भरतपुरमा रोजगार मेला हुँदै, सीप भएकालाई रोजगारी दिइने (अडियो कुराकानी)

जीविको २०७९ असार २० गते २१:१२

चितवन भरतपुर र रत्ननगर क्षेत्रमा हुनुहुन्छ र तपाईंको हातमा सीप छ भने हातमा सीप हुनेका लागि रोजगार मेलाको आयोजना हुदैंछ । यससँगै विद्यालय तहको पढाइ सकाएर कुन क्षेत्रमा ‘करियर’ छान्ने, सीप कहाँ सिक्ने र अवसरहरू कसरी खोज्ने भन्ने विषयको अन्योलमा हुनुहुन्छ भने पनि यो मेला तपाईंका लागि उपयोगी हुन सक्छ ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा असार २२ र २३ गते हुन गइरहेको करियर (वृत्ति) परामर्श तथा रोजगार मेलामा रोजगारका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिहरूले रोजगारदाताबाट मेलामा नै रोजगारी पाउने भएका छन् ।

विद्यालय तहको पढाइ सकाएर पनि आफ्नो ‘करियर’ छान्न अलमलिएकाहरु, सीप सिक्ने अवसरको खोजीमा रहेकाहरु, सीप भएर पनि बेरोजगार भएकाहरुलाई उपयोगी हुने गरी वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा सहभागी हुनेले रोजगार सम्बन्धी सम्पूर्ण सूचना एउटै थलोमा प्राप्त गर्न सक्ने छन् । सीपयुक्त जनशक्तिको उत्पादन र स्वदेशमै रोजगारीको अवसर सिर्जना गराउने नेपाल सरकारको नीतिअनुसार यो मेला आयोजना गरिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी बताउँछन् ।

“नेपाल सरकार तथा स्वीस सरकारको द्विपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (ENSSURE) दोस्रोको प्राविधिक सहयोगमा हुन लागेको रोजगार मेलामा रोजगारदाता  विभिन्न संघसंस्था, कम्पनी तथा उद्योगहरुमा आवश्यक रोजगारीको बारेमा जानकारी दिइने छ,” प्रमुख प्रशासकीय अधिकृत रामबन्धु भन्छन्, “रोजगारका लागि आवश्यक सीप र योग्यता भएका २०० जनालाई रोजगारदाताबाट मेलामा नै नियुक्ति दिइने छ र चितवनका साथै देश विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसरबारे मेलामा नै जानकारी र परामर्श दिइने छ”

उनका अनुसार सामान्य साक्षर युवादेखि स्नातक/स्नातकोत्तरसम्म अध्ययन गरेका विद्यार्थी तथा बेरोजगार युवालाई श्रम बजारको माग र आवश्यकताका आधारमा करियर परामर्श सेवा प्रदान गरिने छ । मेलामा तालिम प्रदायक संस्थाले प्रदान गर्ने सीपमूलक तालिम र अवसरको जानकारी दिनेछन् ।

स्थानीय तहले पहिलो पटक गर्न लागेको यो रोजगार मेलाबाट १० हजार भन्दा बढीले लाभ लिने आयोजकको आशा रहेको छ ।

सुन्नुहोस्, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीसँग करियर (वृत्ति) मार्गदर्शन र रोजगार मेला-२०७९ का बारेमा गरिएको छोटो कुराकानी:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *