
प्लस टू वा ब्याचलर पढ्दै हुनुहुन्छ ? तपाईंका लागि १० अवसरहरू

विशेषगरी १२ कक्षा र ब्याचलर तहका युवाहरू आफ्नो करियर निर्माणको महत्वपूर्ण चरणमा हुन्छन्। यो समय भनेको आफ्ना रुचि र क्षमताको खोजी गर्ने समय हो। यो उमेरमा लिइएका सही निर्णयहरूले तपाईंको करियर र जीवनमा ठूलो प्रभाव पार्न सक्छ।
तर, हालको परिप्रेक्ष्यमा नेपाली युवाहरूले अनेक चुनौतीहरूको सामना गरिरहेका छन्। रोजगारीको कमी, व्यावसायिक सीपहरूको अभाव, र समय व्यवस्थापनको कमजोरी जस्ता समस्या अत्याधिक छन्। यसैले, उनीहरूलाई मार्गदर्शन गर्न व्यावहारिक र प्रेरणादायी सुझावहरूको खाँचो छ। आजको समयमा, शिक्षा र अनुभवको तालमेलसँगै सीप विकास पनि गर्नसक्ने हो भने समृद्ध भविष्य सम्भव छ।
युवाहरूलाई आफ्नो क्षमता चिन्ने, अवसरको सदुपयोग गर्ने, र आत्मनिर्भर बन्ने दिशामा अगाडि बढ्न इन्टर्नसीपको महत्त्वदेखि व्यावसायिक सीप विकाससम्म, फिटनेस र मानसिक स्वास्थ्यको ख्यालदेखि समय व्यवस्थापन र बचतसम्मका सुझावहरू समेटेर १० उपयोगी कुराहरू तयार गरेका छौं ।
१. इन्टर्नसीप गर्नुहोस्
पढाइमा राम्रो हुनु अनि मार्कशिटमा राम्रो नम्बर भएर मात्र अब पर्याप्त छैन। पढाइले तपाईंलाई ज्ञान दिन्छ, तर इन्टर्नसीपले तपाईंलाई त्यो ज्ञानलाई व्यवहारमा उतार्न सिकाउँछ। इन्टर्नसीपको समयमा तलब नपाए पनि चिन्ता नगर्नुहोस्। इन्टर्नसीपको दौरानमा तपाईंले अनुभव र सीप आर्जन गर्न सक्नुहुन्छ जुन तपाईंलाई दीर्घकालीन रूपमा धेरै फाइदा पुर्याउँछ। इन्टर्नसीपले तपाईंलाई व्यावसायिक नेटवर्क बनाउन मद्दत गर्छ। आफ्नो रुचि र अध्ययनसँग मेल खाने क्षेत्रमा इन्टर्नसीप खोज्नुहोस्। जस्तै, यदि तपाईं मिडियामा रुचि राख्नुहुन्छ भने कुनै रेडियो स्टेशन, टेलिभिजन च्यानल, वा डिजिटल मिडियामा इन्टर्नसीप गर्नुहोस्। स्वास्थ्य, इन्जिनियरिङ तथा सामाजिक विकास क्षेत्रमा पनि धेरै इन्टर्नसीप अवसरहरू छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरू (NGO/INGOs) का सामाजिक संजालमा यस्ता अवसरहरू भेटाउन सकिन्छ ।
२. भिडियो बनाउन र एडिट गर्न सिक्नुहोस्
अहिलेको समयमा हरेक क्षेत्रमा उच्च माग छ – भिडियो एडिटर । भिडियो मेकिङ अहिलेको ‘हट केक’ हो। राम्रो भिडियो सामग्री बनाउन सक्ने सीप तपाईंसँग छ भने मासिक ५० हजार रुपैयाँ कमाउन सहजै सकिन्छ । टिकटक र इन्स्टाग्राम चलाउन मात्रै होइन, व्यावसायिक रूपमा भिडियो बनाउने सीप सिक्नुहोस्। एडिटिङमा पोख्त हुनुभयो भने तपाईं विभिन्न कम्पनी वा संस्थासँग काम गर्न सक्नुहुन्छ। प्रोफेसनल एडिटिङ टूल (जस्तै: Premiere Pro, Canva) सिक्नुहोस्। युट्युबमा पनि प्रसस्तै फ्री ट्युटोरियल सामाग्रीहरू भेट्न सक्नुहुन्छ ।
३. अंग्रेजी बोल्ने र लेख्ने अभ्यास गर्नुहोस्
अधिकांश रोजगारीका सूचनामा लेखिएको हुन्छ- अङ्ग्रेजी बोल्न र लेख्न सक्ने हुनुपर्ने छ । अङ्ग्रेजी भाषा जान्नेले अवसर पाउने अनि नजान्नेले अवसर नपाउने भन्ने त हुँदैन तर सहज र आत्मविश्वासका साथ अंग्रेजी बोल्न अनि लेख्न सक्ने सीपले तपाईंलाई जागिर खोज्न, विदेश जान, र नयाँ मान्छेसँग नेटवर्क बनाउन मद्दत गर्छ। अंग्रेजीका किताब र समाचार पढ्ने बानी बसाल्नुहोस्, भिडियो हेर्नुहोस् अनि दिनको १५ मिनेट अंग्रेजीमा बोल्ने अभ्यास गर्नुहोस्।
४. पार्ट-टाइम काम गर्नुहोस्
पढाइसँगै पार्ट-टाइम काम गर्नु भनेको तपाईंले आँफैलाई जिम्मेवार बनाउनु हो। कामबाट आएको कमाइले तपाईंलाई आफ्नो साना खर्च आफैं जुटाउन मद्दत गर्छ। यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ। ट्यूसन पढाउन सकिन्छ, डेटा इन्ट्रीको काम गर्न सकिन्छ, क्याफे, रेस्टुरेन्ट, वा अफिसहरूमा पार्ट-टाइम काम खोज्न सकिन्छ । साँच्चै, बाईक अनि स्कुटर चलाउन आउँछ भने त पठाओ र इनड्राइभ गर्न सकिन्छ अनि साईकल नै छ भने पनि फुड डेलिभरी गर्न पनि सकिन्छ ।
५. स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्: स्वस्थ शरीर, स्वस्थ दिमाग
स्वास्थ्य बिग्रिएपछि अरू सबै कुरा गौण हुन्छ। बिहान ३० मिनेटको लागि दौड, मेडिटेसन, योगा, वा व्यायाम गर्ने बानी बसाल्नुहोस्। सन्तुलित आहार खानुहोस्। राम्रो स्वास्थ्यले तपाईंलाई बढी उर्जा र उत्साह दिन्छ। मोटिभेसनल पुस्तकहरू पढ्नुहोस्, फिल्म हेर्नुहोस्, साथी अनि परिवार र आफन्तसँग रमाइलो गर्नुहोस् । आफूभित्र सकारात्मक सोच र आत्मविश्वासको विकास गराउन अत्यन्तै आवश्यक हुन्छ ।
६. नेटवर्किङ बढाउने कार्यक्रमहरूमा सहभागी हुनुहोस्
युवाका लागि आयोजना हुने कार्यशालामा सहभागी हुनुहोस्। LinkedIn मा आफ्नो प्रोफाइल अपडेट राख्नुहोस् अनि आफ्नो लागि सिकाइ हुने कार्यक्रममा सहभागी हुनुहोस् । नयाँ मान्छेसँग भेट्नुहोस्, इभेन्टमा सहभागी हुनुहोस्, र आफ्नोबारेमा बताउनुहोस् र ईमेल वा सम्पर्क नम्बर आदानप्रदान गरेर सम्बन्ध बनाउनुहोस्। राम्रो नेटवर्कले जागिर पाउन र नयाँ अवसरहरू पत्ता लगाउन मद्दत गर्छ।
७. अनलाइन कोर्सहरूबाट ज्ञान आर्जन गर्नुहोस्
अनलाइन माध्यमहरूले संसारभरको ज्ञान तपाईंको घरमै ल्याउँछ। कोर्सेरा, युडेमी जस्ता प्लेटफर्मले घरमै बसेर पढ्न मिल्ने कोर्स दिन्छन्। कोडिङ, ग्राफिक डिजाइन, प्रभावकारी संचार वा वित्तीय व्यवस्थापन जस्ता विषयहरूमा कोर्स लिनुहोस्। कोर्स सुरू गर्नु अघि रिभ्यु हेर्नुहोस् र सधैँ प्रमाणपत्र लिने कोर्स रोज्नुहोस्।
८. पैसा बचत गर्ने बानी बसाल्नुहोस्
कमाइ जति भए पनि केही प्रतिशत बचत गर्न सुरू गर्नुहोस् साथै अनावश्यक खर्च कटौती गर्न पनि सिक्नुहोस्। महिनाको १०% नै भए पनि कमाइलाई बचत गर्नुहोस् । सबैभन्दा महत्वपूर्ण कुरा, आम्दानी र खर्चको मासिक रेकर्ड बनाउनुहोस् जसले तपाईंलाई के कस्तो कुरामा अनवश्यक खर्च नगर्ने भनेर आइडिया हुनेछ ।
९. नेतृत्व विकास गर्नुहोस्
कलेजका क्लबहरूमा सक्रिय हुनुहोस् र छोटा-छोटा परियोजनाहरूको नेतृत्व गरेर आफ्नो नेतृत्व क्षमता बढाउनुहोस्। कलेजमा हुँदा गरिने यस्ता कृयाकलापले समूहमा कसरी काम गर्ने, फन्ड रेजिङ गर्ने नयाँ आइडियाहरू, इभेन्ट रिपोर्ट बनाउने कुरामा पोख्त बनाउँछ । अन्तत: कलेज पढ्दा नै तपाईंले यस्ता कामहरू गर्नुभएको छ भने करियरको सुरुवातमा यसले सहयोग गर्छ । समाजसेवामा सक्रिय हुँदा अझ तपाईंले धेरै कुरा सिक्नुहुन्छ। तपाईंको रुचिको क्षेत्र अनुसार समाजसेवाका अवसरहरू खोज्नुहोस्।
१०. सामाजिक संजाललाई तपाईंले चलाउँदै हुनुहुन्छ या सामाजिक संजालले तपाईंलाई चलाउँदै छ ?
फेसबुक, टिकटक, युट्युब जस्ता सामाजिक मिडिया चलाउँदा घन्टौ गएको पत्तै हुँदैन जसले गर्दा महत्वपूर्ण समय खेर गइरहेको हुनसक्छ, तर यसलाई सही तरिकाले प्रयोग गर्नुभयो भने यो अहिलेको समयमा सर्वाधिक फाईदाजनक पनि बन्न सक्छ। सामाजिक मिडियाका प्लेटफर्ममा आफ्नो काम प्रमोट गर्नुहोस्। रमाइलोको लागि मात्र प्रयोग गर्दै हुनुहुन्छ भने समयसीमा तोकेर मात्र प्रयोग गर्नुहोस्।
युवावस्थामा यी कुराहरू ध्यान दिनुभयो भने यी सुझावहरूले तपाईंको भविष्य निर्माणमा ठोस योगदान पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ

Good