अब त गाँजाको ‘बहुउपयोगिता’ चिनौँ !
आउने जुलाई १६ मा नेपालमा गाँजा प्रतिबन्धित गर्दै गाँजा जन्य सामाग्रीहरू बिक्रीवितरण गर्ने लाइसेन्स खारेजी भएको ५० वर्ष पुग्नेछ । सन् १९७० को दशकमा अमेरिकी ३७ औं राष्ट्रपति रिचार्ड निक्सनले रेमन्ड स्याफरको नेतृत्वमा गाँजा बारे अध्ययन गर्न एउटा कमिटी गठन गरेका थिए । यसरी गठन गरिएको कमिटीको काम भनेको गाँजालाई वैधानिकीकरण गर्ने कि नगर्ने भनेर जाँचबुझ गर्ने थियो। यसरी कमिटीले तयार पारेको रिपोर्टमा गाँजाको प्रयोगले मानिसको स्वास्थ्यमा मात्र होइन, समाजमा पनि अन्य लागूऔषधहरूले जस्तो असर गर्दैन भन्ने निछोड आयो । रिपोर्टमा गाँजाको वेफाइदा नदेखिएपछि गाँजा प्रयोग र उत्पादनलाई रोक नलगाउने सुझाव स्याफर कमिसनले दियो ।
तर निक्सनले स्याफर कमिसनको रिपोर्ट थन्काएर कन्ट्रोल सब्सटान्स एक्ट (सिएसए) मार्फत् ‘वार अन ड्रग’ सुरु गर्यो । त्यसबेला अमेरिकाले विश्वको अधिकांश मुलुकहरूमा गाँजालगायत अन्य लागूऔषधमा प्रतिबन्ध लगाउन दबाब दिएको थियो । त्यसै बेला नेपालले पनि बाध्य भई गाँजाको खुला प्रयोगमा रोक लगाउने निधो गर्यो ।
२०३३ सालमा लागू औषध ऐन बनेपश्चात् नेपालमा गाँजा वैधानिकता गर्ने विषयमा खासै विमर्श चलेन । गाँजाले लागू औषधको रूपमा मात्र पहिचान बनायो । त्यसयताको झण्डै ४ दशकमा ठूला परिवर्तनहरू भए, तर गाँजालाई वैधानिकता दिँदा समृद्दि आउँछ, भन्ने कुरामा भने कसैको चासो देखिएन ।
केही वर्षयता भने गाँजा खेती र यसले ल्याउनसक्ने आर्थिक उन्नतिका बारे थुप्रै बहसहरू उठे । यतिसम्म कि संसद्मा पनि गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भनेर विभिन्न सांसदहरूले आवाज उठाए । संसद्मा एमाले सांसद् शेरबहादुर तामाङले गाँजा विधेयक नै पेस गरे । तर विडम्बना संसद्ले पेस गरेको यस प्राइभेट बिलमा अहिलेसम्म टेबल भने हुनसकेको छैन ।
यस लेखमा मैले गाँजा खेतीलाई किन वैधानिकता दिइनुपर्छ, गाँजाबाट के-कस्ता उत्पादनहरू गर्न सकिन्छ र कस्तो फाइदाहरू लिन सकिन्छ भन्ने बारे कुरा गर्दैछु । आम जनमानसमा गाँजा एक नशालु पदार्थको रूपमा परिचित छ । वास्तवमा गाँजामा हुने d-9-THC नाम गरेको तत्त्वले यसलाई नशालु बनाउँछ । तर यो तत्त्व गाँजाको फुलमा मात्र हुने गर्दछ । गाँजाको डाँठ, जरा, बोक्रा र दानामा यो तत्त्व हुँदैन । त्यसैले यसको प्रयोग गरेर विभिन्न बस्तुहरू उत्पादन गर्न सकिन्छ ।
गाँजाको डाँठको बोक्राबाट कम्पोस्ट मल बनाउन सकिन्छ । यसको प्रयोग खेतबारीमा गर्न सक्दा राम्रो उब्जनी गर्न सकिन्छ, साथै यसबाट निक्लेको मलको प्रयोग गर्नाले रासायनिक मलको प्रयोग घटाउन सकिन्छ ।
गाँजाको डाँठ भित्रको रेशा कपडा बनाउन प्रयोग गरिन्छ । अहिले पनि नेपाली बजारमा हेम्प नाम दिएर कपडा तथा ब्यागहरू बनाउँदै बेचिने गरेको छ । यसबाट उद्यमीहरूले राम्रो नाफा पनि आर्जन गरिरहेका छन् ।
त्यस्तै गाँजाको दानालाई अचार बनाएर खाने चलन पनि छ । सिलाम, तील झैँ गाँजाको दानालाई पनि छोपको रूपमा प्रयोग गर्ने गरिन्छ । यसमा पर्याप्त भिटामिन र प्रोटिन पाइन्छ । भांगो नामले चिनिने गाँजाको दानाबाट बनाएको अचारलाई ब्रान्डिङ गरेर धेरैले आम्दानी लिइरहेका छन् ।
तर, विडम्बना बजार तथा मार्टहरूमा पाइने भांगो चीनबाट आयात हुन्छ । नेपालमा गाँजा खेती गर्न प्रतिबन्धित गरिएकाले यसको दाना भने आयात गर्नुपरेको छ ।
गाँजा खेतीलाई वैधानिकता दिनसके भांगो उत्पादन आफैँ गर्न सकिन्छ । यसले पर्याप्त आम्दानी पनि दिन सक्छ । गाँजालाई पेलेर यसको तेल पनि निकाल्न सकिन्छ, जो मेडिकल प्रयोजनका लागि प्रभावकारी मानिएको छ । यसको प्रयोग पार्किन्सन, क्यान्सर, इपिलिप्सी जस्ता रोगहरूको निदान गर्न प्रयोग गर्न सकिने विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको छ । यसले शरीरलाई प्रत्यक्ष लाभ दिने कुराहरू पनि स्वास्थ्य विज्ञानले प्रमाणित गरिसकेको छ ।
अझ रोचक कुरा त गाँजाको बोटबाट घरको बाहिरी पर्खाल बनाउन सकिन्छ । जो बलियो तथा आकर्षक देखिन्छ । गाँजाको डाँठमा चुनाको घोल बनाई फर्मा बनाएर शेरवाल लगाए पर्खाल बनाउन सकिन्छ । जो सिमेन्ट भन्दा मजबुत हुने गर्दछ । अझ गाँजाबाट कारको बडी बनाउन सक्दा यो पनि स्टिल भन्दा कयौँ गुना बलियो हुनसक्ने विभिन्न अनुसन्धानहरूले दाबी गर्छन् ।
विश्वमा गाँजा संस्कृति र विकास
केही वर्षअघिसम्म थाइल्याण्डमा गाँजा प्रतिबन्धित थियो । गाँजाको विषयमा थाइल्याण्डले बनाएको कानुन त्यस समयमा विश्वका कडा कानुनहरूमा पर्थ्यो ।
तर, केही वर्षअघि एकाएक थाइल्याण्डले गाँजा खेतीमा लगाएको प्रतिबन्ध खुला गर्यो । जबकी थाइल्याण्डमा भने गाँजा त्यति उत्पादन हुँदैन । पर्यटक लोभ्याउनै भनेर थाइल्याण्डले क्यानडासँग गाँजा किन्ने गर्छ ।
अमेरिकाका पनि केही प्रान्तमा गाँजा खेतीलाई वैधानिकता दिइएको छ । अमेरिकाको क्यालिफोर्निया प्रान्तले वार्षिक २२ बिलियन आम्दानी गाँजाबाट गर्ने गर्छ । अमेरिकाकै दबाबमा आएर नेपालमा गाँजा खेतीमा प्रतिबन्ध लागेपनि नेपालले भने हालसम्म गाँजा वैधानिकताको लागि सक्रिय कदम उठाउन सकेको छैन ।
गाँजा खेतीलाई प्रतिबन्ध लगाएको ५ दशक बितिसक्दा पनि नेपालले आर्थिक फड्को मार्न सकेको छैन । गाँजाको बहुउपयोगिता देखेर यसलाई खुला गर्नका लागि म लगायतले गाँजा खेती वैधानिकताको अभियान नै चलाएका छौँ ।
अहिले नेपाल कानुन आयोग, नेपाल हेल्थ रिसर्च काउन्सिल र सरकारको संयुक्त प्रयासमा गाँजाबाट लिन सकिने फाइदा र यसलाई वैधानिकता दिँदा के कस्ता मापदण्डहरू तयार गर्ने भन्ने विषयमा पनि छलफल जारी रहेको अवस्था छ ।
गाँजाका वैज्ञानिक र स्वास्थ्य क्षेत्रमा दिनसक्ने फाइदाहरू बारे स्वास्थ्य अनुसन्धान परिषद्ले पनि अनुसन्धानमा काम गरेको छ । गाँजालाई वैधानिक बनाउने भनेर अभियान चलाएकै दौरानमा म पक्राउ परेर केही समय जेल जीवन बिताएको छु । यी सबै अभियान र आन्दोलन गर्नु पछाडिको कारण भनेको गाँजा खेतीबाट भेटाउन सकिने द्रुत गतिको आर्थिक समृद्दि नै हो ।
यसको वकालत गर्नु र गाँजा नशालु पदार्थ मात्र नभइ नगदेबाली हो भनेर पहिचान बनाउनु हाम्रो उद्देश्य रहेको छ । तसर्थ, गाँजा खेतीलाई प्रतिबन्ध लगाएको ५ दशक पुग्दै गर्दा आम नेपाली नागरिक, स्थानीय तह, नेपाल सरकार र सरोकारवाला सम्पूर्ण निकायमा मेरो विनम्रतापूर्वक आग्रह छ, नेपाली जनताले आर्थिक उन्नति गर्नका लागि र मुलुकको आर्थिक समृद्धिका लागि आ-आफ्नो ठाउँबाट तथ्यपरक बहस गरौं, आ-आफ्नो ठाउँबाट पहल गरौं ।