उद्यमका कुरा-१: उद्यम गर्ने योजना छ भने सबैभन्दा पहिले.. (भिडियो)

जीविको २०७९ भदौ २९ गते १४:००

नवीनतम सोच तथा सम्भावना बोकेका उद्यमशील व्यक्तिहरूलाई नयाँ वा सञ्चालनमा आइसकेको व्यवसाय सफल रुपमा स्थापित गर्न आवश्यकताअनुरुप विभिन्न किसिमले सघाइरहेको संस्था हो, अन्तरप्रेरणा । यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत निरज खनालसँग हामीले उद्यमका कुराको पहिलो अङ्कमा सोधेका छौं- नेपालमा उद्यम गर्ने हो भने सबैभन्दा पहिले के कुरामा आफूलाई तयार गर्ने ?

निरज भन्छन्:

उद्यमशीलताको कुरा गर्दा आफ्नो उद्यम व्यवसायको सम्भावना कस्तो हुन्छ भनेर उद्यमीले सोच्नु स्वभाविक हो । गर्न लागिएको उद्यमको स्कोप कस्तो छ भनेर सबैले सोच्ने गर्नुहुन्छ । तर उद्यमको योजना बनाउँदै गर्दा सबैभन्दा पहिले आफ्नो ‘अन्तर-प्रेरणा’ लाई चिन्न सक्नुपर्छ । अर्थात्, उद्यमीका सीप, इच्छा, आकांक्षा, आफ्नो मूल्यमान्यता अनि आफूसँग भएको स्रोत जस्ता कुराहरूलाई हेरेर बजारमा भएका अवसर चुनौतीहरूलाई समाधान गर्न खोज्न पर्छ । यी विषयलाई मनन गरेर अवसर पहिचान गर्नु पर्दछ । कुन क्षेत्रमा लगानी गर्दा धेरै फाइदा र कम जोखिम हुन्छ भनेर उद्यमी गर्ने सोच बनाउनु भएकाले सोध्ने गर्नुहुन्छ । कुन चाहिँ क्षेत्र भन्दा पनि नेपालमा जुनैपनि क्षेत्रमा पनि उद्यमको सम्भावना छ भनेर बुझ्नु पर्दछ । तर, मुख्य कुरा चाहिँ आफूमा दृढ अठोट, इच्छा आकांक्षा लिएर यो उद्यम चाहिँ म गर्छु भन्ने हुनु पर्दछ । व्यापार/व्यवसाय, उद्यम गर्दा पहिलेको ३-४ वर्ष एकदमै गाह्रो हुन सक्छ तर त्यो बेला पनि आफू दृढ भएर धैर्यताका साथ काममा लाग्नु पर्दछ । लगानीको प्रतिफल पक्कै पनि आउँछ तर दृढता र निरन्तरता चाहिँ हुनुपर्छ । आज लगानी गर्‍यो अनि एक महिनामा प्रतिफल आएन.. २ महिनामा प्रतिफल आएन अथवा १ वर्षमा प्रतिफल आएन भनेर सोच्यो भने नेपालमा उद्यम गर्न धेरै नै गाह्रो छ । हाम्रो देशको परिस्थिति पनि आज लगानी गर्‍यो भोलिपल्टबाट त्यसको प्रतिफल आउँछ भन्ने खालको छैन । त्यसैले दृढ संकल्प गरेर लागिरह्यो भने उद्यममा लगानी गरे नेपालमा जुनसुकै क्षेत्रमा पनि सम्भावना छ ।

हेर्नुहोस् भिडियो:

……………………………………..

सीप, रोजगारी, श्रमको सम्मान, युवा उद्यमशीलता एवम् वैदेशिक रोजगारी केन्द्रित जीविको डट कमले साप्ताहिक रुपमा नेपालमा उद्यमशीलतासँग जोडिएका सम्भावना, चुनौती र अवसरका विभिन्न विषयवस्तुमा यसै क्षेत्रका जानकार/विज्ञसँग छोटो संवाद गर्दै उद्यमका कुरा सुरु गरेको छ । तपाईं पनि नेपालमा उद्यम व्यवसाय गर्दै हुनुहुन्छ वा गर्ने सोचमा हुनुहुन्छ र यससँग सम्बन्धित कुनै जिज्ञासा छ भने हाम्रो फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *