अवसर: नेपाली सेनामा २ सय २९ सहायक सेनानीको माग

जीविको २०७९ भदौ ३१ गते १२:५०

नेपाली सेनाले अधिकृत (सहायक सेनानी) पदको लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले २ सय २९ जना सहायक सेनानी मागेको हो । जसमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट सेनानी छानिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सेनाले खुला तर्फ १ सय १७ जनाको माग गरेको छ भने महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ तथा नेपाली सेनाको परिवारको लागी ११ सिट छुट्याएको छ । 

प्रमाणपत्र तह वा सो सरह पास गरेका १८ वर्ष पुरा भई २१ वर्ष ननाघेकोले अधिकृत क्याडेटका लागि आवेदन दिन सक्नेछन् । स्नातक तह पास गरेका १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको लागी आवेदन दिन सक्नेछन् । पुरुषका लागि ५ फिट ३ इन्च उचाइ र छाती नखुलाउँदा ३२ र फुलाउँदा ३४ इन्च हुनु पर्ने छ । तौल कम्तिमा ५० किलोग्राम हुनु पर्ने छ । महिलाको हकमा ५ फिट उचाइ र ४० किलोग्राम तौल कम्तिमा हुनुपर्ने छ ।

नेपाली सेनाको वेबसाइटबाट फाराम डाउनलोड गरी आगामी असोज ३० गतेसम्म अनलाइन आवेदन दिन सकिने छ । काठमाडौँस्थित स्वयम्भू बारुदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम भर्न सकिने निर्देशनालयले जानकारी दिएको छ । आवेदन दिँदा एक हजार रुपैयाँ दस्तुर लाग्नेछ । फारमसँगै शैक्षिक योग्यता तथा अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र समावेश गर्नु पर्नेछ ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *