कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीले माग्यो ५८ कर्मचारी
कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीले विभिन्न १८ पदमा ५८ कर्मचारीको आवेदन माग गरेको छ । मन्त्रालयले कृषि अर्थ विज्ञ,खाद्य अनुसन्धान अधिकृत, कृषि प्रसार अधिकृत, पशु सेवा प्राविधिक, प्राविधिक सहायक, नायब पशु सेवा प्राविधिक जस्ता पदहरूमा तह ४ देखि तह ७ सम्म करार कर्मचारी माग गरेको हो ।आवेदन मन्त्रालयको वेबसाइट molmac.gandaki.gov.np मा राखिएको दरखास्त फाराम डाउनलोड गरी असोज ४ गतेसम्म दिन सकिनेछ । दरखास्त दस्तुर अधिकृतस्तर सातौँ तहको हकमा १२ सय रुपैयाँ लाग्नेछ भने सहायकस्तर पाँचौं तहको हकमा ७ सय रुपैयाँ लाग्नेछ त्यस्तै सहायक स्तर चौथोको हकमा ५ सय रुपैयाँ दस्तुर लाग्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
अधिकृतस्तर सातौँ तहको लागि २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । सहायक स्तर चौथो र पाँचौं तहको लागि १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् । आवेदकले आवेदनसँगै नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यता, अनुभव भएमा सो को प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो तहको सम्बन्धित पदको लागि आवश्यक शैक्षिक योग्यता भएमा सोको प्रतिलिपि । लब्धाङ्कपत्र ग्रेड प्रणाली (GPA)मा उल्लेख भएको भए सम्बन्धित शैक्षिक संस्थाबाट सो बराबरको प्रतिशत निर्धारण गरिएको प्रमाण पशु चिकित्सक पदका लागि काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।
थप जानकारीका लागि
हेर्नुहोस् सूचना