व्यवसायका लागि उपकरण अनुदान आवेदन माग
अपाङ्गता भएका व्यक्ति र अभिभावकको व्यवसायका लागि उपकरण अनुदान खुल्यो
पोखरा — गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकद्वारा सञ्चालित उद्योग/व्यवसाय प्रवर्द्धनका लागि प्रविधि तथा उपकरण सहयोग अनुदान कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ।
मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत यो सूचना प्रकाशित गरेको हो। मन्त्रालयको वेबसाइटमा पनि “अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका अभिभावकद्वारा सञ्चालित उद्योग/व्यवसाय प्रवर्द्धनका लागि प्रस्ताव पेश गर्ने सूचना” प्रकाशित गरिएको छ।
हेर्नुहोस् सूचना
यस कार्यक्रममार्फत व्यवसाय गरिरहेका अपाङ्गता भएका व्यक्ति वा उनीहरूका अभिभावकलाई आवश्यक प्रविधि, औजार वा उपकरण सहयोग गरिनेछ। यसले उनीहरूको व्यवसाय विस्तार, उत्पादन क्षमता वृद्धि र आत्मनिर्भरता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार इच्छुक व्यक्ति वा समूहले आवश्यक कागजातसहित सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको सामाजिक विकास महाशाखामा प्रस्ताव पेश गर्नुपर्नेछ।
कसले आवेदन दिन सक्छन्?
अपाङ्गता भएका व्यक्ति वा उनीहरूका अभिभावकद्वारा सञ्चालन भइरहेको उद्योग वा व्यवसायले प्रस्ताव पेश गर्न सक्नेछन्। प्रस्ताव पेश गर्दा व्यवसाय दर्ता, नवीकरण, करसम्बन्धी कागजात र आवश्यक उपकरणको लागत खुल्ने कोटेशन पनि पेश गर्नुपर्नेछ।
पेश गर्नुपर्ने मुख्य कागजात
आवेदकले नेपाली नागरिकताको प्रतिलिपि, अपाङ्गता परिचयपत्रको प्रतिलिपि, अभिभावकको हकमा नाता खुल्ने प्रमाणित कागजात, व्यवसायिक योजना, उद्योग/व्यवसाय दर्ता र नवीकरण प्रमाणपत्र, PAN/VAT दर्ता प्रमाणपत्र, कर दाखिला वा कर चुक्ता प्रमाणपत्र, आवश्यक भए व्यवसायिक इजाजतपत्र, उपकरण तथा प्रविधिको लागत खुल्ने कोटेशनसहितका कागजात पेश गर्नुपर्नेछ।
यसअघि कुनै सरकारी निकाय वा संस्थाबाट अनुदान नलिएको स्वघोषणा पत्र र सम्बन्धित स्थानीय तहबाट अनुदान नपाएको सिफारिस पत्र पनि आवश्यक पर्नेछ। साथै, मन्त्रालयबाट प्राप्त हुने अनुदान रकममा कम्तीमा १० प्रतिशत साझेदारी गर्न सक्ने प्रतिबद्धता पत्र पेश गर्नुपर्नेछ।
अन्तिम मिति
प्रस्ताव पेश गर्ने अन्तिम मिति २०८३ जेठ २७ गते कार्यालय समयभित्र तोकिएको छ। सो दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र प्रस्ताव पेश गर्न सकिने सूचनामा उल्लेख छ।
थप जानकारीका लागि मन्त्रालयको वेबसाइट mosd.gandaki.gov.np हेर्न सकिन्छ। मन्त्रालयको सूचना तथा समाचार पृष्ठमा यससम्बन्धी सूचना राखिएको छ
