अब घरबाटै अनलाइन एनओसी: विश्वविद्यालयका प्रमाणपत्र पनि अनलाइनमै रुजु हुने
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) को प्रणालीसँग अन्तरआबद्धता (API) गरेपछि यो व्यवस्था सम्भव भएको हो। उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ।
यसअघि स्नातक वा सोभन्दा माथिल्लो तहको अध्ययनका लागि आवेदन दिँदा विश्वविद्यालयका प्रमाणपत्र रुजु गर्न विद्यार्थी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता थियो। अब भने विद्यार्थीले आवेदनमा उल्लेख गरेको रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा त्रिवि र केयूको सिस्टमबाट विवरण स्वतः रुजु हुनेछ। गृह मन्त्रालयको ‘सीआईएमएस’ र राष्ट्रिय परीक्षा बोर्डको प्रणालीसँग यसअघि नै आबद्धता भइसकेकाले अब कुनैकै तहका विद्यार्थी विवरण रुजु गर्न भौतिक रूपमा कार्यालय धाउनु पर्ने छैन।
महालेखा नियन्त्रक कार्यालयको अनलाइन राजस्व प्रणाली (रिमास) मार्फत एनओसीको दस्तुर पनि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि एप्रुभ भएको एनओसी सर्टिफिकेट विद्यार्थीले आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्। सर्टिफिकेटमा क्युआर कोड राखिएकाले स्क्यान गरेर यसको आधिकारिकता सजिलै जाँच्न सकिने एनओसी शाखाले जनाएको छ।
