परदेशिएकी आमालाई जब बालखाले सोध्छ- हामीलाई दसैँ कहिले आउँछ मामु ? (अडियो)

जीविको २०७९ असोज ११ गते २०:३२

“मामु हाम्रो लागि दसैँ कहिले आउँछ ?,” रोजगारीका लागि युएईमा रहेकी काभ्रे धुलीखेल २ कि मन्जु तिमल्सिनालाई केही दिनदेखि उनका ५ वर्षे छोरोले फोन गरेर बारम्बार यही प्रश्न सोध्ने गर्छन् ।  

“छोरोले फोन गरेपछि यस्तो प्रश्न गर्छ तर मसँग उसलाई दिने कुनै जवाफ छैन, मन बेस्सरी रुन्छ,” मन्जु सुनाउँछिन् ।      

नेपालमा शिक्षण पेसा गर्ने उनी यहाँको कमाईले खानसम्म नपुग्ने भएपछि विदेशिएकी थिइन् । “मासिक ५ हजारको कमाई त्यसमा पनि दुधे बालक काखमा थियो दैनिकी गुजार्न नै धौ धौ भयो अनि म र मेरो श्रीमान दुबैजनाले विदेशिने निधो गर्यौँ,” मन्जु भन्छिन् ।      

मन्जुलाई अहिले पनि नेपाल कहिले फर्किऊँ, कहिले सानो छोरासँग खेलौँ र समय बिताउ भन्ने लागिरहन्छ । तर, देशमा रोजगारी नपाउने डर अनि पाएपनि खानसम्म नपुग्ने तलबले गर्दा छोरोसँगै बस्ने आँट गर्न सक्दिनन् उनी । स्वयम् मन्जुलाई नै थाहा छैन, छोरोकै लागि छोरोसँग टाढिएर परदेशमा कहिलेसम्म बस्नुपर्ने हो .. 

केही पैसा जम्मा नगरी नेपाल फर्किए छोराको पढाई अनि भविष्य के होला भन्ने चिन्ता सँधै रहिरहन्छ । 

उनी भन्छिन्, “नेपालमै केही मर्यादित तलब सुविधा सहित रोजगारीको अवसर भए, सरकारले सीपमूलक तालिमहरू सिकाए हामी जस्तै हजारौं आमाहरू आफ्ना कलिला सन्तान छाडेर विदेशिनु पर्ने थिएन ।” 

सुन्नुहोस्, २ वर्षको काखे छोरोलाई नेपालमा छोडेर रोजगारीका लागि परदेशिएकी मन्जुको मनोभाव :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *