वैदेशिक रोजगार ठगीका उजुरी र क्षतिपूर्तिको प्रक्रिया अब अनलाइनमै हेर्न मिल्ने

जीविको २०८३ असार २१ गते १२:५०

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा हुने ठगी, उजुरी, अनुसन्धान र क्षतिपूर्ति प्रक्रियालाई अनलाइनबाटै ट्र्याक गर्न सकिने गरी सरकारले छुट्टै वेब पोर्टल सञ्चालनको तयारी गरेको छ।

वैदेशिक रोजगार विभागमार्फत सञ्चालन हुने ujuri.dofe.gov.np पोर्टल हाल परीक्षणको चरणमा रहेको छ। यो प्रणाली सञ्चालनमा आएपछि वैदेशिक रोजगारसम्बन्धी उजुरी, मुद्दाको अवस्था, अनुसन्धान प्रक्रिया र क्षतिपूर्तिसम्बन्धी जानकारी अनलाइनबाटै हेर्न सकिने अपेक्षा गरिएको छ।

सरकारले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी नियन्त्रण, उजुरी व्यवस्थापन र पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले यो प्रणाली अघि बढाएको जनाएको छ। यससँगै पुराना उजुरी तथा मुद्दाका फाइलहरूलाई डिजिटल बनाउने काम पनि भइरहेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २०५७ सालदेखि वैदेशिक रोजगारसँग सम्बन्धित ११ हजार ५२८ वटा मुद्दा तथा उजुरीका फाइलहरू डिजिटलाइज्ड भइसकेका छन्। यसले पुराना फाइल खोज्ने, अभिलेख व्यवस्थापन गर्ने र उजुरीको प्रगति हेर्ने कामलाई सजिलो बनाउने अपेक्षा गरिएको छ।

मन्त्रालयले छरिएर रहेका अनलाइन सेवा र प्रणालीहरूलाई पनि एउटै प्लेटफर्ममा ल्याउने तयारी गरेको छ। मन्त्रालयअन्तर्गत हाल सञ्चालनमा रहेका १७ वटा अनलाइन प्रणालीलाई एकीकृत गरी श्रम संसार’ पोर्टलमार्फत सेवा दिने योजना अघि बढाइएको छ। यसका लागि प्रारम्भिक डिजाइन कागजात तयार भइसकेको छ।

वैदेशिक रोजगारीको सम्पूर्ण आप्रवासन चक्रलाई डिजिटल बनाउने उद्देश्यले ‘वैदेशिक रोजगार प्रणाली डिजिटलाइजेसन’ सम्बन्धी अध्ययन पनि सम्पन्न भएको छ। अब त्यसका आधारमा एकीकृत डिजिटल प्रणाली निर्माणको काम अघि बढाइने मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा हुने अवैध एजेन्टको गतिविधि र ठगी न्यूनीकरणका लागि मन्त्रालयमा एक्सन कमाण्ड सेन्टर पनि स्थापना गरिएको छ। सो सेन्टरमार्फत हालसम्म १ हजार ६६३ वटा गुनासो सम्बोधन गरिएको छ।

त्यसैगरी, अवैध एजेन्टलाई कारबाहीको दायरामा ल्याउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप पोर्टल’ र विशेष अभियान सुरु गरिएको छ। मन्त्रालयका अनुसार ‘श्रमाधान कल सेन्टर’ मार्फत ५ हजार ३९१ वटा गुनासो समाधान गरिएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहयोग गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ सै घण्टा सञ्चालन हुने श्रम सहायता कक्षको व्यवस्था पनि गरिएको छ।

श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउन स्थानीय तहमा कार्यरत रोजगार संयोजकमार्फत एकै दिनमा श्रम स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई पारदर्शी र व्यवस्थित बनाउन नयाँ डिजिटल वेब पोर्टल पनि परीक्षणको चरणमा रहेको छ।

सरकारले यी पहलहरू वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी घटाउन, सेवा प्रवाह छिटो बनाउन र श्रमिकलाई सुरक्षित तथा व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा जान सहयोगी हुने दाबी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *