व्यक्तिगत श्रम स्वीकृति अब अनलाइबाटै लिन सकिने
वैदेशिक रोजगार विभागले आजबाट अनलाइन प्रक्रियामार्फत नै व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार कार्यलय धोइराख्नुपर्ने समस्यालाई हटाउनका लागि अनलाइन प्रक्रियामार्फत श्रम स्वीकृति प्रदान गर्न लागिएको हो ।
विभागले यसअघि गत माघ २ गते देखि पुनः श्रम स्वीकृति साथै २०७९ वैशाखदेखि संस्थागत श्रम स्वीकृति लिने प्रक्रियालाई अनलाइन माध्यममा लागिसकेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेष नारायण पौडेल बताउँछन् ।
उनी भन्छन् “वैदेशिक रोजगार सेवालाई चुस्त र सर्वसुलभ बनाउनका लागि व्यक्तिगत श्रम स्वीकृतिलाई पनि अनलाइन माध्यममा लगिएको हो, यसले सेवाग्राहीलाई विभाग धाउने झन्झटबाट मुक्त गराउने छ।”
श्रम सम्बन्धी सम्पूर्ण कामलाई आधुनिक र गुणस्तरीय बनाउनका लागि मन्त्रालय लागि परेको र विभाग साथै बोर्डले पनि हातेमालो गर्दै अगाडि बढेकाले प्रविधिमैत्री वैदेशिक रोजगार बनाउनका लागि सबै प्रक्रियालाई अनलाइन बनाउँदै लगिएको शेष बताउँछन् ।
यसअघि पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृतिलाई अनलाइन माध्यममा लगेपछि वैदेशिक रोजगार कार्यलयमा लाग्ने भीड घटेर गएको थियो। हालसम्म नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकरणमार्फत् गरिने श्रम स्वीकृति भने भौतिक रूपमा गरिने गरेको थियो ।
नेपालमा वैदेशिक रोजगार कार्यलय काठमाडौंबाट सबै प्रकारका श्रम स्वीकृति जारी हुने गरेको छ । पुनः श्रम स्वीकृति काठमाडौं बाहिरका ६ ठाँउहरू क्रमश. बुटवल धनगढी सुर्खेत जनकपुर विराटनगर र पोखराबाट पनि जारी हुन्छ । व्यक्तिगत श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति भने वैदेशिक रोजगार कार्यलय काठमाडौंबाट मात्र हुन्छ ।
वैदेशिक रोजगार विभागले दिएको तत्थ्यांक अनुसार गत आवमा वैदेशिक रोजगारीका लागि एक लाख ६७ हजार जनाको श्रम स्वीकृति जारी भएको छ । यस आर्थिक वर्षको सुरुवाती १० महिनामा मात्र ५ लाख भन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् ।