विदेशमा अलपत्र हुनुहुन्छ? यसरी लिनुहोस् सरकारी सहयोग
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहँदा विभिन्न समस्यामा परेर उद्धारको पर्खाइमा रहनुभएका नेपाली श्रमिकहरूले अब सिधै सरकारी निकायमा सम्पर्क गर्नुपर्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै समस्यामा परेका श्रमिकहरूको उद्धार गर्ने पूर्ण जिम्मेवारी नेपाल सरकार र सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासको मात्र भएको स्पष्ट पारेको छ।
यदि कोही श्रमिक विदेशमा अलपत्र परेमा, युद्ध वा महामारीको चपेटामा परेमा वा अन्य कुनै पनि गम्भीर समस्यामा परेमा उद्धारका लागि विभागले आधिकारिक माध्यमहरू तोकेको छ। श्रमिक वा उनका परिवारले सिधै विभागको राहत, उद्धार तथा समन्वय शाखाको इमेल [email protected] मा पत्राचार गर्न सक्नेछन्।
त्यसैगरी, तत्काल जानकारी गराउनका लागि विभागले दुईवटा ह्वाट्सएप (WhatsApp) नम्बरहरू समेत सार्वजनिक गरेको छ। समस्यामा परेकाहरूले ९७६५०१३७७४ वा ९७६९९९८४७४ मा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी दिन सक्नेछन्। यसका साथै आफू रहेको देशमा अवस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगमा सम्पर्क गर्नु नै सबैभन्दा सुरक्षित र कानुनी प्रक्रिया भएको विभागले जनाएको छ।
पछिल्लो समय विभिन्न व्यक्ति र गैरसरकारी संस्थाहरूले उद्धार गरिदिने बहानामा श्रमिक र उनीहरूका परिवारलाई भ्रममा पार्ने र कानुन विपरीतका गतिविधि गरिरहेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ अनुसार सरकारबाहेक अरू कसैले यस्तो कार्य गर्नु गैरकानुनी हो।
त्यसैले, उद्धारका नाममा कसैले आश्वासन दिएमा वा प्रभावमा पार्न खोजेमा त्यस्तो भ्रममा नपर्न विभागले विशेष आग्रह गरेको छ। आधिकारिक प्रक्रिया बाहिरबाट गरिने प्रयासले श्रमिकलाई थप जोखिममा पार्ने र कानुनी जटिलता निम्त्याउने भएकाले सचेत रहन सूचित गरिएको छ।
