२५० भन्दा धेरैलाई सीपमूलक तालिम खुल्यो

जीविको २०८३ साउन २१ गते २२:२३

सीपमूलक तालिमको खोजीमा हुनुहुन्छ? हेटौंडा र इटहरीमा गरी १३ प्रकारका निःशुल्क सीपमूलक तालिम 250 भन्दा बढीको लागि सञ्चालन हुँदैछन्। पूरा जानकारीका लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। तपाईंलाई कम्प्युटर, मेकानिक्स, प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइ–कटाइ, ब्युटिसियन, कुक, बारिस्टा वा केयर गिभरजस्ता सीप सिक्ने इच्छा छ भने यो अवसर उपयोगी हुन सक्छ। सबैभन्दा पहिले हेटौंडाको अवसरबारे कुरा गरौं।

बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास कार्यालय, हेटौंडा मकवानपुरले छ प्रकारका निःशुल्क सीप विकास तालिम सञ्चालन गर्दैछ।

तालिमका विषयमा कम्प्युटर सफ्टवेयर, जनरल मेकानिक्स, केश शृंगार तथा सौन्दर्य, प्लम्बिङ, आधारभूत सिलाइ–कटाइ र इलेक्ट्रोनिक्स मर्मत रहेका छन्।

कम्प्युटर सफ्टवेयर र जनरल मेकानिक्स तालिम छ महिनाका हुनेछन्। बाँकी चार तालिम तीन महिनाका हुनेछन्।

कम्प्युटर सफ्टवेयरका लागि एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ। जनरल मेकानिक्स, केश शृंगार, प्लम्बिङ र सिलाइ–कटाइका लागि कम्तीमा कक्षा आठ उत्तीर्ण तथा इलेक्ट्रोनिक्स मर्मतका लागि कम्तीमा कक्षा १० उत्तीर्ण गरेको हुनुपर्नेछ।

आवेदक नेपाली नागरिक हुनुपर्नेछ। उमेर १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। हेटौंडाको तालिम: 

तालिम पूर्ण रूपमा निःशुल्क भए पनि गैरआवासीय हुनेछ। अर्थात् सहभागीका लागि आवासको व्यवस्था हुने छैन र दैनिक तालिमस्थलमा उपस्थित हुनुपर्नेछ।

आवेदन दिने अन्तिम मिति २०८३ साउन २५ गते हो।

इच्छुक व्यक्तिले नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र पासपोर्ट साइजको फोटोसहित सामाजिक विकास कार्यालय, हेटौंडा उपमहानगरपालिका–८, कमानेमा आवेदन बुझाउनुपर्नेछ।

 

अब इटहरीको अवसरबारे जानकारी लिऔँ।

नेपाल सरकारको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले सात विषयमा १४० जनालाई निःशुल्क तालिम दिने भएको छ। प्रत्येक विषयमा २० जनाका दरले सहभागी छनोट गरिनेछ। इटहरीमा मात्रै १४० जनाले तालिमको अवसर पाउनेछन् भने सहभागीलाई दैनिक खाजा भत्तासमेत दिइनेछ।

तालिमका विषयमा आधारभूत कटाइ–सिलाइ, कुक, सहायक ब्युटिसियन, एडभान्स कटाइ–सिलाइ, बिल्डिङ इलेक्ट्रिसियन, बारिस्टा र केयर गिभर रहेका छन्।

आधारभूत कटाइ–सिलाइ, कुक र सहायक ब्युटिसियनका लागि कम्तीमा कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्नेछ।

एडभान्स कटाइ–सिलाइका लागि कक्षा आठ उत्तीर्ण गरी सम्बन्धित विषयको आधारभूत तालिम लिएको प्रमाणपत्र आवश्यक पर्नेछ।

बिल्डिङ इलेक्ट्रिसियन, बारिस्टा र केयर गिभरका लागि कम्तीमा एसएलसी, एसईई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

आवेदकको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

तालिममा सहभागी हुने व्यक्तिलाई दैनिक ५० रुपैयाँका दरले खाजा भत्तासमेत उपलब्ध गराइनेछ।

आवेदनसँग नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो बुझाउनुपर्नेछ। छनोट अन्तर्वार्तामार्फत गरिने भएकाले अन्तर्वार्ताका दिन सक्कल कागजात पनि लिएर जानुपर्नेछ।

इटहरीको तालिमका लागि आवेदन दिने अन्तिम मिति २०८३ भदौ २ गते हो। आवेदन व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीमा बुझाउन सकिनेछ।

दुवै स्थानका तालिममा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, विपन्न तथा सीमान्तकृत समुदायका आवेदकलाई प्राथमिकता दिइनेछ।

आवेदन दिनुअघि आफ्नो उमेर, शैक्षिक योग्यता, तालिमको अवधि, अन्तर्वार्ताको मिति र आवश्यक कागजात राम्रोसँग जाँच गर्नुहोस्।

दुवै तालिमको विस्तृत सूचना, अन्तर्वार्ताको मिति र आवेदन प्रक्रियाबारे जान्न जिबिको डट कममा प्रकाशित पूरा समाचार हेर्नुहोस्। समाचारका लिंक यस भिडियोको डिस्क्रिप्सन र कमेन्टमा राखिएका छन्।

यी र यस्तै रोजगारी, सीप, तालिम तथा अवसरका उपयोगी जानकारीका लागि जीविको मिडियालाई फलो गर्न नबिर्सनुहोला।

वेब लिंकहरू:

हेटौंडाको तालिम:
https://jibiko.com/2026/07/5378/

इटहरीको तालिम:
https://jibiko.com/2026/08/5410/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *