वैदेशिक रोजगारीको विज्ञापनमा सम्पर्क व्यक्तिको विवरण अनिवार्य: म्यानपावर कम्पनीहरूलाई निर्देशन

जीविको २०८३ वैशाख ४ गते १६:०६

काठमाडौँ —
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीहरूले पत्रपत्रिकामा निकाल्ने विज्ञापनमा आधिकारिक सम्पर्क व्यक्तिको पूर्ण विवरण अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ। विभागले आज (२०८३/०१/०४) एक सार्वजनिक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो।

किन आवश्यक प-यो नयाँ निर्देशन?
विभागका अनुसार, वैदेशिक रोजगारीका लागि श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र सोको जानकारी विभागलाई दिनुपर्ने कानुनी प्रावधान छ। यद्यपि, हालैका दिनहरूमा प्रकाशित कतिपय विज्ञापनहरूमा सम्पर्क व्यक्तिको विवरण स्पष्ट नभएको वा दिएको विवरणमा सम्पर्क हुन नसकेको भन्दै आवेदन दिन चाहने व्यक्तिहरूले विभागमा गम्भीर गुनासोहरू गरेका थिए। यस्ता गुनासोहरूप्रति विभागको गम्भीर ध्यानाकर्षण भएपछि यो नयाँ व्यवस्थालाई कडाइका साथ लागू गर्न लागिएको हो।

विज्ञापनमा के-के खुलाउनुपर्छ?
अबदेखि म्यानपावर कम्पनीहरूले विज्ञापन प्रकाशित गर्दा निम्न विवरणहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ:
संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम।
सम्पर्क नम्बर (फोन वा मोबाइल नम्बर)।
सम्पर्क स्थान वा ठेगाना।
पूर्व स्वीकृतिमै विवरण बुझाउनुपर्ने

विभागले विज्ञापनमा मात्र नभई प्रक्रियाको सुरुवातमै पारदर्शिता खोजेको छ। अब इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा ‘पूर्व स्वीकृति’ (Prior Approval) का लागि आवेदन दिँदा नै अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, नम्बर र स्थान खुलाउनुपर्नेछ। यसबाट आम नागरिकले आवेदन दिन पाउने अधिकार सुनिश्चित हुने विभागको विश्वास छ।
नियम उल्लंघन गरे कारबाही हुने

विभागले आफ्नो सूचनामार्फत म्यानपावर कम्पनीहरूलाई चेतावनी समेत दिएको छ। माथि उल्लेखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन नभएको पाइएमा वा विवरणहरू नखुलाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा विभागले स्पष्ट पारेको छ।

यस कदमले वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी न्यूनीकरण गर्न र श्रमिकहरूलाई सिधै आधिकारिक व्यक्तिसँग सम्पर्क गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *