बागमती प्रदेशमा २४९ विद्यालय नर्स माग, जेठ २८ गतेसम्म आवेदन दिन पाइने
काठमाडौँ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, हेटौँडाले विद्यालय नर्स सेवा करारमा २४९ जनाका लागि आवेदन खुलाएको छ।
निर्देशनालयले २०८३ जेठ १४ गते सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत विद्यालय नर्स सेवा करारमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। आधिकारिक सूचनामा पद विद्यालय नर्स, तह पाँचौँ र कुल पद संख्या २४९ उल्लेख गरिएको छ।
आवेदन दिन चाहने उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ। न्यूनतम शैक्षिक योग्यताका रूपमा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिलमा दर्ता तथा नवीकरण भएको प्रमाणपत्र अनिवार्य गरिएको छ।
दरखास्त फारम बागमती प्रदेशका जिल्लास्थित जनस्वास्थ्य कार्यालयमा वा इमेलमार्फत पेश गर्न सकिनेछ। आवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाल नर्सिङ काउन्सिलमा दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, कार्य अनुभव भए सोको प्रमाणपत्र र आवश्यक अन्य कागजात संलग्न गर्नुपर्नेछ। विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेको भए समकक्षता निर्धारण भएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ।
उम्मेदवारले आवेदन फारम बुझाउँदा आफू काम गर्न चाहेको स्थानीय तह स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। सूचनाअनुसार एक उम्मेदवारले एउटा स्थानीय तहका लागि मात्र दरखास्त दिन पाउनेछ।
छनोट प्रक्रिया लिखित परीक्षा, अन्तर्वार्ता तथा शैक्षिक योग्यता, स्थानीयता, कार्य अनुभवलगायतका आधारमा गरिने निर्देशनालयले जनाएको छ। लिखित परीक्षाको मिति र स्थान पछि प्रकाशन गरिनेछ।
दरखास्त दस्तुर रु. ७०० तोकिएको छ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत निर्देशनालयको कार्यालय कोड ३७००१३२१४३, राजस्व शीर्षक नम्बर १४२२४ र बैंक खाता नम्बर १०००१००२०००१०००० मा जम्मा गरी भौचर आवेदन फारमसँगै पेश गर्नुपर्नेछ।
दरखास्त फारम स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित जनस्वास्थ्य कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। स्वास्थ्य निर्देशनालयको वेबसाइटमा विद्यालय नर्सको दरखास्त आह्वान सूचना र दरखास्त फारम दुवै २०८३ जेठ १४ गते प्रकाशित गरिएको छ।
आवेदन दिने अवधि २०८३ जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म कार्यालय समयभित्र रहेको छ। विस्तृत जानकारीका लागि बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र सम्बन्धित जनस्वास्थ्य कार्यालयको वेबसाइट हेर्न सकिनेछ।
‘एक विद्यालय एक नर्स’ कार्यक्रम विद्यालय तहमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, प्राथमिक उपचार, किशोरकिशोरी स्वास्थ्य, महिनावारी स्वच्छता र विद्यार्थीको आधारभूत स्वास्थ्य प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम हो। यस कार्यक्रमलाई बागमती प्रदेशबाट सुरु गरिएको विद्यालय स्वास्थ्य सेवाको महत्वपूर्ण पहलका रूपमा हेरिँदै आएको छ। एक अध्ययनका अनुसार यो कार्यक्रमले सामुदायिक विद्यालयमा प्रमाणित नर्स परिचालन गरी विद्यार्थीलाई रोकथाममुखी स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्य राखेको छ।
हेर्नुहोस् सूचना -https://hd.bagamati.gov.np/content/28/notice-of-call-for-applications–one-school/#flipbook-flipbookContainer/3/

