
श्रमिकका गायक जीवन शर्मालाई प्रश्न- किन बदलिएन श्रमिकका दिन ? (भिडियो)
निकाल्यौं हीरा मोती
बनायौं सुनका दरबार
न हामीलाई एक छाक रोटी
न पायौं ओत लाग्ने घर…
श्रमिकको अवस्थालाई शब्द र संगीतको मध्यमबाट व्यक्त गरेर दशकौँ अगाडि जनगायक जीवन शर्माले यो गीत गाए । समय लाग्ला तर श्रमिकको दिन आउनै पर्छ भन्नेमा उनी दृढ थिए । परिवर्तनका लागि भनेर ठूला ठूला आन्दोलन अनि शसस्त्र युद्ध भए तर व्यवस्था परिवर्तन भए पनि श्रमिकका अवस्था भने सधैँ उस्तै रह्यो । उनकै शब्दमा भन्ने हो भने त श्रमिकको अवस्था उस्तै होइन झनै कष्टकर हुँदै गएको छ ।
राज्य ‘बैगुनी’ भइदिँदा सामान्य जीवन चलाउनका लागि लाखौं युवा खाडीको रापमा सेकिनु परेको जीवनको आरोप छ । जीवन भन्छन्, “राज्यले विदेशिएका नेपाली नागरिकलाई होइन उनीहरूले पठाएको रेमिट्यान्सलाई माया गरेको छ”
प्राय: चाडबाडका बेलामा जीवनलाई विदेशमा भएका नेपालीले बोलाउँछन् । कहिले खाडी, मलेशिया त कहिले युरोप पुग्छन् उनी । छुट्टी नपाएका श्रमिकहरू एकै ठाउँमा जम्मा भएर उनको गीत सुन्छन् ।
जीवन तिनै प्रवासीहरूको फर्माइसमा गीत गाउँछन्, “यसपाली त यस्तै भो आमा.. अर्को साल आउने छु दशैंमा..”
घर सम्झेर, बूढा बा आमा अनि परिवार सम्झेर भक्कानिन्छन् प्रवासमा भएका नेपालीहरू ।
सांगीतिक कार्यक्रमका लागि विदेश पुगेका बेला नेपालीहरू बस्ने क्याम्पसम्म पुग्छन् उनी । एकै कोठामा भेडाबाख्रा जस्तो कोचिएर नेपालीहरू बस्नु परेको देख्दा मुटु कुँडिन्छ उनको । हिजो उनकै गीत संगीतलाई आदर्श मानेर परिवर्तनका लागि युद्धमा होमिएकाहरू अहिले २० हजार कमाउन ५० डिग्री माथिको गर्मीमा पसिना र रगत बगाएको पनि देखे उनले । देशमै केही गर्न भन्दै युवाका लागि सरकारले बजेट र कार्यक्रममा जे जति भनेका छन् ति सबै ‘बेकारको भ्रम’ हो भन्छन् उनी । भन्नलाई विदेशिएका नेपालीहरू ‘देशमै आउ’ भनेपनि व्यवहारमा देशबाट परदेश ‘जाउ जाउ’ भन्ने गरेको जीवनको बुझाई छ ।
जीवनले यसो भनिरहँदा उनलाई प्रश्न गरें, “परिवर्तनका लागि दशकौँ गीत गाउनु भयो । तपाईँकै गीतलाई आदर्श मानेर युवाहरू आन्दोलन र युद्धमा होमिए । परिवर्तन पनि आयो.. तर परिवर्तनकै लागि भनेर लड्नेहरू नै नअट्ने कस्तो परिवर्तन हो यो ?”
जीवन भन्छन्, “यही त हो विडम्बना । जसका लागि लडियो उनीहरूले नै धरातल बिर्से.. ढाँट्न र छलछाम गर्न सिके,”
उनको उत्तर नसकिँदै अर्को प्रश्न तेर्साएँ, “त्यसो भए अब के त दाइ ? जति परिवर्तन आएपनि गरिखानेका दिन नआउने रहेछ.. “
मुस्कुराउँदै उनले उत्तर फर्काए, “जबसम्म गरीब, किसान, श्रमिकहरूको दिन आउँदैन तबसम्म लड्नु पर्छ । हरेश खाने.. निराश हुने छुट छैन । जब युवाले, श्रमजिवी वर्गले हरेश खान्छ तब समाज अनि देश बर्बाद हुन्छ”
हेर्नुहोस्, जनगायक जीवन शर्मासँग गरिएको जीविको संवाद:
