लाल्टिन बोकेर जन्मथलो फर्किएका डा. प्रकाश

जीविको २०७९ वैशाख २६ गते १५:१२

न्युजिल्याण्ड र अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि र स्नातकोत्तर, नेपालको सामाजिक युवा आन्दोलनमा झण्डै दशक लामो नेतृत्वदायी भूमिकामा सकृय, केही हप्ता अघिसम्म वैदेशिक रोजगारी, युवा विकास र लोकतन्त्र र विधिको शासनका विभिन्न आयामहरूमा अध्ययन अनुसन्धान र नीति विश्लेषणमा व्यस्त डा. प्रकाश भट्टराई मोरंग सुन्दरहरैँचा नगरपालिकमा आजभोली स्वतन्त्र मेयरको उम्मेदवारको रुपमा लाल्टिन चिन्ह लिएर घरदैलोमा व्यस्त छन् ।

हुन त उनलाई कुनै ठुलो दलको, कुनै ठुलै नेताको फेरो समातेर राजनीतिक नियुक्ति खान साथीभाइले सल्लाह नदिएका होइनन् । काठमाडौंमा बसेर कुनै नेताको पछि लागेर लाभको पद लिनुभन्दा आफू जन्मेको, हुर्केको गाउँमै गएर आफ्नो ठाउँको समग्र विकासमा नेतृत्वदायी भूमिका खेल्ने उद्देश्यका साथ उनले सजिलो बाटो छोडेर अप्ठ्यारो बाटो रोजे ।

डा. प्रकाशको स्वतन्त्र उम्मेदवारीलाई केहीले आशा र दलमा आवद्ध केहीले भने आशंकाका साथ पनि हेरिरहेका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीयलाई आफ्नो एजेण्डा बताउँदै डा. प्रकाश भट्टराई

“साढे ३ दशक भयो केही होला भनेर भोट हालेको । व्यवस्थामा परिवर्तन त भए तर आम जनताले अनुभूति गर्ने परिवर्तन भएन” स्थानीय एक विद्यालयका पूर्वप्रधानाध्यापक ५२ वर्षीय लोकेन्द्र काफ्ले सुनाउँछन् ।

राजतन्त्रदेखि, प्रजातन्त्रहुँदैं गणतन्त्रसम्मको यात्रा देखेका भोगेका लोकेन्द्रले यो अवधीमा आफूले जिताएका दल र तिनका जनप्रतिनिधिको मात्रै अवस्था फेरिएको देखे तर आफ्नो नगर फेरिएको भने देखेनन् ।

“भिजन भएका जनप्रतिनिधि नै पाएनौ हामीले अहिलेसम्म । यहाँको आवश्यकता बुझेका अनि जिम्मेवारी बहन गर्न सक्ने दक्षता भएका प्रतिनिधि नपाउँदा सम्भावना हुँदाहुँदै पनि विकास हुन सकिरहेको छैन ।,” लोकेन्द्र भन्छन्, “सुन्दरहरैँचा वास्तवमै सुन्दर छ तर यसलाई विकसित र समृद्ध बनाउन सक्षम नेतृत्वको अभाव सधैँ खट्किरह्यो ।”

यसरी पटक पटक विभिन्न दलका व्यक्तिहरू नेतृत्वमा पुग्दा पनि न्यूनतम अपेक्षा पनि पूरा नभएको महसुस गरेका लोकेन्द्र यसपटक भने आशावादी देखिएका छन् ।

डा. प्रकाशको उम्मेदवारीले उत्साहीत भएका लोकेन्द्र भन्छन्, “जनप्रतिनिधिसँग हुनुपर्ने विज्ञता, योग्यता र अनुभव तीन वटै कुरा डा. प्रकाशसँग छ । उनले जित्नु भनेको कुनै व्यक्ति वा दलको जीत होइन, समग्र सुन्दरहरैँचाको जीत हो ।”

निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीयलाई आफ्नो एजेण्डा बताउँदै डा. प्रकाश भट्टराई

लोकेन्द्र जस्तै सुन्दरहरैँचाकै व्यवसायी श्रवण घिमिरेलाई पनि प्रकाशको उम्मेदवारीले सकारात्मक उर्जा दिएको छ ।

“यसअघिसम्म सुन्दर हरैँचामा दलको सिन्डिकेट चल्थ्यो । जसले गर्दा दलका आसेपासेले मात्र सँधै लाभ उठाइरहे तर समग्र सुन्दरहरैँचाको विकासको मुद्दा भने सँधै ओझेलमा परिरह्यो,” श्रवण भन्छन्, “यसपटक भने बौद्धिक, अनुभवी र दूरदर्शी सोच भएका व्यक्ति मेयरको उम्मेदवारका रुपमा हामीले पाएका छौँ । यो स्थानीय निर्वाचनमा सुन्दरहरैँचा सबल नेतृत्व छान्न चुक्ने छैन ।”

त्यसो त लोकेन्द्र र श्रवण जस्तै सुन्दरहरैँचाका युवाहरू पनि यसपटक सही नेतृत्व चयन गर्नुपर्छ भन्दै प्रकाश सँगसँगै चुनावी प्रचारप्रसारमा होमिएका छन् । प्रकाशले उम्मेदवारी दिएको सुन्दरहरैंचा नगरपालिकामा ७१ हजार ७५६ मतदाता छन् । यो मोरङको दोस्रो ठूलो स्थानीय तह हो । सुन्दरहरैंचामा १७ हजार ५०० नयाँ मतदाताहरू थपिएका छन् । जसमध्ये पहिलोपटक भोट गर्न लागेका युवाहरूको संख्या अत्याधिक रहेको छ । प्रकाशलाई सघाउनेहरूमा पनि पहिलो पटक मतदान गर्न लागेकाहरूको सहभागिता उल्लेख्य छ ।

आफ्ना समर्थकहरुका साथमा निर्वाचन प्रचारप्रसारमा डा. प्रकाश भट्टराई

सुन्दरहरैँचालाई सुशासित, सन्तुलित विकास, समावेशी र सेवक सरकार बनाउने संकल्प सहित निर्वाचनमा होमिएका डा. प्रकाशले आफ्नो चुनावी प्रतिबद्धतामा रोजगारीलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । स्थानीय स्रोतसाधनमा आधारित रोजगारी सृजना गर्दै सामाजिक उद्यमशीलतामा जोड दिने, सरकारी तथा विकाससँग सम्बन्धित रोजगारीमा नगरवासीलाई प्राथमिकता दिने, लघु तथा मझौला उद्यमलाई प्रवर्द्धन गर्ने जस्ता विषयलाई उनले जोड दिएका छन् । 

आफ्नो योजना सुनाउँदै डा. प्रकाश भन्छन्, “वैदेशिक रोजगारीमा जानेहरूका लागि निःशुल्क सीप र सूचना केन्द्रको स्थापना गरी सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनको सुनिश्चित गरिनेछ । उद्यमशीलता र रोजगारी सृजनासँग सम्बन्धित व्यवसायमा कर छुट दिने, रोजगार सूचना बैंकको स्थापना गर्ने, हरेक वर्ष रोजगार मेलाको आयोजना गर्ने योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।”

दलहरूले उम्मेदवार घोषणा गर्नुअघि नै स्पष्ट भिजन बोकेर डा. प्रकाश जनताका घर दैलोमा पुगेका थिए । घरदैलोका दौरानमा उनले सोचेको सुन्दर र विकसित सुन्दरहरैँचाको एजेण्डा बालबालिकादेखि युवा अनि बुढापाकालाई बुझाउँछन् । बहुसंख्यक मतदाताले घोषणापत्र नहेर्ने, उम्मेदवारको योग्यता र दक्षता नहेर्ने, मुद्दामा कुरा नगर्ने दल र तिनका चुनाव चिह्नमात्रै हेर्ने गरेका कारण यसको अनुचित फाइदा राजनीतिक दल र तिनका उम्मेदवारले उठाउने गरेकोमा अब भने त्यस्तो अवस्था नदोहोरिनेमा उनी विश्वस्त छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा स्थानीयसँग अन्तरक्रिया गर्दै डा. प्रकाश भट्टराई

सुन्दरहरैँचा नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिनुको कारण बताउँदै डा. प्रकाश भन्छन्, “सीमित दल र तिनका नेताहरू आफ्नो जिम्मेवारीबाट पन्छिदा नागरिकका आवश्यकताहरू प्राथमिकतामा परेनन् । नेताहरूकै निहित स्वार्थपूर्ति गर्ने गलत प्रवृत्तिका कारण स्थानीय तहमा गर्न सकिने न्यूनतम काम पनि हुन सकेनन् । यो अवस्थाको अन्त्य गर्न सङ्घीयता, लोकतन्त्र र नेपालको विकास आयामलाई राम्रोसँग बुझेको व्यक्ति स्थानीय सरकारको नेतृत्वमा आउनु अबको अपरिहार्य आवश्यकता हो भन्ने महसुस गरेर मैले उम्मेदवारी दिएको हो ।”

एक कक्षादेखि एसएलसीसम्म सुन्दरहरैंचाकै साजीलाल उच्च माविमा अध्ययन गरेका डा. प्रकाशले त्रिभुवन विश्वविद्यालयबाट जनसङ्ख्या अध्ययन विषयमा स्नातकोत्तर गरे । त्यसपश्चात्, अमेरिकाको युनिभर्सिटी अफ नोट्रेडबाट २००८ मा स्नातकोत्तर सकेका प्रकाश विद्यावारिधि गर्न सन् २०११ मा न्युजिल्यान्ड लागे । न्युजिल्याण्डको युनिभर्सिटी अफ ओट्यागोमा शान्ति प्रक्रियामा तेस्रो पक्षको सहभागिताको विषयमा उनले पिएचडी गरे।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूमा भट्टराईले व्यवस्थापक, परामर्शदाता, निर्देशक जस्ता जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् भने नेपाल लगायत अमेरिका, स्विडेन, जर्मनी, हङकङ, फिलिपिन्स, श्रीलंका लगायतका देशहरूमा प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यमा पनि आफ्नो दक्षता देखाइसकेका छन् । उनले स्विडेनको उप्सलामा भिजिटिङ स्कलरको र हङकङ विश्वविद्यालयमा एसिया ग्लोबल फेलोको रूपमा पनि काम गरिसकेका छन् ।

आफूले गर्न सक्ने कुरालाई मात्र घोषणा पत्रमा उल्लेख गरेको डा. प्रकाश बताउँछन् । आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, “नेपालका ५० भन्दाबढी जिल्लाहरूको विकास प्रक्रिया तथा स्थानीय सरकारका गतिविधिहरूको प्रभावकारिताका सम्बन्धमा मैले गहिरो अध्ययन गरेको छु । स्थानीय तहले कसरी प्रभावकारी रुपमा काम गर्न सक्छ र विकासको गति समात्न सक्छ भन्ने विषयमा म जानकार छु ।”

राजनीतिमा इमान्दारिता, विचारमा प्रष्टता र दिगो विकासको भिजन सहित लाल्टिन बोकेर गाउँ फर्केका प्रकाश यसपटकको स्थानीय निर्वाचनमा नगरवासीको साथ पाउनेमा विश्वस्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *