इजरायल, कुवेतसहित चार देशको पुनः श्रम स्वीकृति सुचारु गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि इजरायल, कुवेत, बहराइन र लेबनान जान चाहने नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति कार्य सुचारु गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै गत चैत ३० गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयानुसार यी चार देशको पुनः श्रम स्वीकृति कार्य पुनः सुरु गरिएको जानकारी दिएको हो।
केही समयअघि मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दो तनाव र युद्धको स्थितिलाई मध्यनजर गर्दै सरकारले २०८२ फागुन १७ गते विशेष निर्णय गरेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तत्कालीन समयमा मध्यपूर्व तथा खाडी क्षेत्रका मुलुकहरूमा व्यक्तिगत र संस्थागत दुवै तर्फका नयाँ तथा पुनः श्रम स्वीकृति कार्य पूर्ण रूपमा स्थगित गरिएको थियो।
यसअघि सरकारले परिस्थिति सामान्य बन्दै गएपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरिसकेको थियो। बाँकी रहेका इजरायल, कुवेत, बहराइन र लेबनानको हकमा भने चैत ३० गतेको निर्णयले बाटो खोलेको हो।
यो निर्णयसँगै बिदामा नेपाल आएका वा पुनः सोही देश फर्कन चाहने हजारौँ नेपाली श्रमिकहरूलाई ठुलो राहत मिलेको छ। लामो समयदेखि श्रम स्वीकृति रोकिएका कारण धेरै श्रमिकहरू आफ्नो रोजगारी गुम्ने डरमा थिए। अब वैदेशिक रोजगार विभागका सम्बन्धित कार्यालयहरूबाट नियमित रूपमा श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढ्ने विभागले जनाएको छ।
हेर्नुहोस् सूचना

