श्रमिकका गुनासा सुन्न श्रम मन्त्रालयमा ‘एक्सन कमान्ड सेन्टर’ स्थापना
काठमाडौं। श्रमिकका गुनासा, उजुरी, उद्धार तथा ठगीसम्बन्धी समस्यालाई छिटो सम्बोधन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ‘एक्सन कमान्ड सेन्टर’ सञ्चालन गरिएको छ।
मन्त्रालयले उक्त सेन्टरमा उपसचिव उपेन्द्र राज पौडेलसहित पाँच जना कर्मचारी खटाएको छ। सेन्टरले दैनिक रूपमा आउने श्रमिकका गुनासा, उजुरी, उद्धारसम्बन्धी अनुरोध र वैदेशिक रोजगारीमा हुने ठगीका घटनालाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायमा पठाउने जिम्मेवारी पाएको छ।
मन्त्रालयका अनुसार श्रमिकले अहिले ९७६८५६५७६८ नम्बरमा फोन वा ह्वाट्सएपमार्फत गुनासो टिपाउन सक्नेछन्। त्यसबाहेक इमेल, टेलिफोन वा मन्त्रालयमै उपस्थित भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ।
सेन्टरले वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलगायत सम्बन्धित निकायसँग समन्वय गरेर गुनासा पठाउने जनाएको छ।
श्रमिकले कसरी गुनासो गर्ने?
वैदेशिक रोजगारीमा ठगी, पासपोर्ट रोकिने, तलब नपाउने, सम्झौताअनुसार काम वा सुविधा नपाउने, उद्धार आवश्यक पर्ने वा श्रमसम्बन्धी अन्य समस्या भएमा श्रमिक वा परिवारले मन्त्रालयको सम्पर्क नम्बरमा गुनासो टिपाउन सक्छन्।
सम्पर्क नम्बर: ९७६८५६५७६८
माध्यम: फोन, ह्वाट्सएप, इमेल वा मन्त्रालयमै उपस्थित भएर उजुरी दिन सकिने
श्रमिकले उजुरी गर्दा आफ्नो नाम, सम्पर्क नम्बर, समस्या भएको देश वा कम्पनी, म्यानपावर कम्पनीको नाम, उपलब्ध प्रमाण, सम्झौता कागजात, रसिद वा अन्य विवरण सुरक्षित राख्नु उपयोगी हुन्छ।
