स्थानीय तह निर्वाचन, २०७९ को पर्यवेक्षणका लागि निवेदन आह्वान

जीविको २०७८ चैत १३ गते १५:५५

बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन-२०७९ का लागि निर्वाचन आयोग, नेपालले राष्ट्रिय स्तरमा संगठन भएका र निर्वाचन, लोकतन्त्र, सुशासन, मतदाता शिक्षा लगायतका क्षेत्रमा काम गरिरहेका संस्थासँग निर्वाचन पर्यवेक्षणका लागि निवेदन आह्वान गरेको छ ।

आयोगसँग कार्यप्रकृति मिल्ने संस्थाले observer.election.gov.np मा रहेको राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षण अनुमति दिने प्रक्रिया बमोजिम निवेदन सकिने सूचनामा उल्लेख गरिएको छ । आवेदन दिने समयावधि आगामी चैत्र २८ गतेसम्म तोकिएको छ । 

हेर्नुहोस् सूचना

निवेदन दिँदा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, विधानको प्रतिलिपि, नवीकरणको प्रतिलिपि, संस्थाका कार्य समितिका पदाधिकारीहरूको नामावली, राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण, पर्यवेक्षण सम्बन्धमा संस्थाले तयार पारेको ब्रोसर, पुस्तिका, निर्देशिका वा अन्य कुनै प्रकाशन भए सो समेत पहिले निर्वाचन पर्यवेक्षण गरेको भए आयोगमा निर्वाचन पर्यवेक्षण प्रतिवेदन बुझाएको प्रमाण संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले हरेक निर्वाचनमा यसप्रकारका राष्ट्रियस्तरका संस्थाहरूबाट पनि पर्यवेक्षण गराउँदै आएको र सोहीअनुरूप आसन्न स्थानीय तह निर्वाचनका लागि निवेदन आव्हान गरेको आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । 

“यो निर्वाचनको अभ्यास नै हो । आयोगको कामलाई सहयोग पनि हुन्छ र पर्यवेक्षण गर्ने संस्थालाई अवसर पनि ।,” प्रवक्ता सूर्यप्रसाद बताउँछन् ।

पर्यवेक्षण गर्ने प्रतिनिधिलाई परिचय पत्र र आवश्यक कागजात आयोगले दिने छ भने त्यसबाहेक अन्य कुनै आर्थिक सेवा सुविधाको व्यवस्था नभएको आयोगले जनाएको छ । 

निर्वाचन सम्बन्धी कसुर गरी वा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरी पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई आयोगले निर्वाचन पर्यवेक्षण अनुमति नदिने सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *