व्यवसायिक मौरीपालन समृद्धिको आधार बन्न सक्छ : कृषि वैज्ञानिक डा. घनश्याम भण्डारी काठमाडौं बुढानिलकण्ठमा व्यवसायिक मौरीपालन गरिरहेकी रेखा शर्मा चौधरी फोटो: रेखा शर्मा चौधरी/फेसबुक

तीनै तहका सरकारले यसलाई प्राथमिकता दिएमा युवा पलायन रोक्न सकिन्छ ।

जीविको २०७८ माघ २४ गते २०:४९

वर्षौं पहिलेदेखि नेपालमा मौरीपालन हुँदै आएको छ । विगतका समयमा मौरीलाई काठको बाकस, खोपा, मुढा आदिमा राखेर पालन गर्ने गरिन्थ्यो। यसको व्यवसायिक विकास हुँदै समयक्रममा आधुनिक तरिकाबाट निकाल्न मिल्ने चौकोस फ्रेम घारको निर्माण गरियो । अहिले आधुनिक तरिकाबाट मौरी पालन गरेर धेरै किसानहरूले यो पेशा अपनाएका छन् ।

यसै सन्दर्भमा, आधुनिक तरिकाले व्यवसायिक रुपमा मौरीपालन कसरी गर्ने, कसरी अधिक लाभ लिने भन्ने विषयमा केन्द्रित रहेर कृषि अनुसन्धान परिषद् नार्कका कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीसँग गरिएको जीविको संवाद

व्यवसायिक रुपमा मौरीपालन कसरी गर्ने ?

परम्परागत मुढेघार वा खोपेघार सुधार्ने र चलायमान चौकोस राख्ने अथवा आधुनिक घारमा पनि मौरीपालन गर्न सकिन्छ । आधुनिक तरिकाबाट मौरीपालन गर्दा भने सबै घार एकै साइजको राख्नुपर्छ । घार राख्दा यसलाई अगाडिपट्टि ढल्काएर २५–३० सेन्टिमिटर उचाइको स्ट्याण्डमाथि राख्ने तथा स्ट्याण्डको चारवटै खुट्टामा पानी भरिएको कचौरा राख्नुपर्छ । मौरीको प्रवेशद्वार अगाडि खुला ठाउँ छाड्नुपर्छ जसले गर्दा रस बटुलेर आउँदा मौरीलाई घारमा छिर्न सहज होस् । दुईवटा घारको बीचमा कम्तीमा पनि १ मिटरको दूरी राख्नुपर्छ । गर्मीयाममा चर्को घामबाट बचाउन छहारीको प्रबन्ध गर्ने, प्रवेशद्वार ठूलो पार्ने, भेन्टिलेसनको व्यवस्था गर्ने, मौरीको लागि घार बाहिरको भाँडोमा नुनिलो पानी राखिदिने गर्नुपर्छ । जाडो याममा घारको वरिपरिका प्वालहरू थुनिदिने, प्रवेशद्वार उत्तर दिशातिर नराख्ने, बोरा वा पत्रिकाले घारका फ्रेमलाई छोपिदिने, खानाको अभाव भएमा चिनीको चास्नी दिने, कमजोर गोलालाई आपसमा संयोजन गरिदिने गरे मौरीपालन फस्टाउँछ । गृष्मा वा वर्षायाममा मौरीको रोग र शत्रु बढी देखापर्ने हुँदा त्यसको नियन्त्रणमा बढी ध्यान दिनुपर्दछ । सो समयमा आहाराको अभाव बढी हुने हुँदा कृत्रिम आहाराको व्यवस्था गर्नु पर्दछ । मौरीले गृह त्याग गर्ने सम्भावना बढी भएकोले प्रवेशद्वारमा रानु ढोका प्रयोग गर्ने, रोगी गोलाहरूमाथि तुरुन्तै उपचार गर्ने गर्नुपर्छ।

रोगी गोलाको पहिचान कसरी गर्ने ?

चाकामा छाउराहरू कम र छरिएर रहेका छन् भने त्यो घारको गोलामा रोग छ भनेर बुझ्नुपर्छ । मौरीका छाउराको रङ धमिलो खैरो देखिनु भनेको मौरी रोगायो भनेर बुझ्ने प्रमुख संकेत हो । रोगग्रस्त चाकाबाट नराम्रो गन्ध आउँछ । रोग लागेको र टालेका छाउराको बिर्को केही तल धसिएको र सानो प्वाल हुन्छ र आसनवोर्ड भित्र मरेका छाउराहरू प्रशस्त देखिन्छन् । त्यस्तै रोगी मौरीहरू घार बाहिर घस्रेर हिँड्छन् । उड्न नसक्नु , घारभित्र जताततै मौरीले विष्टाएको देखिन्छ ।

नेपालमा कस्ता प्रकारका मौरीबाट मह उत्पादन गर्न सकिन्छ ?

अहिले नेपालमा विशेषगरी ५ प्रकारका मौरीको मह पाइए पनि व्यवसायिक रुपमा भने एसियाली घरपालुवा मौरी र युरोपेली मौरी पालन गरिन्छ । एसियाली घरपालुवा मौरी नेपालको रैथाने पुरानो मौरी हो, यो समुन्द्र सतहदेखि ३४ सय मिटरको उचाइसम्म पाइन्छ । त्यस्तै यसको एउटा गोलाबाट १० देखि २० केजीसम्म मह उत्पादन गर्न सकिन्छ । त्यस्तै नेपालमा युरोपियन जातको मौरीको पनि व्यवसायिक पालन गरिदै आएको छ । यस किसिमको मौरी समुन्द्र सतहदेखि १५ सय मिटर उचाइसम्म पालन गर्न सकिन्छ । यसको एउटा गोलाबाट ४० देखि ६० केजीसम्म मह उत्पादन गर्न सकिन्छ । यसबाहेक नेपालमा प्राचीन समयदेखि पाइने भीरमौरी, खागोमौरी, कठ्यौरी मौरीको पनि मह उत्पादन गर्ने गरिन्छ तर यसलाई घर पालुवा मौरीको रुपमा भने पाल्न मिल्दैन ।

कृषि अनुसन्धान परिषद् नार्कका कृषि वैज्ञानिक डा. घनश्याम भण्डारी

महबाट हुने फाइदाहरू के-के हुन् ?

मौरीपालन व्यवसायबाट आर्थिक आयआर्जन हुनुका साथै मौरी जस्तै मेहनत गर्ने पाठ सिकाउँछ। मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने हुदाँ मह उत्पादन गर्न सकिन्छ। महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन्।

 

नेपालमा मौरीपालन व्यवसायको अवस्था कस्तो छ ?

नेपालमा वार्षिक एक घारबाट ४० किलोसम्म मह उत्पादन हुन्छ भने सोही अनुपातमा एक सय घार मौरीबाट औसत १२ देखि १५ लाख रुपैयाँ आम्दानी गर्न सकिन्छ । अर्को महत्वपूर्ण कुरा, मह ५० वर्षसम्म पनि बिग्रिदैन । पुरानो महमा औषधीय गुण बढी हुने मानिन्छ। मह प्रशोधनमा भने राम्रोसँग ध्यान पुगेन भने लामो समयसम्म राख्दा बिग्रन सक्छ। अहिलेको अव्यवस्थित चरनबाटै पनि वर्षेनी २० हजार टन मह उत्पादन गर्न सकिने र करिब ५ अर्ब आर्जन गर्न सकिने विज्ञहरू बताउँछन्। ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुग्दा नेपाली महले वार्षिक खर्बौं आर्जन गर्न सक्छ। चरन विकास गर्दा नेपालले मौरीबाटै वार्षिक १० लाख टन मह उत्पादन गर्न सकिन्छ । महको अन्तर्राष्ट्रिय बजार जति पनि छ ।

शर्त एउटै छ “पेस्टिसाइडमुक्त मह उत्पादन” । श्रमको पर्याय मौरीको कुरा गर्दा नेपालीहरूको कामप्रतिको लगाव र मेहनतलाई पनि सम्झनुपर्छ । अहिले २० लाखभन्दा बढी नेपाली युवा विदेशमा श्रम बेचिरहेका छन् । सरकारले यो पक्षलाई हेरेर पनि मौरीपालन सम्बन्धी व्यवहारिक नीति बनाउनुपर्ने देखिन्छ। तीन तहको सरकार भइसकेपछि संघीय, प्रदेश र स्थानीय सरकारले मौरीपालन र मह उत्पादन सम्बन्धी बृहत कार्यक्रमहरू र तालिम सञ्चालन गरिरहेको छ । मौरीपालन र मह उत्पादन कार्यक्रम प्रर्वद्धन गर्न किसानलाई अनुदान पनि दिंदै आइरहेको छ। कृषि ज्ञान केन्द्रहरूले यसको उत्पादन वृद्धि गर्न र युवालाई स्वदेशमा केही गर्नुपर्छ भनेर प्रोत्साहित गर्न युवा लक्षित कार्यक्रम जस्तै च्याउ खेती, मह उत्पादन कार्यक्रममा अनुदानको व्यवस्था गरेको छ ।

नेपालमा मौरीलाई चरनको लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा ठाउँठाउँमा चुङ्गिकर तिर्नुपर्छ । सामुदायिक वनहरूमा मौरी चराउँदा किसानले रोयल्टी तिर्नुपर्छ । नेपालमा सेरेना र मेलिफेरा जातका मौरी धेरै पुरानो भइसके । यसको विकल्पमा धेरै मह दिने जातको मौरी विकास हुन सकेको छैन। यो काम कृषकस्तरबाट हुन सक्दैन। मौरीको एउटा नयाँ रानो किन्दा २ लाख ५० हजार रुपैयाँसम्म पर्छ । यस विषयमा निजी तथा सरकारी कुनै निकायबाट पनि सोच नबनेको अवस्था छ । एक घार मौरीबाट वर्षमा १२० केजी भन्दा बढी मह उत्पादन गर्न सकिन्छ । यसको लागि एउटा घारमा २० फ्रेम (एक फ्रेममा १५०० देखि २५०० सम्म) मौरी हुनुपर्छ। मौरीको लागि भदौदेखि बैशाखसम्म राम्रै चरनको सुविधा भए पनि जेठ, असार र साउन बेमौसम हुन्छ । त्यसबेला कृत्रिम खानेकुराको व्यवस्था गर्नुपर्ने हुन्छ । यसबेला मौरीलाई बचाइराख्नु नै ठूलो उपलब्धि हो।

नेपालमा लगानी नडुब्ने क्षेत्र मौरीपालन व्यवसाय हो तर नीतिगत अस्पष्टताका कारण ठूलो लगानी हुन सकेको छैन। यसमा लागेका किसान पनि नीतिगत अस्पष्टता र अन्य समस्यामा परेका छन् । किसानले स–सानो लगानीमा थोरैथोरै मह उत्पादन गरे पनि ठूलो लगानी गर्न किसान दुविधामा छन् ।

तीन तहका सरकारले नै मौरी पालन र मह उत्पादनलाई महत्वपूर्ण कार्यक्रमका रुपमा अगाडि बढाउनु आवश्यक छ । त्यसकारण, आधुनिक प्रविधि सहितको मह संकलनमा व्यक्तिगत वा संस्थागत लगानीबाट नेपाली मह उत्पादक कृषकलाई अन्तर्राष्ट्रिय बजारसँग जोडेर मुलुकमा समृद्धि भित्रयाउने राष्ट्रिय नीति आवश्यक छ ।

मौरीपालक किसानका लागि सरकारले कस्ता किसिमका कार्यक्रम ल्याएको छ ?

मौरीपालन गर्ने किसानहरूका लागि सरकारले मौरी प्रवर्दक नीति २०७३ ल्याएको छ । जसमा मौरीपालक किसानहरूलाई सहुलियतपूर्ण कर्जा सुविधा प्रदान गर्ने, घारको बीमा गरिदिने, महको बजारीकरणका लागि सहजीकरण गर्ने जस्ता कार्यक्रम ल्याएको छ । सरकारले यस नीति मार्फत ल्याएका कार्यक्रमहरूका लागि थुप्रै रकम बिनियोजन गरेपनि वास्तविक मौरी किसानको हातसम्म यस किसिमका कार्यक्रमहरू पुगेको छैन । यस नीति बाहेक पनि सरकारका सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट मौरी किसानहरूले लाभ लिन सक्छन् । सरकारको कृषि परियोजना कर्जा, साथै स्थानीय तहहरूले किसानहरूका लागि भनेर छुट्याउने कर्जा कार्यक्रमबाट पनि मौरी किसानहरूले लाभ लिन सक्छन् । कृषि मन्त्रालय अन्तर्गत रहेकै राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले पनि मौरी किसानहरूलाई घार सहित मौरीको गोला दिने गर्दछ । यसबाहेक स्थानीय स्तरमा रहेका कृषि ज्ञान केन्द्रहरूले व्यवासायिक मौरी पालनका लागि कम्तीमा ५०% अनुदान दिने व्यवस्था गरेको छ ।

मौरीपालनका समस्या र चुनौतीहरु के-कस्ता छन् ?

मौरीपालन व्यवसायको मुख्य समस्या भनेको चरनको अभाव हो । पर्याप्त चरनको व्यवस्था छैन जसले गर्दा मौरीले दिने जति उत्पादन नदिएर कृषकले भनेजति आम्दानी गर्न सकेका छैनन् । खेतीपातीमा विषादीको अत्याधिक प्रयोगको कारणले गर्दा पनि मौरीपालनमा थप चुनौती थपिएको छ । कृषकलाई मौरीपालनबारे प्राविधिक ज्ञानको अभाव हुनु पनि मौरीपालनको अर्को चुनौती रहेको छ । यसका साथै वाह्य देशको मह नेपालमा बढी हावी हुँदा कृषकले थप चुनौती खेप्नुपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *