डिप्रेसन, दुर्घटना र पुनर्जन्म : शान्तनु भन्छन्– ‘सायद म अरूलाई आशा दिन बाँचेँ’

जीविको २०८३ असार १३ गते १९:२०

जिबिको । काठमाडौं

३१ वर्षीय शान्तनु शर्माका लागि जीवन एक समय असह्य पीडा, अनिश्चितता र निराशाको नाम बनेको थियो। काठमाडौंमा जन्मिएका उनी 9 वर्षको उमेरमा अमेरिका पुगे। विद्यालय शिक्षा र किशोरावस्थाको ठूलो हिस्सा अमेरिकामै बिताए। त्यहीँ हुर्किँदै गर्दा उनलाई फुटबलप्रति गहिरो लगाव बस्यो। पढाइसँगै फुटबललाई अघि बढाउने, कलेज टिमबाट खेल्ने र एक दिन व्यावसायिक खेलाडी बन्ने उनको सपना थियो।

तर जीवनले उनको बाटो सजिलो बनाइदिएन।

१६ वर्षको उमेरदेखि नै उनको खुट्टामा गम्भीर शारीरिक समस्या देखिन थाल्यो। खेल्दा खुट्टामा पोल्ने, थकान हुने र लगातार दुखाइ हुने समस्या बढ्दै गयो। उनले विशेषज्ञ चिकित्सक भेटे, फिजियोथेरापी गरे, शरीरलाई सम्भव भएसम्म जोगाउने प्रयास गरे। तर दुखाइ कम भएन। पछि परीक्षण गर्दा खुट्टामा ‘क्रोनिक कम्पार्टमेन्ट सिन्ड्रोम’ भएको पत्ता लाग्यो।

सर्जरी गरेपछि अब निको हुन्छु, फेरि पूरा क्षमताले खेल्न सक्छु भन्ने उनको आशा थियो। तर सर्जरीपछि पनि शरीरले उनलाई साथ दिएन। २०१३ मा उनले अमेरिकामा मनोविज्ञान विषयमा स्नातक अध्ययन सुरु गरेका थिए। पढाइसँगै कलेज फुटबल टिमबाट खेल्ने सपना पनि थियो। तर बारम्बारको शारीरिक समस्या, फिटनेस टेस्टमा कठिनाइ र चोटका कारण उनी टिममा अटाउन सकेनन्।

२०१५ तिर, स्नातक तहको तेस्रो वर्षमा, कलेज टिमबाट बाहिरिनुपरेपछि शान्तनुले आफूलाई सम्हाल्ने प्रयास गरे। उनले आफूलाई सम्झाए– फुटबलमा अवसर नपाए पनि अब पढाइमा ध्यान दिन्छु। उनी पढाइमा राम्रा विद्यार्थी थिए। तर त्यसपछि अचानक डिप्रेसनका लक्षणहरू देखिन थाले। कुनै स्पष्ट कारणबिनै कक्षा, असाइनमेन्ट, भीड, आवाज र दैनिक जीवनका सामान्य कामहरू पनि कठिन बन्दै गए।

उनी भन्छन्, “मलाई के भइरहेको छ भन्ने नै थाहा थिएन। मैले आफूलाई सम्हालेर अगाडि बढ्न खोजेको थिएँ, तर डिप्रेसनले गर्दा मानसिक अवस्था निकै गाह्रो हुन थाल्यो।”

त्यसपछि उनले कलेजबाट सेमेस्टर ब्रेक लिएर नेपाल फर्किने निर्णय गरे। उनलाई आराम गरेपछि मन ठीक होला, घर फर्किएपछि फेरि सम्हालिन सकिएला भन्ने लागेको थियो। नेपाल फर्किएपछि उनले मनोचिकित्सक भेटे, औषधि लिए, परिवार र नजिकका मानिससँग कुरा गर्ने प्रयास गरे। चिकित्सकले उनलाई डिप्रेसनको निदान गरेका थिए। तर उपचार र प्रयासका बाबजुद पनि मनभित्रको पीडा कम भएन।

“मलाई खुसी र शान्ति मात्र चाहिएको थियो,” शान्तनु आफ्नो अनुभव सम्झन्छन्। “तर किन यस्तो भइरहेको छ भन्ने कारण नै थाहा पाउँदिनथेँ।”

पछि उनी फेरि अमेरिका फर्किए। उनलाई लाग्यो– कम्तीमा पढाइ पूरा गर्छु, आफूलाई सम्हाल्छु। तर डिप्रेसनका कारण अवस्था झन् कठिन हुँदै गयो। पढ्न, सम्झिन, ध्यान केन्द्रित गर्न र सामान्य दिन बिताउन पनि गाह्रो हुन थाल्यो। आत्महत्या सम्बन्धी सोचहरू बढ्दै गए।

वास्तवमा डिप्रेसन केवल दुःखी हुनु मात्र होइन, यो मानसिक स्वास्थ्यको यस्तो गम्भीर अवस्था हो, जहाँ कतिपय व्यक्तिका लागि बिहान उठ्नु, दैनिक काम गर्नु, मानिससँग बोल्नु वा सामान्य जीवन अघि बढाउनु पनि अत्यन्तै कठिन हुन सक्छ। समयमै साथ, सुरक्षित वातावरण, उपचार र बुझिदिने मान्छे नपाउँदा डिप्रेसनको पीडा गहिरिँदै जान सक्छ। यस्तो अवस्थामा केही व्यक्तिमा जीवनप्रति आशा हराउने, आफूले अब सहन सक्दिनँ भन्ने महसुस हुने र जीवनबाटै टाढा हुनुपर्छ कि भन्ने गलत तथा जोखिमपूर्ण सोच आउन सक्छ।

शान्तनुको जीवनमा पनि डिप्रेसनको पीडा यति गहिरियो कि उपचार र सहयोग खोजिरहे पनि उनी आफूलाई पूर्ण रूपमा असहाय महसुस गर्न थाले। त्यही कठिन मानसिक अवस्थाबीच २०१६ मा उनले गम्भीर आत्महत्या प्रयास गरे।

उनी बाँचे।

तर त्यस घटनाले उनको जीवन सधैँका लागि बदलियो। उनको मेरुदण्डमा चोट लाग्यो र शरीरको तल्लो भागमा पक्षघात भयो। त्यसपछि उनको जीवन ह्विलचेयरमा सीमित भयो। आज पनि उनी न्युरोप्याथिक दुखाइ र शारीरिक चुनौतीसँग बाँचिरहेका छन्।

तर शान्तनु भन्छन्– त्यही घटना उनको दोस्रो जीवनको सुरुवात पनि बन्यो।

“त्यो भयावह घटना थियो। तर आज म बाँचेकोमा कृतज्ञ छु,” उनी भन्छन्। “म बाँचेको पछाडि केही कारण थियो भन्ने लाग्छ। सायद म अरूलाई आशा दिन, अरूको पीडा बुझ्न र कसैलाई जीवनतर्फ फर्काउन बाँचेको हुँ।”

दुर्घटनापछि शान्तनुले फेरि मानसिक र शारीरिक रूपमा शून्यबाट यात्रा सुरु गर्नुपर्‍यो। शरीरको आधा भागले साथ नदिए पनि उनले आफूलाई बुझ्ने, जीवनको अर्थ खोज्ने र मनको गहिरो पीडासँग सामना गर्ने बाटो रोजे। त्यही क्रममा उनी ध्यान, योग, साधना र आत्मअन्वेषणतर्फ लागे।

उनका अनुसार, ‘आर्ट अफ लिभिङ’का ह्याप्पिनेस र एडभान्स मेडिटेसन कोर्स, ध्यान, योग र सुदर्शन क्रियाले उनको मानसिक स्वास्थ्य यात्रामा ठूलो सहयोग गर्‍यो। उनी भन्छन्, यी अभ्यासले उनलाई वर्तमान क्षणमा बाँच्न, विगतको भारीपनबाट बाहिर आउन र आफ्नो जीवनलाई फरक दृष्टिले हेर्न सिकायो।

“मेरो उपचारको यात्रामा धेरै कुरा प्रयास गरेँ,” उनी भन्छन्। “तर ध्यान, योग र श्वासप्रश्वासका अभ्यासले मलाई आफूभित्रको शान्तिसँग जोड्न सहयोग गर्‍यो।”

शान्तनुका अनुसार उनी पछिल्ला केही वर्षदेखि प्रमुख डिप्रेसन र मनोचिकित्सकीय औषधिबाट मुक्त भएर बाँचिरहेका छन्। उनी यसलाई कुनै चमत्कार होइन, निरन्तर अभ्यास, आत्मस्वीकार, परिवारको साथ, आध्यात्मिक खोज र मानसिक स्वास्थ्यप्रतिको इमानदार यात्राको परिणाम मान्छन्।

आज शान्तनु मानसिक स्वास्थ्य अभियन्ता र प्रेरणादायी वक्ताका रूपमा काम गरिरहेका छन्। उनी आफ्नो कथा लुकाउन होइन, बाँड्न चाहन्छन्। किनकि उनी जान्दछन्– मनको पीडा बाहिरबाट सधैँ देखिँदैन, तर त्यो भित्रबाट मानिसलाई अत्यन्तै थकित बनाउँछ।

“हामीले मनका कुरा गर्न सिक्नुपर्छ,” उनी भन्छन्। “मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्ने सुरक्षित वातावरण चाहिन्छ। कसैले ‘म ठीक छैन’ भन्यो भने उसलाई कमजोर होइन, साहसी मान्नुपर्छ।”

हाल उनी ‘मनका कुरा’ संस्थासँग जोडिएर काम गरिरहेका छन्। उनका लागि मानसिक स्वास्थ्य केवल औषधि वा उपचारको विषय मात्र होइन; यो जीवनशैली, सम्बन्ध, आत्मस्वीकार, समुदाय, आध्यात्मिक अभ्यास र सहयोग प्रणालीसँग जोडिएको विषय हो।

उनी भन्छन्, “समस्या कहिलेकाहीँ धेरै ठूलो लाग्छ। तर जीवनमा नयाँ सम्भावना सधैँ बाँकी हुन्छ। कठिनाइ स्थायी हुँदैन। जीवन फेरि राम्रो हुन सक्छ।”

उनको यात्रा अब व्यक्तिगत संघर्षमा मात्र सीमित छैन। उनले २०२२ मा नेपालमा ७७औँ संयुक्त राष्ट्र दिवसको अवसरमा आफ्नो मानसिक स्वास्थ्य यात्रा र परिवर्तनबारे अनुभव बाँडेका थिए। २०२४ मा उनी WHO South-East Asia Region र Centre for Mental Health Law & Policy, Indian Law Society, Pune ले काठमाडौंमा आयोजना गरेको मानसिक स्वास्थ्यसम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी भए। उक्त सम्मेलनमा मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरू र हेरचाहकर्ताहरूको आवाज, अधिकार र नीतिगत सुधारका विषयमा छलफल भएको थियो। शान्तनुले त्यहाँ प्यानलिस्टका रूपमा अमेरिका र नेपालका मानसिक स्वास्थ्य सेवा प्रणालीबारे आफ्ना अनुभव र सुझाव राखे।

उनी काठमाडौं चार्टरजस्ता पहलहरूले मानसिक स्वास्थ्य अवस्था भोगेका व्यक्तिहरूको अधिकार, सम्मान, उपचार, शिक्षा, रोजगारी र समुदायमा समान अवसर सुनिश्चित गर्न सहयोग पुर्‍याओस् भन्ने चाहन्छन्।

अधुरो रहेको पढाइ पनि उनी अनलाइनमार्फत पूरा गर्ने प्रयास गरिरहेका छन्। शारीरिक रूपमा ह्विलचेयरमा भए पनि उनको जीवनको दिशा भने अरूलाई आत्मबल, आशा र अर्थतर्फ डोर्‍याउने यात्रामा अघि बढेको छ।

शान्तनुको कथा केवल दुःखको कथा होइन। यो बाँचेर फर्किएको, आफूलाई फेरि बनाएको र आफ्नो पीडालाई अरूका लागि प्रकाश बनाउने यात्राको कथा हो।

उनी भन्छन्, “हामी यहाँ धेरै छोटो समयका लागि छौँ। जीवन जति कठिन भए पनि बाँच्न र अनुभव गर्न योग्य छ। हाम्रो विगत वा वर्तमान जस्तो भए पनि जीवन अझै सुन्दर हुन सक्छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *