महिला सञ्चार उद्यमीलाई अवसर: गण्डकी प्रदेशले माग्यो मिडिया स्टार्टअप प्रस्ताव

जीविको २०८३ असार ४ गते ११:३३

गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिष्ट्रारको कार्यालय पोखराले आर्थिक वर्ष २०८२/८३ को “महिला मिडिया स्टार्टअप” कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ। कार्यालयको आधिकारिक वेबसाइटमा पनि “महिला मिडिया स्टार्टअप प्रस्ताव आह्वान सम्बन्धी सूचना” प्रकाशित गरी सम्बन्धित फाइल डाउनलोडका लागि राखिएको छ।

कार्यालयले गण्डकी प्रदेशमा नवीन सोचका साथ नयाँ सञ्चार उद्यम सञ्चालन गर्न चाहने महिला उद्यमी तथा महिलाको स्वामित्वमा रहेका सञ्चार प्रतिष्ठानलाई व्यावसायिक योजनासहित आवेदन दिन आग्रह गरेको हो।

सूचनाअनुसार आवेदन २०८३ असार ९ गतेसम्म प्रेस रजिष्ट्रारको कार्यालयमा पेश गरिसक्नुपर्नेछ। आवेदन “महिला मिडिया स्टार्टअप कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३” अनुसार अनुसूची–२ बमोजिमको फारम भरी बुझाउनुपर्ने उल्लेख छ।

कसले आवेदन दिन पाउँछन्?

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएका र महिलाको स्वामित्वमा सञ्चालनमा रहेका सञ्चार प्रतिष्ठानले आवेदन दिन पाउनेछन्। यस्ता सञ्चार प्रतिष्ठान सञ्चालन भएको अवधि १० वर्षभन्दा कम हुनुपर्नेछ।

कस्ता योजनाले प्राथमिकता पाउने?

सूचनामा डिजिटल न्यूज पोर्टल, पोडकास्ट, भिडियो रिपोर्टिङ तथा प्रविधिमा आधारित नवप्रवर्तनात्मक योजनालाई प्राथमिकता दिइने उल्लेख छ। आमसञ्चार केन्द्रित गतिविधिका लागि आवश्यक मेसिनरी औजार तथा उपकरण खरिदसम्बन्धी योजना पेश गर्नुपर्नेछ।

आवश्यक कागजात

आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मिडियाको दर्ता प्रमाणपत्र र नवीकरण, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा विस्तृत व्यावसायिक योजना पेश गर्नुपर्नेछ।

व्यावसायिक योजनामा नवीनता, व्यवसायको दिगोपना, आम्दानी योजना, रोजगारी सिर्जना, महिला सशक्तीकरण, सामाजिक समावेशीकरण र सुशासनमा पार्ने सकारात्मक प्रभावलगायत विषय खुलाउनुपर्ने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि प्रेस रजिष्ट्रारको कार्यालयको वेबसाइट वा कार्यालयको फोन नम्बर ०६१–४५०८५२ मा सम्पर्क गर्न सकिनेछ। कार्यालयको वेबसाइटमा पनि फोन नम्बर र इमेल विवरण सार्वजनिक गरिएको छ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *