भिडियो संवाद: बाध्यात्मक यौनकर्ममा हुनेहरू के चाहन्छन् ?
नेपाल परिवार नियोजन संघका अनुसार नेपालमा करिब ४० हजार यौनकर्मी रहेका छन् । तर अनौपचारिक मनोरञ्जनात्मक क्षेत्रमा काम गर्नेहरूको सङ्ख्या हेर्ने हो भने त्यो भन्दा कयौं बढी रहेको विभिन्न अध्ययनहरूले देखाउँछ । यी यौनकर्मीहरू पहिचानविहीन भएर बाँच्न बाध्य छन् ।
विशेषगरी अनौपचारिक मनोरञ्जनात्मक क्षेत्र भनिने दोहोरी, रेस्टुराँ, डान्स बार, क्याबिन, गेस्ट हाउस तथा मसाज पार्लरमा काम गर्नेहरू शारीरिक, मानसिक अनि यौन हिंसाबाट प्रताडित छन् । आधारभूत मानवअधिकारबाट धेरै टाढा छन् यिनीहरू । यस्ता क्षेत्रमा काम गर्नेहरूलाई समाजले राम्रो दृष्टिकोणले नहेर्ने हुँदा आफ्नो पहिचान नै लुकाउनु परेको बताउँछिन् रक्षा नेपालकी अध्यक्ष मेनुका थापा । अनौपचारिक मनोरञ्जन क्षेत्रमा रहेका बहुसङ्ख्यक महिलाहरू दैनन्दिन यौन हिंसामा पर्ने गरेको थाहा हुँदाहुँदै पनि सरकारले यसको उचित व्यवस्थापन गर्न नचाहेको उनको आरोप छ ।
हेर्नुहोस्, भिडियो संवाद : बाध्यात्मक यौनकर्ममा हुनेहरू के चाहन्छन् ?
हुनत मुलुकी फौजदारी संहिता ऐनको दफा २१३ ले जबर्जस्ती यौन कार्यमा लगाउनु गैरकानुनी भनेको छ तर पनि दैनिक हजारौँ यौन हिंसाको सिकार हुनु परिरहेको छ ।
यौनकर्ममा लागेकाहरू यस क्षेत्र छाडेर वैकल्पिक पेशा व्यवसाय अपनाउन चाहन्छन् तर समाजले यौनकर्मीहरूलाई आम नागरिकका रूपमा नस्विकार्दा चाहेर पनि उनीहरू यहाँबाट उम्किन सकेका छैनन् । आफू तथा आफ्ना बालबच्चाका लागि उनीहरू बाध्य भएर यही पेशामा लागिरहेका छन् ।
अनौपचारिक मनोरञ्जनात्मक क्षेत्रमा काम गर्नेहरूको अवस्था, उनीहरूको श्रम अधिकार र समस्या समाधानका लागि सरकार र अन्य जिम्मेवार निकायको भूमिकाका बारेमा रक्षा नेपालकी अध्यक्ष मेनुका थापासँग बिना सुनारले गरेको जीविको संवादमा उनले व्यक्त गरेको धारणा:
आफ्ना छोराछोरी के गर्दैछन् ? कहाँ काम गर्दैछन् ? सीप छैन, शिक्षा छैन, त्यही पनि पैसाका बिटाबिटा ल्याउँदैछन् भने अब प्रश्न सोध्ने बेला आएको छ । यहाँ अरूलाई प्रश्न तेर्स्याउने होइन आफ्नो परिवारलाई नै प्रश्न गर्ने, आफ्नो परिवारको आफैँ निगरानी गर्ने हो । आफ्नो छोरी, बहिनी, दाइभाउजु सबैजनाले सबैको निगरानी राख्नै पर्छ । उच्च शिक्षा सकाएका पढेलेखेको व्यक्तिहरूले जागिर नपाइरहेको परिवेशमा परिवारको कुनै सदस्यले ठूलो रकम कमाएर ल्याउँछ भने उसलाई प्रश्न गर्नुपर्दछ ।
पहिलो कुरा त परिवारले आफ्नो सदस्यको निगरानी गरिदियो भने पनि आधा समस्याको समाधान त्यहीँ हुन्छ । राज्य त घरमा नै हुन्छ घरले नै गर्ने हो सुरुवाती निगरानी ।
हामी सबै कुनै न कुनै क्षेत्रमा काम गरिरहेका छौँ हामीलाई आफ्नो परिचय बताउन, कहाँ काम गर्छु भनेर भन्न गार्हो छैन । तर, अनौपचारिक मनोरञ्जनको क्षेत्रमा काम गर्ने हाम्रा दाजुभाइ, दिदीबहिनीहरूलाई आफ्नो परिचय बताउन गार्हो छ । सबैभन्दा ठूलो चुनौती नै उहाँहरूलाई त्यही नै छ । उहाँहरूको आफ्नो नागरिकता त छ होला, तर आफ्नो पहिचान भने छैन ।
डान्सबार, क्याबिन, मसाज सेन्टर भनेका यौनधन्दा गर्न खोलिएका होइनन्
डान्सबार, क्याबिन, मसाज भनेको यौनधन्दा गर्नका लागि मात्र खोलिने क्षेत्रहरू हुन् भन्ने जुन किसिमको गलत मान्यता बसको छ, त्यसले पनि अर्को समस्या थपिदिएको छ । यौनधन्दा हुने ठाउँ भन्ने हिसाबले यी क्षेत्रलाई समस्याको रूपमा लिने गरिएको छ । कतिपय यस्ता क्षेत्रमा बाध्यात्मक यौन पेसामा लगाइएको भन्ने कुरा पनि सत्य हो ।
यस्ता क्षेत्रहरूमा काम गर्ने दिदीबहिनीहरूले हामीलाई यस्तो गलत काममा लगाइन्छ, जे कामका लागि भनेर बोलाइएको हो, त्यो काम लाइदैन भनेर भन्ने गर्नुहुन्छ । यसरी पीडित हुनुहुन्छ भनेर सरोकारवाला क्षेत्रसम्म कुरा पुर्याउँदा बाध्यात्मक यौन पेशामा लगाउने मानिसहरूलाई नै राज्य पक्षबाट सुरक्षा दिने किसिमको काम हुन्छ । अनौपचारिक क्षेत्रमा काम गरिरहनुभएका विशेषत महिलाहरूलाई यो पेशाबाट निस्किन मन छ, स्वरोजगार हुने किसिमका क्षेत्रहरूमा काम गर्न मन छ ।
यसकारण बाध्यात्मक यौनधन्दा अपनाउनु परेको छ
जति पनि गाउँबाट विस्थापित भएर शहरमा आउनुभएका दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरू जेनतेन जीविका चलाउनका लागि सहरमा काम खोज्न थाल्नुभयो र तुलनात्मक हिसाबले खाजा घर, क्याबिन, डान्सबारहरूमा रोजगारी पाउनुभयो । यी ठाउँहरूलाई सरकारले मनोरञ्जनात्मक क्षेत्रको नाम दियो जसमा मनोरञ्जनात्मक क्षेत्र भन्ने शब्दसँगै हाम्रो आपत्ती छ ।
मनोरञ्जन हुनका लागि दुबै पक्षलाई मनोरञ्जन हुनुपर्छ । तर यस्ता क्षेत्रमा त हाम्रा दिदीबहिनीहरू पिल्सिरहनुभएको छ, उहाँहरूलाई त मनोरञ्जन भएको छैन भने यस्ता क्षेत्रलाई कसरी मनोरञ्जनात्मक क्षेत्र भन्न मिल्छ र ?
मनोरञ्जन भइरहेको छ भने त छ्याप्छ्याप्ति समाचारहरूमा यस्ता क्षेत्रमा काम गर्ने महिलाहरू शोषणमा परे भनेर किन पढ्न पाइन्थ्यो र ?
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला दिदीबहिनीहरूको ठूलो समस्या भनेको बालबच्चा हुन् । यस क्षेत्रमा काम गर्ने महिला दिदीबहिनीहरू समाजको लाञ्छना, अपहेलनालाई वेवास्ता गर्दै उहाँहरूले आफ्ना बालबालिकाका लागि यस्तो पेशामा लाग्नुपर्ने भएको छ ।
यस पेसाबाट महिला दिदीबहिनीहरूलाई निकाल्नका लागि सुरुवातमा सरकारले शिक्षा दिनुपर्छ । त्यसपछि रोजगारी र केही आर्थिक हैसियत राम्रो बनाइदिन सके उहाँहरूलाई सहजै बाध्यात्मक मनोरञ्जनात्मक क्षेत्रबाट निकाल्न सकिन्छ यसमा केही ठूलो गाह्रो विषय छैन ।
बाध्यात्मक रुपमा यौनकर्ममा लाग्नेहरूको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व हो ।
मानसिक र शारीरिक रूपमा विक्षिप्त भएकाहरूलाई आत्मनिर्भर बनाउने, स्वरोजगार बनाउने, सक्षम बनाउने जिम्मेवारी सरकारको हो । सरकारसँगसँगै सरकार नपुगेको ठाउँमा गैरसरकारी संस्थाहरू पुग्ने हो ।
गैरसरकारी संस्थाले संसाधनको अभावमा पनि उनीहरूको पुनर्स्थापनामा आफैँ काम गर्न सक्दैन त्यसैले बाटो देखाउने, परामर्श दिने काममा चाहिँ अझ यस्ता गैरसरकारी संस्थाहरूको हात हुनुपर्दछ । किनभने गैरसरकारी संस्थाको काम भनेको सरकारलाई झक्झकाउने हो । उनिहरूसँग श्रोतसाधन हुँदैन, पहुँच हुँदैन । सबै राजनीतिक, आर्थिक सामाजिक पहुँच सरकारसँग मात्र हुने गर्दछ । हामी गैर सरकारी क्षेत्रले सरकारलाई यसो गर्नु पर्छ भनेर भन्ने मात्र हो ।
मनोरञ्जनात्मक क्षेत्र आफैमा नराम्रो होइन, यसलाई बदनाम गराइयो
मनोरञ्जनात्मक क्षेत्र आफैमा नराम्रो होइन । आफ्नो प्रतिभा देखाएर त बाँच्न पाउनु पर्यो नि । व्यक्तिले आफ्नो क्षमता बेचेर जे काम गर्न पनि पाउँछ । लेख्न जान्नेले लेखेर जीविकोपार्जन गर्छ । मनोरञ्जनात्मक क्षेत्रमा काम गर्नेले आफ्नो क्षमता बेचेर जीविकोपार्जन गर्छ । तर, एक प्रयोजनका लागि भनेर खोलिएको ठाउँमा अर्को काम गराउन पाइँदैन । अझ सरकारले बर्जित गरेको काम त झनै गर्न पाइँदैन, यो मानव अधिकारको हनन हो ।
हामीले अहिले १९-२० वर्ष यस क्षेत्रमा काम गरिरहँदा भेटेका अधिकांश महिला दिदीबहिनीहरूले अहिले गरिरहेको कामबाट निस्किन चाहनुभएको छ । यो क्षेत्रबाट निस्किएर उहाँहरु समाजमा पुनर्स्थापना हुने खालको काम गर्न खोजी रहनु भएको छ । उहाँहरू सबैले सीप, शिक्षा, रोजगारी मागीरहनु भएको छ । तर, हामीले विकल्प दिँदा उहाँलाई अहिलेको भन्दा सम्मानित काममा हामीले राख्न सक्नुपर्छ । हुन त अहिले पनि उहाँहरूले गैरकानुनी रुपमा काम गरी रहनुभएको छैन । जुन डान्सबार, क्याबिन, मसाज जस्ता ठाउँहरू छन्, त्यो खोल्न राज्यले बन्देज लगाएको छैन भने त्यो वैधानिक नै छ । यति हो, जे कामको लागि हो त्यो हुनुपर्यो ।
इच्छाशक्ति हुने हो भने यो समस्या समाधान गर्न समय लाग्दैन
डान्सबार, क्याबिन, मसाज भनेर कसका लागि हो भनेर वृहत बहस चलाउनुपर्छ । बहस चलाएपछि नै यसले कसरी अपराध फैलाइरहेको छ भन्ने छर्लङ्ग हुन्छ । त्यसैले, त्यस क्षेत्रमा काम गर्ने महिलाहरूलाई मात्र दोषी ठान्न मिल्दैन, कि त सरकारले सबैलाई यो क्षेत्रलाई बन्द गरेर त्यसका सञ्चालक र कामदारलाई अर्को विकल्प दिनुपर्यो । कि त हरेक जिल्लामा अहिले मनिटरिङ एक्सन कमिटी भन्ने हुन्छ, जसले सर्वोच्च अदालतले निकालेको कार्यविधि अनुरूप कुन क्षेत्रमा के काम हुँदैछ भनेर नियमन गर्नुपर्छ । यसरी अनुगमन गरेपछि कहिँ पनि कुनै प्रयोजनका नाममा अवाञ्छनीय गतिविधि हुन पाउँदैन । राज्यले साँच्चै नै उत्तरदायित्व लिनुपर्छ तर सामाजिक मुद्दामा ध्यान दिएको छैन । राज्यले गरेन भनेर हामीले चुप लागेर बस्ने अवस्था भने हुँदैन हामीले आफ्नो ठाउँबाट जे सकिन्छ त्यो गर्नुपर्छ । र यसरी नै यस क्षेत्रमा हामीले काम गरिरहँदा थाह पाएको विषय भनेको के हो भने यस क्षेत्रमा काम गर्ने ९० प्रतिशत महिलाहरूले यो पेशा छाड्न चाहन्छन् । बाँकी रहेका १० प्रतिशत चाहिँ हामी यसै आयौँ अब यतै बस्न रुचाउँछौँ भन्नुहुन्छ । त्यसको कारण भनेको दुर्ब्यसनमा पर्नु हो ।
समस्या समाधान गर्ने तहमा रहेकाहरूले महसुस गर्नुपर्ने भनेको, आफ्नो छोराछोरी त्यहाँ भएको भए के हुन्थ्यो ? त्यो सोचेर काम गर्नुपर्छ । यसको लागि विशेषत: जनप्रतिनिधिहरूले यस क्षेत्रका लागि काम गर्नुपर्छ । उहाँहरूले चाहने हो भने यो क्षेत्रको समस्या समाधान गर्न कतिपनि समय लाग्दैन । तर, उहाँहरूलाई अन्डर टेबल यस क्षेत्रलाई चलाउनेहरू मार्फत कमिसन आउने हुँदा समस्या समाधान तीर लागेको पाइँदैन ।
अब सरकारबाट पहल नभएपछि अहिले त्यही क्षेत्रमा काम गर्ने दिदीबहिनीहरू जागरुक हुँदै हुनुहुन्छ हामीले पनि भुक्तभोगीहरूलाई अगाडि लगाएर काम गर्नुपर्छ, आवाज उठाउन लाउनुपर्छ नीति बनाउँदा पनि उहाँहरूको कुरा बुझेर बनाउनुपर्छ । यसो गरे परिवर्तन आउँछ । जसरी सती प्रथा अन्त्य हुन वर्षौ लागेको थियो, त्यस्तै यो पनि परिवर्तन हुन्छ ।
बाध्यात्मक यौनकर्ममा हुनेहरूको चाहना यस्तो छ
मेरो बच्चाबच्चीलाई सरकारले पढाइदिओस्, मलाई दिगो पेसा दिओस् र आत्मसम्मानपूर्वक बाँच्न पाइयोस् भन्ने उहाँहरूको माग छ । यसको मतलब उहाँहरूलाई आयमूलक र सीपमूलक कुरा नै हो चाहिने । सुखद कुरा चाहिँ के छ भने नेपाल सरकारले मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने दिदीबहिनीलाई पुनर्स्थापना गर्नुपर्छ भनेर ५ वर्षे १० वर्षे योजनामा समाहित गरेको छ । अर्को कुरा त्यो क्षेत्रमा राज्यले दिने पीडा कम भएको छ । अब चाहिँ उहाँहरूको बच्चाबच्चीलाई शिक्षा दिने काम गर्नुपर्छ ।
यौनकर्मलाई वैधानिकता दिएर अलग्गै पेशा बनाइनुपर्छ भन्दै गर्दा संवेदनशील भएर विचार गर्नुपर्ने कुराहरू धेरै छन्
यौन पेसालाई वैधानिकता दिने कुराहरूलाई लिएर धेरै समाचारहरू पढ्न पाइन्छ हामीले पनि त्यस्तो पेसा गरिरहनु भएकाहरू भेटिरहेका छौँ । यसमा चाहिँ शरीर बेच्ने क्रियाकलाप मानवअधिकार विरुद्ध भएका कारण हामीले त्यसको वकालत गर्ने कुरा हुँदैन ।
कसैले आफ्नो शरीर बेचेर जीविकोपार्जन गरिरहेको छ र मलाई यो पेशा वैधानिक हुनुपर्छ भन्ने लाग्छ भने त्यसलाई वकालत गर्ने आवाज उठाउने काम भनेको उहाँहरूले गर्ने हो तर हामीलाई चाहिँ यसलाई वैधानिकता दिनुपर्छ भनेर कसैको शरीरको मूल्य तोक्ने अधिकार चाहिँ छैन ।
रक्षा नेपालले प्रदान गर्ने सम्पूर्ण तालिमहरू निःशुल्क हुन्छन्
हामीले मनोरञ्जन क्षेत्रबाट निस्किएर आएका दिदीबहिनीहरूका लागि २५ प्रकारका सीपमूलक तालिम नि:शुल्क सिकाउँदै आएका छौँ । यसमा सिलाइ कटाई, कुक, बेकरी, च्याउ खेती जस्ता विषयहरू समावेश छन् ।
यदि कोही दिदीबहिनी यो पेशाबाट निस्किएर केही सीपमूलक तालिम लिन चाहनुहुन्छ भने रक्षा नेपाल तपाईँहरूलाई स्वागत गर्दछ । साथै कुनै प्रयोजनका लागि भनेर मनोरञ्जन क्षेत्रका नाममा बाध्यकारी यौन पेसामा वा अवाञ्छनीय गतिविधिमा तपाईंलाई लगाइँदै छ भने पनि आफ्नो गुनासो हामीमाझ राख्नका लागि म अनुरोध गर्न चाहन्छु । हामी तपाईंलाई सहयोग गर्नेछौँ ।
हेर्नुहोस्, रक्षा नेपालकी अध्यक्ष मेनुका थापासँग जीविकोले गरेको भिडियो संवाद: