भ्रम र यथार्थ: रूस हुँदै युरोप छिर्ने अनि टन्नै कमाउने ! (अडियो संवाद)
पछिल्लो समय रूसमा विभिन्न समस्यामा परेका कारण नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै नेपाली विद्यार्थीहरू मस्कोस्थित नेपाली दूतावासमा आउने क्रम बढेपछि दूतावासले ‘रूसी महासंघ आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन-प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक अपिल गर्दैछौँ’ भन्दै गत साता एक सूचना जारी गर्यो ।
नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरू मार्फत अध्ययन भिसामा रसिया आउने नेपालीहरूले “रसियामा आकर्षक रोजगारीको अवसर रहेको”, “रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको” लगायतका विभिन्न प्रलोभनमा परेर मोटो रकम बुझाइ रसिया आएको तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर हुने भएकाले नेपाली विद्यार्थी र उनीहरूका परिवार ठूलो मानसिक तनावमा रहेको उक्त सूचनामा उल्लेख गरिएको छ । दूतावासका अनुसार रूस आएका कतिपय विद्यार्थीहरू सम्पर्कविहिन भएका छन् ।
दूतावासले प्रष्टसँग भनेको छ, अध्ययन भिसामा रूस आउनु भनेको नितान्त अध्ययनका लागि मात्र हो, त्यसबाहेक अन्य कुनै काम गरेर पैसा कमाउने वा यहाँबाट युरोप जाने कुरा पूर्णरुपमा गैर कानूनी र भ्रम मात्र हो ।
रूसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो केही महिनादेखि बढिरहेको र आश्वासन-प्रलोभनमा परेर अलपत्रमा पर्नेहरूको संख्या पनि उस्तै रुपमा बढिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।
यसै सन्दर्भमा, जीविकोले गैरआवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद्, रसियाका उपाध्यक्ष केशव तिमिल्सिनासँग अडियो संवाद गरेको छ । एनआरएनए रसियाका उपाध्यक्ष केशव भन्छन्, “एजेन्टको प्रलोभनमा पर्नु अगाडि यहाँको प्रावधान प्रष्टसँग बुझ्नु पर्दछ । तपाईंले रूस आउनु अगाडि नेपालमा देखेका सपनाहरू यहाँ आएपछि भ्रममा परिणत हुन्छन्”
के पढ्न भनेर रूस जानेले त्यहाँ राम्रो काम र दाम कमाउँछन् ? त्यतैबाट युरोप पनि जान पाइन्छ ? सुन्नुहोस्, ३० वर्ष रूसमा बसेका गैरआवासीय नेपाली संघ-राष्ट्रिय समन्वय परिषद्, रसियाका उपाध्यक्ष केशव तिमिल्सिनासँगको संवाद: