मुनाको उद्यम यात्रा : भान्साबाट सुरु भयो, अहिले बजारमा ‘ब्राण्ड’ बन्दैछ
मुनाज् पिकल (Muna’s pickle) आफ्नै नाम छापिएको स्टिकर सहितको बट्टा जब मुनाको हातमा पर्यो, उनको खुसीको सीमा रहेन । रहोस् पनि कसरी ? वर्षौँ देखिको आफ्नै व्यवसाय गर्ने उनको सपना बल्ल पूरा भयो । जब उनको नामको बोतल हातमा पर्यो, सपना हो कि विपना छुट्याउन सकिनन् । उनी एकछिन बोतल हेरेर टोलाएर बसिन । “खुसीको सीमा थिएन, मेरो नाम पनि बोटलमा छापियो, म पनि व्यवसायी हुने भएँ जस्तो लाग्यो,” उनी खुसी हुँदै सम्झिन्छिन् ।
काठमाडौं किर्तिपुर ५ पाँगा कि मुना महर्जन (३२) लाई सानैबाट उद्यमी बन्ने रहर थियो । यो उनको चाहना गत वर्षको लकडाउनबाट पूरा भयो । लकडाउनको बेला घरभित्र नै बसेर समय बिताउन गार्हो भएको अवस्थामा मुनाले आफ्नो भान्सालाई समय बिताउने साथीको रूपमा लिइन् । सानैदेखि घरमा आमाले थरिथरिका अचार बनाएको देखेकी मुनालाई बच्चामा नै चकलेट भन्दा अचार मन पर्थ्यो । आमासँगै उनी पनि अचार बनाउन थालिहाल्थिन् । स्कुलबाट फर्किएपछि आमासँगै बसेर अचारमा लाग्ने मसला कुट्ने, आँप, मुला, गाँजर काटेर आमालाई सहयोग गर्थिन् ।
“आमासँग बस्दा बस्दै मलाई अचार बनाउने तरिका आइसकेको थियो, कत्ति अचार त म आफैँ बनाउने गर्थे,” मुना सुनाउँछिन्। आफूले बनाएको अचार साथीभाइ इष्ट मित्रहरूलाई चखाउने र कोसेलीको रूपमा मुनाले दिने गर्थिन् । उनले बनाएको अचार खानेले पनि अचारलाई खुबै रुचाउँथे ।
“कोसेली लैजानेले पछि फेरी पैसा तिरेरै खाने भनेर माग्ने गर्थे, तर मेरो व्यवसाय नभएकाले बेच्ने काम भने मैले गर्थिन्,” उनी भन्छिन् । यसरी आफूले जानेको सीपलाई मुनाले लकडाउनमा प्रयोग गरिन । लकडाउनको समयमा उनी आफूसँग भएका सामानबाट अचार बनाएर वरपरका छरछिमेकीलाई दिन्थिन्, सबैले उनको अचार खुबै मन पराउँथे । अचार बनाएर बाँड्दा बाँड्दै उनको अचार धेरैले खाए । सबैलाई अचार औधी मन पर्यो ।
सबैलाई मुनाको अचार नै चाहिन थाल्यो । यसरी उनको अचार खाने पारखीको सङ्ख्या बढ्ने देखेपछि छिमेकीहरूले उनलाई व्यवसायिक रुपमा नै अचार बनाउन प्रोत्साहित गर्न थाले । उनलाई पनि व्यवसाय चल्छ जस्तो लाग्न थाल्यो ।
वरपरका किराना पसलहरूमा कुरा गरेपछि उनीहरू पनि मुनाको अचार बेच्न तयार भए । स्थानीय पसलमा उनले बनाएको अचार धेरै बिक्री हुन थाल्यो, यसरी अचारको माग बढ्न थाले पछि मुनाले यसलाई व्यवसायनै बनाएर लाने बिचार गरिन र वडामा व्यवसाय दर्ता गर्नको लागि गइन् ।
वडाका कर्मचारीहरू मुनाको योजना देखेर खुसी भए र उनलाई थप सीपको लागि खाद्य विभागले दिने तालिमका लागि समन्वय गरिदिए । प्लस टु सम्मको अध्ययन गरेकी मुनाले तालिम लिएपछि उनको अचार बनाउने कला झन् निखारियो । तेलको बचत कसरी गर्ने, अचारमा विभिन्न मरमसलाको मात्रा कति राख्ने भन्ने ज्ञान उनले पाइन् ।
मुनाले बनाएको अचार बजारमा पाइने अरू अचारहरू भन्दा फरक छन् । उनको अचारमा घरमै बनाएको झैँ स्वाद भेटिन्छ । मुनाको अचार खाने नियमित ग्राहक पाँगाका सुजन श्रेष्ठ भन्छन् “उहाँको अचार राखेर खाना खाँदा सधैँको भन्दा धेरै खाइन्छ मुखमै बसेको छ उहाँको अचार ।”
विशेषगरि उनले चिकेन, बफ र भेज मिक्स अचार, मूला, आँप, लप्सी, मेथी र डल्ले खुर्सानीको आचार बनाउँछिन् । यिमध्ये मिक्स भेज अचार र बफ अचारको माग बढी छ । अचार प्याकिङ गरेको ६ महिनासम्म खान मिल्ने हुन्छ।
मुनाले ग्राहक अर्डर अनुसार अचारको स्वादमा हेरफेर गरेर पनि बनाइदिन्छन। नुनिलो पिरो लगायत स्वादमा केही फरक चाहिए ग्राहकले सोझै सम्पर्क गरेर अर्डर गरेमा सोही अनुसार उनी अचार बनाइदिने गर्छिन् ।
उनले १ वर्षअगाडि १ लाख रुपैयाँ लगानीमा सुरुवात गरेको मुनाज् पिकलले लगानी उठाइसक्यो । “लगानी १ लाख जति भयो, अहिले घरभित्रका खर्च यसैबाट हुँदै आएको छ,” मुना भन्छिन् ।
मुनाको श्रीमान श्रीमती र दुईजना छोरा गरि चार जना जनाको परिवार छ । श्रीमान् विदेश पुगेर भर्खरै नेपाल फर्किएका छन् । अहिले उनी पनि मुनाको काममा सहयोग गर्छन् । बजारमा अचार पुर्याउने मार्केटिङ गर्ने काम मुनाका श्रीमानले गर्छन् । यसरी श्रीमान् श्रीमती नै अचार व्यवसायको सम्भावना देखेर उद्यममा लागेपनि समयमा समयमा अचार कुहिने, तेल तथा मरमसलाको भाउ बढ्ने जस्ता चुनौती भने आइरहन्छन् ।
“सामानको मूल्यमा उतारचढावले कोही बेला लगानी भन्दा कम मूल्यमा पनि अचार बेच्नुपर्छ, अचार बिग्रने र मूल्य उतारचढावको समस्या यो व्यवसायमा आइरहन्छ,” मुना भन्छिन् ।
हुनतः पहिले पहिले उनलाई विदेश जाने रहर लाग्थ्यो । तर अहिले आफ्नै व्यवसाय सुरुवात गरेकी छिन् ।अहिले आफ्नै व्यवसाय फस्टाउँदै गएको छ । साथीभाइ इष्टमित्रको साथ सहयोग पाएकी छिन् । त्यसैले उनी अहिले यही व्यवसायलाई अगाडि बढाउने सोच बनाएकी छिन् ।
“अब अचारको बजार बिस्तार गर्छु । अझ धेरै अचारका प्रकारहरू थप्छु स्थानीय बजार हुँदै अन्तराष्ट्रिय बजारसम्म पुग्छु भन्ने सोच बढेको छ,” मुना बताउँछिन् ।