खाडीका केही देशका लागि पुनः श्रम स्वीकृति खुला खाडीका केही देशका लागि पुनः श्रम स्वीकृति खुला

जीविको २०८२ चैत ३ गते २१:३७

काठमाडौँ (जीबिको): नेपाल सरकारले मध्यपूर्व (पश्चिम एसिया) का विभिन्न देशहरूमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूका लागि रोक्का गरिएको पुनः श्रम स्वीकृति (Re-entry) दिने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही निश्चित देश बाहेक अन्य मुलुकमा कार्यरत श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति खुला गरिएको जानकारी दिएको हो।

कुन कुन देशमा खुल्यो?
मन्त्रालयका अनुसार साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले अब पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्नेछन्। विदामा नेपाल आएका वा श्रम स्वीकृतिको म्याद सकिएका नेपालीहरूले पुनः रोजगारीमा फर्कन यो सुविधा पाउनेछन्।

यी ६ देशमा अझै प्रतिबन्ध कायम:
मध्यपूर्वको विषम परिस्थितिका कारण इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा भने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन कायमै रहेको मन्त्रालयले प्रष्ट पारेको छ। यी देशहरू बाहेकका अन्य देशका लागि मात्र यो निर्णय लागू हुनेछ।

यसअघि २०८२ फागुन १७ गतेको निर्णयअनुसार मध्यपूर्वका सबै देशमा श्रम स्वीकृति स्थगित गरिएको थियो। तर, गैरआवासीय नेपाली संघ, दूतावास र श्रमिकहरूको मागका साथै परराष्ट्र मन्त्रालयको सिफारिसका आधारमा मन्त्रालयले पुनः श्रम स्वीकृति दिने निर्णय गरेको हो।

यो निर्णय विशेष गरी बिदामा नेपाल आएका र पुनः विदेश फर्कन चाहने श्रमिकहरूका लागि महत्वपूर्ण मानिएको छ। यसले हजारौं नेपाली श्रमिकलाई पुनः रोजगारीमा फर्कन सहजता दिने अपेक्षा गरिएको छ।

सरकारले भने अझै पनि केही क्षेत्रमा सुरक्षा जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

 

श्रम मन्त्रालयले जारी गरेको महत्वपूर्ण सूचना: हेर्नुहोस्

 

श्रम मन्त्रालयले जारी गरेको महत्वपूर्ण सूचना: हेर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *