भिजिट भिसामा दुबई पुगेका युवा भन्छन्- आउन गाह्रो छैन, काम पाउन सजिलो छैन ! फोटो : पुष्कल श्रेष्ठ, जीविको

जीविको २०७९ भदौ १० गते १८:२३

भिजिट भिसाका नाममा मानव तस्करी बढेको भन्दै यसलाई कडाइ गर्नका लागि गत फागुनमा सरकारले भिजिट भिसामा जानका लागि १० लाख वार्षिक कमाइ र पाँच लाख बैङ्क ब्यालेन्सलाई अनिवार्य गरेको थियो ।

सरकारले भिजिट भिसामा कडाइ गर्दै आएको भनिएता पनि एजेन्ट, मेनपावरदेखि विमानस्थलकै कर्मचारीको संलग्नताका कारण भिजिट भिसामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी भने आउन नसेको यस क्षेत्रका जानकारहरू बताउँछन् । गृह मन्त्रालयले गरेको एक अध्ययन अनुसार ७२ हजार ९४ जना नेपाली गत वर्ष भिजिट भिसामा दुबई पुगेका थिए ।

हालै सार्वजनिक भएको अध्यागमन विभागको एक तत्थ्याङ्क अनुसार गत वर्षको जनवरी १ देखि यस वर्षको २४ अगस्टसम्म ५० हजार ५६ नेपाली भिजिट भिसामा दुबई पुगेका छन् ।

२० दिन अगाडि मात्र भिजिट भिसामा एजेन्ट मार्फत दुबई पुगेका नेपालगञ्जका एक युवाले आफ्नो अनुभव जीविकोलाई बताएका छन् ।आफूलाई अप्ठ्यारो पर्ने भन्दै उनले आफ्नो परिचय भने खुलाउन चाहेनन् । 

उनी भन्छन्, “भिजिट भिसामा दुबई आउन कतिपनि गार्‍हो छैन । गार्‍हो त यहाँ आइसकेपछि हुन्छ ।” कसरी एजेन्टको सहयोग लिएर उनी भिजिट भिसामा दुबई पुगे ? उनको अनुभव उनकै शब्दमा :

म केही महिनाअघिसम्म काठमाडौंको एक होटलमा काम गर्थे । २ वर्ष जति होटल लाइनमा काम गरिसकेपछि मलाई यस क्षेत्रको थोरै ज्ञान भइसकेको थियो । नेपालमा होटल लाइनमा त्यति कमाइ छैन । त्यहाँको कमाईले मलाई दैनिक खर्च धान्न पनि मुस्किल थियो । खर्चले नै धान्न नपुग्ने भएपछि मैले विदेशिनु बाहेकको कुनै अर्को उपाय देखिन । विदेश जाने हुटहुटी चलेपछि मैले उपाय खोज्न थालेँ ।

होटल लाइनमै मैले काम गर्नुपर्ने थियो । होटलमा काम गर्न पाए कमाइ पनि राम्रो हुन्छ भन्ने सुनेको थिएँ । अझ होटलमा काम गर्नका लागि दुबई ठीक छ भन्ने सुनेको थिएँ ।

विदेश नै जाने भनेर सोचेपछि मैले मेनपावर र एजेन्टहरू खोज्न थालेँ । यही क्रममा काठमाडौंमा एकजना एजेन्टसँग मेरो भेट भयो । मलाई विदेश जानु छ भनेर उनलाई  मैले सुनाएँ ।एजेन्टले मलाई मेनपावरसँग होटलको डिमान्ड छैन, राम्रो काम पनि छैन भन्यो त्यसपछि मैले के छ त विदेशिने अर्को उपाय भनेर सोधेँ ।

“अब दुबईमा होटलको सिजन चल्दै छ भिजिटमा जानुस्,” उनले उपाय दिए । मैले सोधेँ, सहजै त हुन्छ नि ? काम त पाइन्छ नि ?  उनको जवाफ थियो, “केही दिन काम खोज्न पर्छ । होटलकै सिजन छ, पाइहाल्छ ।”

“सबै कागजात त छ नि,” प्रक्रिया  पुर्‍याएको देखाउनका लागि भएपनि मलाई उनले सोधे । 

मलाई पहिल्यै ‘छ’ ‘छ’ भन्नु केही हुन्न भनिएको थियो मैले पनि ‘छ’ भन्दै टाउको हल्लाए । उनले मलाई सामान्य सोधपुछ गरेर त्यहाँबाट सजिलै जान दिए । एयरपोर्टको चेकजाँच कटेसी सहजै पुगिने भयो भन्ने लागिसकेको थियो । त्यसपछि मलाई कुनै बाधा नै भएन म दुबई पुगेँ ।

भिजिट भिसामा विदेशिन गार्‍हो नै रहेनछ । एयरपोर्टका कर्मचारीसँग मेनपावर र एजेन्टको सेटिङ हुने रहेछ भन्ने कुरा मलाई त्यसबेला थाह भयो । पहिलानै मेनपावर, एजेन्ट र कर्मचारी मिलेपछि विदेशिन के गार्‍हो हुने हो र ?  

म दुबई पुगेको ३ हप्ता भयो । नेपालबाट त सहजै आइपुगेँ तर यहाँ अहिले पनि काम खोजी रहेको छु, काम पाएको छैन । भिजिटमा अप्ठ्यारो छ भन्ने जानी जानी पनि म विदेशिएको हुँ । तर, होटल लाइनको सीप छ भन्ने आशले यतै काम र राम्रो पैसा पाइएला भन्ने लागेको थियो । तर, सोचेजति सहज नहुने रहेछ ।

 यहाँ आएपछि ३ महिना पर्यटक भिसा थप्न पाइने रहेछ । खान बस्नका लागि मासिक २० हजार जति खर्च हुने रहेछ । लाख रुपैयाँ खर्च गरेर विदेशिए अब पुनः नेपाल फिर्ता हुन पनि मिलेन । यो बीचमा यहीँ एजेन्ट मार्फत काम खोज्ने प्रयास गर्दै छु तर काम मिलाए वापत यहाँका एजेन्टलाई पनि पैसा बुझाउनुपर्ने रहेछ ।

भिजिटमा दुबई आउँदा एजेन्टले भनेअनुसार न त काम नै पाइन्छ, काम पाइहाले पनि सोचेजस्तो तलब र सुविधा त झन् हुँदै हुँदैन । भिजिट भिसामा दुबई आएर काम गर्छु र पैसा कमाउँछु भन्ने सोच भएकालाई एउटै कुरा भन्न चाहन्छु – भिजिट भिसा लिएर दुबई आउन त धेरै सजिलो छ, तर त्यो भन्दा कयौँ गुणा गार्‍हो छ यहाँ काम पाउनलाई ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *