किन फक्रन नपाउँदै ओइलाउँछन् नेपालमा ‘स्टार्ट अप’?

बिना सुनार २०७९ असार २० गते १५:५४

युवाहरू माझ आजभोली स्टार्ट अप चासोको विषय बन्दै गएको छ । नवीन सोच सहित नेपालमा प्रत्येक वर्ष सयौँ स्टार्ट अपहरु जन्मने गर्छन् । तर नयाँ जोशका साथ जन्मेका स्टार्ट अपहरुको आयु भने धेरैको लामो हुन्न । 

कोरोना महामारीका कारण भएको पहिलो लकडाउनको समयमा ललितपुरका मदन श्रेष्ठ (५०) लाई नयाँ व्यवसायको सोच आयो । ३५ वर्ष नबिल बैङ्कमा काम गरेका मदन अवकाश पाएपछि घरमा त्यसै बस्न रुचाएनन् । केही नयाँ काम थालनी गर्ने सोच र वित्तिय क्षेत्रमा काम गरेको अनुभव उनलाई व्यवसायमा लगाउन मन लाग्यो ।

‘अंकल क्राफ्ट’ का मदन श्रेष्ठ, फोटो: uncles.crafts

व्यवसाय सोचकै क्रममा उनले कागजबाट गहना बनाउने नयाँ बिचार ल्याए । अरूले नगरेको काम गर्ने र सस्तो मूल्यमा आकर्षक गहना बनाउने भन्दै काम गर्न शुरु गरे ।

उनले सुरुमा आफूले बनाएको गहना आफ्नो छोरीलाई लगाउन दिए । छोरीहरूले यसरी कागजबाट बनेका गहना लगाएको देखेर छोरीका साथीहरूले पनि त्यसलाई मन पराए र आफूहरूको लागि पनि यस्तै गहना बनाइदिन भने । उनीहरुबाट राम्रो प्रतिकृया आयो । यती मात्र होइन, छोरीका साथीहरूले मदनलाई यस्तो सामान बनाएर व्यापार गर्न सल्लाह पनि दिए ।  र अंकलले बनाएको समान भएर व्यवसायको नाम पनि राखी दिए ‘अंकल क्राफ्ट’।

विशेषगरि कागजबाट कानमा लाउने इयरिङ बनाउने अंकल क्राफ्टले विभिन्न रङ्ग र डिजाइनमा आफ्नो सामानहरू बनाएर त्यसलाई अनलाइन मार्फत बिक्री गर्ने गर्दछ ।  सुरुसुरुमा यसको व्यापार राम्रो भयो । धेरैले यसलाई रुचाए पनि । अंकल क्राफ्टको उत्पादन काठमाडौंमा मात्र नभएर काठमाडौं बाहिरबाट पनि माग हुने गर्दथ्यो । तर बिस्तारै यसको माग घट्दै गयो । लगानी मुस्किलले उठ्यो । अहिले बजारमा यसको माग नभएकोले उत्पादन पनि गरेको छैन ।

“मार्केटिङ नभएकोले हो की भनेर अनलाइन मार्केटिङ गरिरहेको छु तर यसले खास्सै प्रभाव पारेको छैन,” मदन बताउँछन्‌ ।

नेपालको पहिलो राइड सेयरिङ अनलाइन प्लेटफर्म टुटलको पनि अवस्था त्यत्ति सुखद छैन । दुईपाङ्ग्रे सवारीमा यात्रुलाई सेवा दिँदै आएको टुटल सुरुवातमा राम्रोसँग चल्यो । नेपालका लागि बिल्कुलै नयाँ सोच राखेर शिक्षित भट्टले टुटल खोलेका थिए । पहिलो वर्ष टुटल यात्रुको रोजाइमा पर्‍यो । पाँच वर्ष अगाडि सुरु भएको टुटलले यात्रुहरूलाई सजिलो र छिटो सवारी उपलब्ध गराउने भएकाले धेरै प्रशंसा पायो । दश हजारभन्दा बढी राइडरहरू टुटलसँग आबद्ध भएर काम गरे । तर समयसँगै

केही विभिन्न प्राविधिक तथा बजारमा विदेशी कम्पनीसँगको प्रतिष्पर्धाका कारण टुटलका ग्राहक घट्न थाले ।

टुटलका संस्थापक शिक्षित भट्ट

“हामीले नयाँ सोच ल्याएका थियौँ । त्यसलाई बृहत बनाउने सोच बनाउँदा बनाउँदै अन्य राइड सेयरिङ एपहरू नेपालमा भित्रिए,” टुटलका सञ्चालक शिक्षित भट्ट सुनाउँछन्, “टुटल अहिलेपनि चलेको छ । यसलाई थप व्यवहारिक र सहज बनाउनका लागि टुटलले काम गरिरहेको छ ।”

अंकल क्राफ्ट र टुटलजस्ता वर्षेनी हजारौँ नयाँ व्यवसाय स्टार्ट अपको रूपमा प्रारम्भ हुन्छन् । व्यक्ति वा समूह मिलेर बजारको आवश्यकतालाई हेरी वस्तु वा सेवा उत्पादन र बिक्रीवितरण गर्ने गरी थालनी गरिने नयाँ कामलाई स्टार्ट अप अथवा नवप्रवर्तन व्यवसाय भनिन्छ । यस्तो व्यवसाय कति सफल हुन्छन त कति असफल हुन्छन् । यसरी हजारौं स्टार्ट अपले वर्षेनी व्यवसाय सुरुवात गर्ने भएता पनि थोरै मात्र सफल हुने अनि धेरै संख्यामा बन्द हुने गर्दछन् । नेपालमा मात्र होइन विकसित मुलुकमा पनि स्टार्ट अप सफलताको प्रतिशत १० देखि १५ प्रतिशत मात्र रहेको तथ्याङ्कहरूले देखाउँछ ।

भनिन्छ बजार निर्दयी हुन्छ । जुनसुकै व्यवसाय कडा प्रतिस्पर्धाका बीच सञ्चालन गर्नुपर्ने हुन्छ । तर बजार नबुझी र व्यवसाय सम्बन्धी महत्वपूर्ण कुराहरुमा गम्भीर नहुँदा उच्च महत्वकाङ्क्षा साथ सुरु भएका व्यवसाय लामो समयसम्म नजाने अथवा बन्द नै गर्नु पर्ने अवस्था आउने गर्दछ ।

पछिल्लो केही वर्षयता धेरै युवाहरू ‘स्टार्ट अप’ तर्फ आकर्षित भएका छन् । कसैको जागिर खानुभन्दा नयाँ नयाँ सम्भावना र अवसरको खोजी गर्ने महत्वकाङ्क्षा बोकेका केही युवाहरू सामान्य लाग्ने कामलाई नै सिर्जनात्मक ढंगले गरेर लाखौँ आम्दानी गरिरहेका छन् ।

यिनै मध्ये एउटा उदाहरण हो ‘मुनाज् पिकल’ । काठमाडौं किर्तिपुर-५ पाँगा कि मुना महर्जन (३२) विगत ३ वर्षदेखि मुनाज् पिकल (Muna’s pickle ) नामको व्यवसाय खोलेर घरबाट नै विभिन्न प्रकारको अचार बनाएर स्थानीय बजारमा बिक्री वितरण गरी राम्रै आम्दानी गरिरहेकी छिन् । एक लाख लगानीमा व्यवसाय सुरु गरेकी मुनाले अहिले बजारमा आफ्नो ‘ब्राण्ड’ लाई स्थापित गराउन काम गर्दैछिन् । पछिल्लो समय उनको अचारको नियमित ग्राहक बढ्दै गइरहेका छन् ।

मुनाको उद्यम यात्रा : भान्साबाट सुरु भयो, अहिले बजारमा ‘ब्राण्ड’ बन्दैछ
मुनाज् पिकलकी मुना महर्जन

नेपालमा उद्यमशीलता विकास र युवा उद्यमी उत्पादनमा मद्दत पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको अन्तरप्रेरणा संस्थाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल भन्छन्, “स्रोत र साधनको अध्ययन नगरी, व्यवसायको देखासिकी गरेर साथै ग्राहकको मर्म नबुझी नयाँ व्यवसायमा आउँदा त्यसले सफलता भेटाउन सक्दैन ।”

निरज खनाल

उनी थप्छन्, “समाज, परिवार र आफू निकट व्यक्तिहरूले व्यवसायलाई प्रोत्साहन नगर्ने प्रचलन बढ्दो छ । जसका कारण दबाबमा आएर पनि व्यवसायलाई छाड्नुपर्ने अवस्था देखिएको छ ।”

सरकारले स्टार्ट अप सम्बन्धी कार्यक्रम ल्याएर नयाँ व्यवसायीलाई आर्थिक सहयोग गर्नुभन्दा पनि व्यवसायसम्बन्धी नयाँ निती तथा कार्यक्रमहरू ल्याउनु जरुरी छ । वर्षौ पहिले बनाइएको नियमकानुन अहिलेसम्म प्रचलनमा भएको र त्यसलाई परिमार्जित नगरेकोले उद्यमशीलतामा प्रवर्द्धनका लागि सरकारले अपेक्षाकृत रुपमा काम नगरेको उद्यमीहरुको गुनासो गर्छन् ।

“जति उद्यमशीलता अगाडि बढिरहेको अवस्था छ त्यो गतिमा हाम्रो कानुन भने गएको छैन । यसको लागि उद्यमी मैत्री नीतिनियम र उद्यम विकास सँगसँगै गयो भने राम्रो हुने हो तर त्यस्तो वातावरण बनिसकेको अवस्था छैन । यसले गर्दा नेपालमा स्टार्ट अप फस्टाउन सकेको छैन,” निरज बताउँछन् ।

कुनै पनि व्यवसाय गर्दा आफ्नो उद्देश्यमा निश्चित भएर र उच्च धैर्यताका साथ प्रतिबद्ध भएर काम गर्न सकियो भने मात्र त्यस्तो व्यवसाय फस्टाउने इम्प्याक्ट हब नेपालका आशिष घिमिरे बताउँछन् ।

“नयाँ व्यवसाय लहैलहैमा खोल्ने प्रचलन बढेको छ । अरूको देखासिकी गरेर अनुसन्धान बिनानै व्यवसाय सुरुवात गर्दा छोटो समयमै बन्द गर्नुपर्ने अवस्था विद्यमान छ,” आशिष भन्छन्, “सरकारले पनि स्वदेशी उद्यम प्रवर्द्धनलाई सहयोग गर्न सकेन जसको कारण चलेका र सम्भावना बोकेका कम्पनीहरू डुबे,”

अन्त कतै जागिर गर्नुभन्दा वा विदेश पलायन हुनुभन्दा स्वदेशमा केही गरौँ भन्ने भावना भएका, वैदेशिक रोजगारी वा अध्ययन गरेर फर्किएका व्यक्ति वा समूह मिलेर नेपालमा स्टार्ट अपलाई अगाडि बढाइरहेका छन् । कतिले त राजनीतिक पहुँचकै कारण फाईदा लिन पनि उद्यमशीलतामा प्रवेश गरेका उदाहरण छन् । तर जति संख्यामा नयाँ  उद्यम व्यवसायहरु दर्ता भएका छन्,  त्यसको तुलनामा दिगोपना भने अत्यन्तै कम छ ।

उद्योग मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालय वि.स. २०४९ मा स्थापना भएपछि करिव २ लाख ८० हजार कम्पनी यहाँ दर्ता भएको तथ्याङ्क छ । कम्पनी रजिष्ट्रार कार्यालयको प्रतिवेदन हेर्दा १८ हजार ५ सय ९५ वटा कम्पनी आ.व. ७६/७७ मा दर्ता भएकोमा त्यसको संख्या बढेर ७७/७८ मा मात्र २६ हजार ४ सय ९८ कम्पनी दर्ता भएको देखिन्छ । कम्पनी रजिष्ट्रार कार्यालयमा मासिक २ हजार वटासम्म कम्पनी दर्ता हुने गरेका छन् । जसमध्ये करिब ४० प्रतिशत मात्र अद्यावधिक अवस्थामा रहेको कम्पनी रजिष्ट्रार कार्यालयका उप-रजिष्ट्रार हरिप्रसाद अधिकारी बताउँछन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अधिकांश कम्पनीहरु काठमाडौंलगायत देशका मुख्य सहरहरुमा केन्द्रित छन् । उस्तै प्रकृतिका काम गर्ने व्यवसायीहरुसँग एकैठाउँमा उच्च प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । नयाँ व्यवसाय गर्नेहरू सहर छोडेर ग्रामीण क्षेत्रमा जानुलाई जोखिमका रुपमा लिन्छन्।

नेपाल सरकार मातहतमै रहेर युवा स्वरोजगार कोष मार्फत पनि सरकारले नव उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने काम गरिरहेको हुन्छ । कोषले हाल ६ वटा विभिन्न कर्जा कार्यक्रम सञ्चालन गरिरहेको छ । भेरी कर्णाली इकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम, काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम, तराई मधेश स्वरोजगार कार्यक्रम, कोशी इकोनोमिक करिडोर स्वरोजगार कार्यक्रम, सहकार्यमा सञ्चालित स्वरोजगार कार्यक्रम ।

“हामीले ९० हजार बढीलाई कर्जा प्रवाह गरिसक्यौँ, धेरैले त्यसको प्रयोग गरेर व्यवसायलाई बढाएका पनि छन्,” युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोका कल्याण बताउँछन् ।

कोषले व्यवसाय सञ्चालनका लागि भनेर २ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने गरेको छ । सेवा लिएर पनि व्यवसायलाई विस्तार गर्न नसकेका युवाहरूको सङ्ख्या पनि ठूलो मात्रामा भएको उनी स्वीकार्छन् ।

उनी भन्छन्, “सरकारले सेवा प्रदान गरे पनि त्यसको प्रयोग गर्न नजानेका कारण केहीको व्यवसाय फस्टाउन सकेको छैन । सरकारले पनि नवप्रवर्तनका लागि समयअनुकूल पर्याप्त कार्यक्रमहरू नल्याएको विषयलाई पनि नकार्न सकिँदैन ।”

सम्बन्धित सामाग्री  

पोखराको ‘ब्राउन डेस्क’: जसले नवीन उद्यम सोच भएकालाई मलजल गर्दै हुर्काउँछ

नयाँ व्यवसाय सुरु गर्दै हुनुहुन्छ, यसरी लिन सकिन्छ सस्तो दरमा ऋण (भिडियो)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *