अध्यागमन विभागका निर्देशक भन्छन्: भिजिट भिसाका नाममा हुने ठगी अब नियन्त्रण हुन्छ (अडियो)
भिजिट भिसाका नाममा प्रलोभन देखाई हजारौँ नेपालीलाई खाडी लगायतका देश पुर्याउने र अलपत्र पार्ने गतिविधि बढेसँगै यस्ता समस्याको व्यवस्थापनका लागि सरकारले नयाँ कार्यविधि कार्यन्वयनमा ल्याउने भएको छ ।
अध्यागमन विभागको पहलमा गृहमन्त्रालयबाट पारित उक्त कार्यविधि कार्यन्वयनमा ल्याउने प्रक्रिया भइरहेको अध्यागमन विभागका निर्देशक अन्जन न्यौपानेले बताए ।
तत्थ्याङ्क अनुसार अघिल्लो वर्षमात्रै भिजिट भिसाका नाममा यूएईमा मात्र ८० हजार बढी नेपाली पुगेका छन् ।
यसरी दुबई पुग्ने अधिकांश नेपाली कामको खोजीमा गएको बताइन्छ । यसअघि सरकारले भिजिट भिसाका नाममा मानव तस्करी बढेको भन्दै यसलाई कडाइ गर्नका लागि गत फागुनमा भिजिट भिसामा जानका लागि १० लाख वार्षिक कमाइ र पाँच लाख बैङ्क ब्यालेन्सलाई अनिवार्य गरेको थियो ।
तर सरकारी नियमका बावजुत पनि भिजिट भिसाका नाममा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा कमी नआए पछि सरकारले नयाँ कार्यविधि ल्याउन लागेको हो ।
निर्देशक अन्जनका अनुसार सरकारले ल्याएको नयाँ प्रावधान अबको दुई महिनाभित्रमा कार्यन्वयनमा ल्याउने तयारी छ । यस कार्यविधि अनुसार अनलाइनबाटै पूर्वस्वीकृति दिने गरी सफ्टवेयर बनाउने लगायतको पूर्वतयारी भइरहेको छ । यसले विमानस्थल पुगेर फर्किनुपर्ने समस्या धेरै हदसम्म समाधान हुन्छ ।
नयाँ आउन लागेको कार्यविधिमा घुम्ने प्रयोजनकै लागि विदेश जानेको हकमा वार्षिक न्यूनतम आय ६ लाख हुनुपर्ने प्रावधान राखिएको छ । साथै, ६ लाख आयको कर तिरेको हुनुपर्ने र तीन लाख रुपैयाँ बैंक ब्यालेन्स देखाउनुपर्ने प्रावधान राखिएको छ ।
आयसम्बन्धी कागजपत्र अनलाइनमै अपलोड गरेपछि विभागले त्यसमा अध्ययन गरी पूर्वस्वीकृति दिनेछ । यसरी भिजिटका लागि लिने पूर्वस्वीकृतिका लागि सेवाग्राहीले दुई- तीन दिनभन्दा बढी पर्खनु नपर्ने गरि विभागले कार्यविधि कार्यन्वयनको तयारी थालेको उनले बताए ।भिजिटमा जान चाहनेको पूर्वस्वीकृति भएपछि मात्र टिकट काट्ने गरी यस्तो प्रावधान लागू गर्न लागिएको छ ।
परिवारकै आफन्त भेट्न जानेको हकमा मात्र त्यस्तो सुविधा दिने विभागको तयारी छ । विगतमा नाता प्रमाणिकरणलाई नक्कली कागजपत्र पेस हुने गरेकोमा अब राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको तथ्यांक लिएर त्यसमार्फत जाँचबुझ गर्ने अध्यागमनको तयारी छ ।
भिजिट भिसामा हुने ठगी नियन्त्रणका लागि भइरहेको तयारीबारे अध्यागमन विभागका निर्देशक अन्जन न्यौपानेसँग गरिएको अडियो कुराकानी: