काठमाडौं असनको लस्सी नचाख्ने शायद कमै होलान्, राजधानीबासी । असनका लस्सी व्यापारी दीपक बोहोरालाई यतिबेला लस्सी बनाएर बेच्न भ्याइ नभ्याइ छ । रामेछापबाट एसएलसी दिएपछि, पढ्दै केही गरौँ भन्ने उद्देश्यले बाबुसँग काठमाडौं आएका दीपकले लस्सी पसल खोले । लस्सी पसलबाट अहिले दीपकले महिनाको करिव डेढदेखि २ लाखसम्म आम्दानी गर्छन् ।
“केही गर्छु भनेर गाउँबाट काठमाडौं आएँ, ठूलो व्यवसाय गर्न पैसा थिएन, बुझ्दै जाँदा लस्सीको व्यापार कम लगानीमा पनि गर्न सकिने अनि आम्दानी पनि राम्रो हुने भएकाले लस्सी पसल खोलेँ” दीपकले सुनाए ।
स्नातक तह पढ्दै गरेका दीपकले करिव ३ लाख ५० हजार लगानीमा लस्सी पसल खेलेका थिए । लस्सी पसल खोल्नका लागि खासै ठुल्ठुला मेसिनहरू नचाहिने हुँदा सुरुमा दही, किसमिस, खुवा, लगायतका सामान लिएर पसल खोलेको उनी बताउँछन् । जाडो महिनामा अली कम व्यापार हुने भए पनि गर्मीमा लस्सीको व्यापार मज्जाले हुने हुँदा अलि चहलपहल हुने ठाउँहरूमा पसल चल्ने दीपकको अनुभव छ ।
लस्सीको मात्र होइन, अहिले गर्मीमा जुसको व्यापार पनि राम्रो भएको व्यापारी अमित मोदी बताउँछन् । सप्तरीबाट २३ वर्ष अघि काठमाडौं आएका अमितले फलफूलसँगै एउटा उखु पेल्ने मेसिनबाट पसल सुरु गरेका थिए । बिस्तारै व्यापार बढ्दै गए पछि अमितले जुसको लागि मेसिन अनि सहयोगीहरू पनि थप्दै गए ।
“पहिले म एक्लैले एउटा उखु पेल्ने मेसिनबाट पसल सुरु गरेको थिएँ, अहिले मसँग अरु ३ वटा जुस पेल्ने मेसिन छन्, कर्मचारीहरू पनि राखेको छु । राम्रै आम्दानी भएको छ ” अमितले सुनाए ।
अमितको पसलले सिजनमा महिनाको करिव ३ लाख आम्दानी गर्छ । सामान्यतया जुस पसल खोल्नको लागि सुरुमा ४ देखि ५ लाखसम्मको लगानी गरे पुग्ने उनी बताउँछन् ।
त्यस्तै अर्को लोकप्रिय पेयपदार्थ हो चिया । चियाको व्यापार सडकदेखि ठुल्ठुला रेष्टुरेन्ट, क्याफे, होटल खोलेर पनि गर्न सकिन्छ । आफ्नो बजेटको हिसाबले चिया पसल खोल्न सकिने हुँदा, क्षमताअनुसार यसमा लगानी गर्न सकिन्छ ।
चिया पसलको एउटा राम्रो उदाहरणको रुपमा हामी लिन सक्छौँ, जनकपुरका ‘बीबीएस् चायवाला’ अर्थात् उत्सव गुप्तालाई । उद्यम गर्नका लागि ठूलो लगानी अनि वर्षौको अनुभव नै हुनुपर्छ भन्ने मान्यतालाई चुनौती दिँदै बीबीएस् पढ्दै गरेका उत्सवले थोरै लगानी गरेर चिया उद्यम सुरु गरे ।
व्यवसाय सुरु गर्न उत्सवसँग पैसा थिएन । चिया पसलको लागि सटर भाडामा लिएर, रङ्ग रोगन गरेर, टेबल कुर्सीको जोडजाड गर्नलाई राम्रै खर्च लाग्थ्यो । त्यसैले उनले आफ्नो व्यवसायको पहिलो पाइला सडक पेटीमा राखे । साथीभाइसँग सापट र आफूसँग भएको पैसा जम्मा गरी १ हजार रुपैयाँ लगानीमा उत्सवले चिया पसल खोले ।
यसरी दीपक, अमित र उत्सवले जसरी कम लगानीमा सिजन अनुसारको पेय पदार्थको व्यापार गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ ।
५. बिहान साँझको बेलामा, ब्यापार गर्ने ठेलामा
काठमाडौं महानगरमा फुटपाथमा ब्यापार व्यवसाय गर्न प्रतिबन्ध छ तर देशका विभिन्न ठाउँमा फुटपाथमा ठेला राखेर त्यसमा विभिन्न खाजाका परिकार बनाएर जीविका चलाउने धेरै व्यक्तिहरू छन् । कसैलाई खानाका विभिन्न परिकार बनाउन राम्ररी आउँछ तर होटल रेस्टुरेन्ट, क्याफे खोल्न लगानी गर्ने पर्याप्त पैसा छैन भने कम लगानीमा ठेलामा खाजाको व्यापार पनि राम्रो विकल्प हुन सक्छ ।
‘राई दाइको चाट पसल’ का सञ्चालक केशव राई १ दशक अगाडि काठमाडौंको सडकमा ठेलामा चटपट बेच्दै हिँड्थे । करिव तीन चार वर्ष सडकमै व्यापार गरेका केशवले व्यापार बढ्दै गए पछि ललितपुरको नखिपोटमा एउटा सानो सटर लिएरै चाट, आलु-निम्की, चटपटे अनि पानीपुरी बेच्न थाले । यो व्यापार पनि फस्टाउँदै गए पछि उनले १ रोपनी जग्गा भाडामा लिएर अहिले पसल चलाएका छन् ।
केशवले धेरै ठाउँ काम गर्दा पनि उनले सोचेजस्तो तरिकाले जीवन चलेन । दिनदिनै पैसाको अभाव हुन थालेपछि उनले सोचे, ‘केही न केही आफ्नै भएपनि ब्यापार व्यवसाय त गर्नै पर्छ ।’
“भन्छन् नि ‘व्यापार त अपार हुन्छ’, मलाई पनि त्यस्तै लाग्यो अनि आफ्नै केही गर्छु भनेर उपाय खोज्न थालेँ,” केशव सुनाउँछन् ।
“लगानी पनि कम लाग्ने अनि आम्दानी पनि हुने!” केशवले योजना बनाए, “अब चटपटे बेचेर नै पैसा कमाउँछु ।” उनी भन्छन् “मेहनत गर्ने हो भने कम लगानी गरेर ठेलाबाटै व्यापार गर्दा पनि राम्रो आम्दानी गर्न सकिन्छ । मलाई सडकबाट आज यहाँसम्म ठेलाले नै पुर्यायो” करिव २ लाख सम्मको लगानीले पनि ठेलामा व्यापार सुरु गर्न पुग्ने केशव बताउँछन् । ५० हजारको हाराहारीमा ठेला बनाउने अनि ग्यास, चुलो, भाँडाकुँडा र खाद्यसामग्रीहरू लिएर ठेलामा गरिने व्यवसाय सुरु गर्न सकिने केशवको अनुभव छ ।
६. घरमै उद्यम: अर्डर अनुसार टिफिनदेखि अचारसम्म
“मैले व्यवसायका लागि भनेर छुट्टै ठाउँ बनाएको छैन । ग्राहकको लागि र आफ्नो लागि म एउटै तरिकाले खाना बनाउने गर्छु, जुन मेरो घरकै भान्सामा पाक्ने गर्दछ” मालाज् किचेनकी सञ्चालक बबी थापाले सुनाइन् । उनले विगत ३ वर्षदेखि आफ्नै भान्सालाई कार्यकक्ष बनाएर सेवाग्राहीलाई स्वादिष्ट भोजनको सन्तुष्टि दिइरहेकी छिन् ।
बबीको भान्सामा होटल रेष्टुरेन्टमा पाइने म:म:, चाउमिन, बर्गर, पिज्जा, लागायतका परिकारहरू पाइँदैन । अर्डरअनुसार नेपालीहरूको भान्सामा पाक्ने मासु, पुलाउ, पनिर, अचारजस्ता खानेकुराहरू बबीले बनाउँछिन् । त्यहाँ बनेका खाना प्लेटमा होइन किलोमा बिक्री हुने गर्दछ । खानाहरू प्याकेजको रुपमा अर्डर गर्ने व्यवस्था रहेको बबी बताउँछिन् । उनी भन्छिन्, “रेष्टुरेन्टमा खाना किन्दा प्लेटमा किन्नुपर्छ । खाना पनि थोरै हुन्छ, जसले गर्दा परिवार सबैले बाहिर गएर खाना खाँदा महँगो पर्छ । तर मैले भने सबैलाई पुग्नेगरि सस्तो मूल्यमा स्वादिष्ट खाना दिन्छु । सबैलाई खाना पनि पुग्छ अनि महँगो पनि पर्दैन ।”
यसरी आफ्नो मौलिक परिकारहरू आफ्नै घरको चुलोमा बनाएर पनि व्यवसाय गर्न सकिन्छ भन्ने राम्रो उदाहरण हुन्, बबी । उनले आफ्नै घरबाट बिहान, बेलुकाको खाना बनाएर राम्रो आम्दानी गर्दै आएकी छिन् । दैनिक आफ्नै घरमा प्रयोग हुने सामानले नै यो व्यवसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी गर्न नसक्नेहरूको लागि यो व्यवसाय उपयुक्त हुन सक्छ ।
अर्डर अनुसार घरमै खाना बनाएर दिने व्यवसाय गर्नको लागि खाना बनाउने ग्याँस, अनि जे बनाउने हो त्यही अनुसारको सामग्री लिएर ब्यापार सुरु गर्न सकिने हुँदा १ लाख भन्दा कम लगानीबाट पनि यो सुरु गर्न सकिने बबी बताउँछिन् ।
त्यस्तै घरको भान्साबाट नै गर्न सकिने अर्को राम्रो व्यवसाय हो – अचार । काठमाडौं किर्तिपुर-५ पाँगा कि मुना महर्जन (३२) ले आफ्नो सानैदेखि उद्यमी बन्ने रहर घरभित्र नै बसेर पुरा गरिरहेकी छन् । मुनाज् पिकल (Muna’s pickle) की सञ्चालक मुनाले लकडाउनमा आफ्नो भान्सालाई समय बिताउने साथीको रूपमा लिइन् ।
सानैदेखि घरमा आमाले थरिथरिका अचार बनाएको देखेकी मुना आमासँगै अचार बनाउन थालिहाल्थिन् । आफूले बनाएको अचार साथीभाइ इष्ट मित्रहरूलाई चखाउने र कोसेलीको रूपमा मुनाले दिने गर्थिन् । उनले बनाएको अचार खानेले पनि खुबै रुचाउँथे । “कोसेली लैजानेले पछि फेरी पैसा तिरेरै खाने भनेर माग्ने गर्थे, तर मेरो व्यवसाय नभएकाले बेच्ने काम भने मैले गर्थिन्,” उनी भन्छिन् ।
यसरी उनको अचार खाने पारखीको सङ्ख्या बढ्ने देखेपछि छिमेकीहरूले उनलाई व्यवसायिक रुपमा नै अचार बनाउन प्रोत्साहित गर्न थाले । उनलाई पनि व्यवसाय चल्छ जस्तो लाग्न थाल्यो । मुनाले आफूमा भएको सीपलाई आफ्नै भान्साबाट व्यवसाय सुरु गरिन् त्यो पनि जम्मा १ लाख रुपैयाँ लगानीमा । मेहनत गरेर ग्राहकको स्वादअनुसार अचार बनाउन सकियो भने यसको माग देशमा मात्र नभएर विदेशमा समेत निर्यात गर्न सकिने मुना बताउँछिन् ।
“आफूसँग भएको थोरै पैसामा पनि हामी अचार बनाउन सक्छौ, तेल खोर्सानी, नुन, मसलाहरू अनि केको अचार बनाउने सोहीअनुसारको सामाग्री जुटाएर हामी आफ्नै किचेनबाट यसको राम्ररी व्यवसाय गर्न सक्छौँ,” मुना बताउँछिन् ।
७. तीन वटा दुहुनो बस्तुभाउबाटै मासिक ३० हजार रुपैयाँ बचत
उमेरले ५६ वर्ष पार गरिसकेका धुलिखेल- ११ काभ्रेका केशव बडालले २ वटा गाई र एउटा भैँसीबाट दैनिक २२ लिटरभन्दा बढी दूध बेच्ने गर्छन् । आफ्नो श्रम र लागत बाहेक ३ वटा गाईबस्तुबाट मासिक ३० हजार रुपैयाँ बचत गर्ने गरेको केशवले बताउँछन् ।
“३ वटा गाईबस्तुबाट मासिक ३० हजार रुपैयाँ कमाइ ?” अचम्म मान्दै उनलाई हामीले सोध्यौँ ।
“हो त । त्यो पनि आफूले खाएर !” हँसिलो अनुहार बनाउँदै उनले भने, “अहिले एक लिटर दूधको ७३ रुपैयाँ जति किसानले पाउँछन् । २२ लिटर दूध भयो भने घरका लागि २ लिटर अनि बाँकी दूध बेच्दा मासिक ४५ हजार कमाइ हुन्छ । ३ वटा गाईबस्तुको आहारा छुट्याउँदा पनि ३० हजार रुपैयाँ बच्छ । अझ ति गाईबस्तुको मल खेतीमा लगाउन पाइन्छ, त्यो अलग फाइदा छ”
काम गर्न लाज नमान्ने हो र इच्छाशक्ति छ भने थोरै लगानीमा पनि नेपालमा राम्रै आम्दानी गर्न सकिने केशव बताउँछन् । रोजगारीका लागि युवाले विदेश नै पलायन हुनु नपर्ने उनको बुझाई छ ।
“एउटा युवा खाडी जाँदा पनि २ लाख ऋण बोकेरै गएको हुन्छ । विदेश जान ऋण खोज्नुभन्दा बस्तुभाउ पाल्न ऋण खोज्नु उत्तम हुन्छ” युवालाई सुझाउँदै केशव भन्छन्, “सुरुमै ठूलो लगानी गर्नुपर्दैन । ३ वटा गाई तीन लाख जति खर्च गरेर किन्ने हो भने घरमा खाएर पनि २२ देखि २५ लिटर दूध बेच्न मजाले सकिन्छ । जग्गा छ भने खेती पनि गर्नुस्, गाईबस्तुको गोबर खेती गर्दा उपयोग गर्न सकिन्छ । यसो गर्ने हो भने युवा पलायन हुनै पर्दैन । खाडीमा कमाउने पैसा ३ वटा गाईबस्तु पाल्ने हो भने आफ्नै ठाउँमा कमाउन सकिन्छ”
८. फूलखेती (गार्डेनीङ, नर्सरी)
गत दशैँ तिहारको सिजनमा मखमली र सयपत्री फूल बेचेर नै ओखलढुङ्गाकी चन्द्रकला राईले करिव ३ लाख रुपैयाँ आम्दानी गरिन् ।
भक्तपुरको गुण्डुमा जग्गा भाडामा लिएर फूलखेती गरिरहेकी चन्द्रकलाको बारीमा वर्षैभरि फूल फुल्छन् । कहिले मखमली, सयपत्री त कहिले माघी फूल । बजारको चिन्ता पनि उनले लिनुपर्दैन किनकी फूल लिनलाई गाडी नै लिएर व्यवसायीहरू उनको बारीमै पुग्छन् ।
दशैँ र तिहारमा सयपत्री अनि मखमली बारीभरि हुन्छ अरू सिजनमा माघी फूल अनि गुलाफ बारीभरि फुल्छन् ।
दशैँ र तिहारको दुई महिनामा डेढ लाखका दरले आम्दानी गर्ने फूलले अरू समय पनि मासिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी दिन्छ ।
सिँचाइ पुग्ने ठाउँ भए फूल खेती गर्न त्यति अप्ठ्यारो पनि छैन । सिँचाइ पुग्ने जग्गा भाडामा लिए सहजै फूलखेती गर्न सकिन्छ । जग्गा भाडामा लिँदा ठाउँ हेरेर लिन सकिन्छ । सस्तोमा फराकिलो जमिन भाडामा लिए सहजै फूल व्यवसाय चम्कन्छ । फूल खेती गरेर मज्जाले परिवारको जीविको धानिने चन्द्रकला सुनाउँछिन् ।
उनी भन्छिन्, “अरू खेतीभन्दा फूल खेतीमा मेहनत कम पर्छ । सिँचाइ र गोडमेल बेला मौका गरे पुग्छ । फूलखेती गरेर मज्जासँग जीविको धानिन्छ”
९. दालभात बेचेरै गर्न सकिन्छ स्तरीय कमाइ
पाटन चाकुपाटमा ‘भिमेश्वर भोजनालय’ छ जहाँ तपाईं बिहान १० बजेतिर पुग्नु भयो भने खाना खान पालो पर्खिनुपर्ने हुन सक्छ । पाटन वरिपरिका मात्र होइनन् टाढाटाढाबाट ‘घरको जस्तो खाना पाउने ठाउँ’ भन्दै नियमित ग्राहकहरू यहाँ आइपुग्छन् । यहाँ बिहान र साँझ गरेर २ सयभन्दा बढी व्यक्तिले दैनिक खाना खाने गर्छन् । भिमेश्वर भोजनालय सञ्चालन गरिरहेकी यशोदा केसी र उनका परिवारका सदस्य हरेक दिन बिहान ६ बजेदेखि राती १० बजेसम्म खाना बनाउने, सरसफाइ गर्ने काममा खटिन्छन् । यही निरन्तरको खटाइले गर्दा त दालभात बेचेरै मासिक १ लाख बचाउँछिन्, यशोदा । भिमेश्वरमा बिहान बेलुकाको खाना खान पुल्चोक इञ्जिनियरिङ अनि पाटन क्यापस पढ्ने विद्यार्थीहरूको लर्को लाग्छ । त्यस्तै यस क्षेत्रमा काम गर्नेहरू पनि खाना खान यही आउने गर्छन् ।
यशोदालाई चाकुपाटमा भोजनालय खोल्ने जुक्ति ५ वर्ष अगाडि चल्यो । विद्यार्थीको चहलपहल बढी हुने अनि यसक्षेत्रमा चल्दै आएका अरू भोजनालयमा लाग्ने भीडलाई देखेपछि चाकुपाटमा नै भोजनालय खोल्ने सबैभन्दा उपयुक्त ठाउँ लाग्यो ।
आफूसँग भएको डेढलाख पैसाले उनले भिमेश्वर भोजनालय खोलिन् । व्यापार पनि उनले सोचेझैँ भयो । यहाँ पाइने सफा, मीठो अनि सस्तो खानाले घरको खानाको याद दिलाउने हुँदा उनका ग्राहक दैनिक बढ्न थाले ।
“अहिले बिहान र बेलुका गरेर झण्डै २ सय जनाले खाना खानुहुन्छ । हामी परिवार नै यही व्यवसायमा भएकाले कामदार राख्नुपरेको छैन । परिवार, छोराछोरीको पढाई सबै धानेर पनि पैसा बचत हुन्छ,” यशोदाले सुनाइन् ।
आउने ग्राहकलाई यशोदा पनि सस्तो मूल्यमा खाना दिन्छिन् । भिमेश्वरमा सादा खाना खाए १ सय रुपैयाँ, अण्डा खाना खाए १ सय ३० रुपैयाँ अनि चिकेन खाना खाए १ सय ५० रुपैयाँ तिर्नुपर्छ ।
यसरी देशमै आँट्ने हो भने भोजनालय खोल्न ३ देखि ४ लाख मात्र लगानी लाग्ने यशोदा बताउँछिन् ।
उनी भन्छिन्, “ठाउँको छनोट गर्न जान्यो भने अनि सहुलियत दरमा राम्रो खाना खुवाउने हो भने भोजनालयबाट आम्दानी राम्रो हुन्छ, तर खट्न भने सक्नुपर्छ”
भोजनालय आसपास रहेका मेनपावरमा आउने युवाहरू भिमेश्वरमा खाना खान आउँदा देशमै केही गर्न सके ६०\७० हजार रुपैयाँ कमाउन विदेशिनु नपर्ने भन्दै सम्झाउने गर्छिन्, यशोदा ।
“खटाइ धेरै छ तर आम्दानी पनि छ । कम लगानी हुनेलाई भोजनालय उपयुक्त आम्दानीको स्रोत हुनसक्छ ,” यशोदा सुनाउँछिन् ।
१०. कपाल काट्ने सीप सिकेरै बन्न सकिन्छ स्वावलम्बी
बर्दघाटमा रहेको समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीमा विशेषगरी पुरुषका दारी कपाल काट्ने काम गर्छिन्, पुनम पौडेल । उनी यहाँकै स्थानीय हुन् ।
भर्खरै एक वर्ष हुँदैछ, पुनमले बार्बर सम्बन्धी सीप सिकेर काम गर्न सुरु गरेको तर यो एक वर्षमा उनको सीपले यहाँ राम्रै प्रशंसा बटुलिरहेको छ ।
हेयर ड्रेसरको काम गरेर नै अहिले पुनमको जीविको चल्ने गर्छ । पहिला श्रीमानको कमाइमा बस्नुपर्ने पुनम अहिले आफैँ स्वावलम्बी बनेकी छिन् । उनलाई घरायसी खर्च धान्नका लागि विदेशिनुपर्ने बाध्यता छैन । कपाल काटेरै पनि उनी परिवार चलाउन सक्षम भएकी छिन् ।
उनी भन्छिन्, “हातमा सीप भयो अब त जहाँ गएपनि बिकिन्छ । दारी कपाल काट्ने सीप मात्रै लिन सकेपनि स्वावलम्बी हुन सकिन्छ”
काठमाडौं सिनामंगलका राम २ दशकदेखि दारी कपाल काट्ने काम गर्छन् । उनको आफ्नै सैलुन छ । उनले दारी कपाल काटेरै मासिक १ लाख रुपैयाँ बढी कमाउँछन् । उनी भन्छन्, “५०\६० हजार रुपैयाँ कमाउनकै लागि भनेर विदेशिनु पर्छ जस्तो लाग्दैन । दारी कपाल काट्ने सीप सकेर सानो सैलुन खोल्न सकेपनि ठूलो आम्दानी लिन सकिन्छ”
आफ्नै सैलुन खोल्नका लागि पनि ठूलो पूँजी नलाग्ने उनी भन्छन् ।
“सजावटमा ठूलो खर्च नगर्दा ५ लाख रुपैयाँसम्म लगानी लगाए आफैँ सैलुन खोल्न सकिन्छ । कतै जागिर गर्छु भन्दा पनि अवसर थुप्रै छ,” श्रीरामले सुनाए ।
अहिले नेपालमा पनि कपाल काट्ने सीप धेरै संस्थाहरूले सिकाउने गर्छन् । प्राविधक शिक्षालय तथा व्यवसायीक सीप विकास प्रतिष्ठान सिटिइभिटीले पनि अहिले कपाल काट्ने सीप सिकाउने गर्छ । कपाल काट्ने सीप सिक्नका लागि पनि ठूलो खर्च लाग्दैन ३ हजार देखि ५ हजार रुपैयाँमा कपाल काट्ने सीप सिकाउने संस्थाहरू पाइन्छ ।
पेशालाई सम्मान गर्ने हो भने कपाल दारी काटेरै पनि राम्राोसँग जीविका चलाउन सकिन्छ ।