स्वदेशी उद्योग बन्द गराई वार्षिक १० अर्बको टायर किन्दै सरकार
त्यो दिन मझुवामा मेला लागेको थियो । गाउँभरिका सबै जम्मा भएका थिए । बाहिरबाट आउने पनि धेरै थिए । गाउँमा बेग्लै रौनक थियो । पञ्चेबाजाको टोली र पाहुना स्वागतमा पञ्चकन्या तयार अवस्थामा थिए । पाहुना थिए तत्कालीन राजा बिरेन्द्र ।
स्वदेशमा नै स्थापना गरिएको नेपालकै ठूलो रबर उद्योग उद्घाटनको रिबन काट्न बिरेन्द्र पनि मर्स्याङ्दी किनारमा पुगेका थिए । उद्योग उद्घाटन गर्दै उनले भनेका थिए, “अब नेपालले मुहार फेर्ने छ, आर्थिक समृद्धिको यात्रा मर्स्याङ्दी र दरौँदी किनारबाट सुरु भयो ।,”
बिरेन्द्रको भाषण सकिएपछिको लामो तालीको गड्गडाहडले दरौँदी र मर्स्याङ्दीको आवाज बिलिन भएको थियो ।
बीस बर्से कृष्णप्रसाद पोखरेल पनि कार्यक्रमका सहभागी थिए । उनलाई यो सबै सपना नै पो हो कि जस्तो लागेको थियो । “गाँउमा बिरलै हुने जमघटले हो कि नयाँ खुलेको कारखानाले हो, एक तमासको खुसी थियो । उद्योग उद्घाटनमा खुसीले सबैभन्दा धेरै नाच्ने म नै थिएँ जस्तो लाग्छ । गाँउमा उद्योग खुल्यो अनि मैले जागिर पनि पाएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो,” उनी सुनाउँछन् ।
कृष्णप्रसादले घरजम गरे । चार बालबच्चा हुर्काए । विगत २० वर्ष उनको जीवन एक सरल रेखामा चल्यो । बिहान कारखाना जाने र बेलुकी फर्कने । एकदिन उनको जीवनमा नसोचेको घुम्ती आयो । कारखाना बन्द भयो !
पचास वर्ष निवृत्त हुने उमेर पनि हैन तर जागिर छैन । अन्य सीप पनि छैन । जीवनको उर्बर उमेर रबर उद्योगमै मजदुरी गरेका उनी जस्तै २ सय ४१ परिवार अचानक काम र कमाई विहीन भए ।
२०७१ सालबाट कारखाना पूर्ण रुपमा बन्द भयो । कृष्णप्रसाद सामान्य ज्याला मजदुरी गरेर जीविको धान्न थाले । उनलाई रबर उद्योग पुनः खुल्छ अनि १० बजे कारखानाको साइरन कानमा बज्छ भन्ने लागिरह्यो । आशै–आशमा ८ वर्ष बित्यो ।
कामको खोजी गर्दै कृष्णप्रसाद काठमाडौँ आएर ज्यालामजदुरी गर्न थालेको बताउँछन् । “जन्मेको ठाउँ जान कसलाई मन पर्दैन ? मेरो त मनै मर्यो । मजदुरी नगरी परिवारले खान पाउँदैन । कामको लागि विदेश जान सकिन । जसोतसो मजदुरी गरेरै अहिले यहीँ परिवार पालेको छु,” कृष्णप्रसाद सुनाउँछन् ।
केही वर्ष अघिसम्म आबुखैरेनीका ध्रुव खड्का बिहानै उठेर हतारहतार कारखाना जान तयार हुन्थे । ध्रुव रबर उद्योगमा अधिकृत पदमा काम गर्थे । उनी स्थापनाकालदेखि नै उद्योगमा कार्यरत कर्मचारी हुन् । कारखाना जाने बानी परेका ध्रुवलाई कारखाना बन्द भएको भनेर विश्वास गर्न गाह्रो भएको थियो । “कारखाना बन्द भयो अनि मेरो गरिखाने बाटो नै सकियो । कहिलेकाहीँ बन्द भएको कारखाना पुग्छु, गेटमा लागेको ताला देख्दा पुराना दिन झल्झली याद आउँछ,” ध्रुव भन्छन् ।
सरकारी स्वामित्वमा रहेको यो उद्योग अहिले इतिहास भइसकेको छ । गोरखकाली रबर उद्योग बन्द भएपछि २ सय ४१ कर्मचारी र तिनका परिवारहरू कहाँ के गर्दैछन् भन्ने कुरा सरकारसँग कुनै अभिलेख छैन ।
गोरखा नगरपालिका–१३ मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगले २०४९ मंसिर २९ मा नेपालमै पहिलोपटक टायरको व्यावसायिक उत्पादन सुरु गरेको थियो । नेपालमा मात्र होइन भारत, बंगलादेश, श्रीलंकासम्म गोरखकाली टायर निर्यात हुने गर्थ्यो ।
२०४८ सालमा गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा निर्माण भएको उद्योगले उत्पादन भने २०४९ बाट सुरु भयो । यसको वार्षिक उत्पादन क्षमता ८८ हजार थान ट्रकको टायर र अन्य प्रकारका ४० हजार टायर थियो । त्यसमा ट्रकका लागि १२ प्रकारका, जीप/भ्यानका लागि ५ प्रकारका र कारहरूको लागि ६ प्रकारका टायर थिए ।
गोरखकाली रबर उद्योगमा उत्पादन हुने टायरले नेपाली माग हुने टायरको ५० प्रतिशत भन्दा बढी बजार ओगटेको थियो । गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न भनेर उच्चस्तरीय कर्मचारीहरूले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार गोरखकाली रबर उद्योगले वार्षिक आम्दानी २ सय १८ करोड रुपैयाँभन्दा बढी वार्षिक आम्दानी गरेको तथ्यांक उल्लेख गरिएको छ । जसअनुसार वार्षिक खर्च १ सय ६८ करोड र कुल नाफा ५० करोडभन्दा बढी रहेको उल्लेख छ ।
उद्योगको विगतको प्रगति विवरणअनुसार एक वर्षमा ५६ दिन आधा क्षमतामा मात्र टायर उत्पादन गर्दा पनि नाफामा गएको इतिहास हेर्दा यसलाई एक सफल उद्योगको रुपमा लिन सकिन्छ ।
ध्रुव भन्छन्, “आधा क्षमतामै टायर उत्पादन गर्दा पनि नाफामा रहेको कारखाना यसरी ध्वस्त हुनुमा सञ्चालक समिति र सरकारको लाचारीपन दोषी छन् ।”
गोरखकालीका टायर बिक्रीका लागि नारायणगढ, पोखरा, विराटनगर, काँकडभिट्टा, इटहरी, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज लगायत प्रमुख सहरमा बिक्री डिपोहरू थिए । उद्योगका चौथो तहका कर्मचारी डिपो प्रमुख तोकिन्थे ।
गोरखकाली रबर उद्योगमा कर्मचारी ९७ जना र १ सय ४५ जना मजदुर कार्यरत थिए । कर्मचारीको रुपमा गोरखकाली रबर उद्योगमा काम गर्न छिरेका केही कर्मचारीलाई सरकारले अनुदान दिएर अवकाश दियो तर मजदुरहरू भने उद्योग बन्द भएको ८ वर्षसम्म पनि आफ्नो तलबको प्रतीक्षामा नै छन् ।
किन बन्द गर्नुपर्यो उद्योग ?
गोरखकाली रबर उद्योग बन्द गर्नुपर्ने प्रमुख कारण उद्योगमा मौलाएको चरम राजनीतिनै हो । उद्योगमा राजनीति भने देशमा गणतन्त्र आएपछि मौलायो । रबर उद्योगभित्र नै कांग्रेस, माओवादी , एमाले लगायतका सबै पार्टीका मजदुर युनियन खुल्न थाले । युनियनबीच झगडा र आपसी बेमेलले उद्योगभित्र पटक पटक आन्दोलन अनि तालाबन्दी भयो । एमाले सरकार हुँदा कांग्रेसका कर्मचारीलाई दबाब दिने कांग्रेसको सरकारको समयमा एमालेका कर्मचारीलाई दबाब दिने प्रवृत्ति मौलायो । त्यसपश्चात उद्योग राजनीतिक अखडा बन्न थाल्यो ।
अर्कोतर्फ सञ्चालक समितिको व्यवस्थापन फितलो बन्दै गयो, उद्योगले गर्ने वार्षिक नाफा त्यहाँका कर्मचारीलाई भ्रष्टाचार गर्नलाई नै पुगेन र उद्योग बन्द गर्नुपर्ने भयो । नेपालमा सवारी साधनको आयात बढिरहेको समयमा टायरको मागसमेत उच्च थियो तर स्वदेशी उद्योग धराशायी बनाएर आयातित उद्योग प्रबर्द्धन गर्ने नियतका साथ यो उद्योग बन्द गराइयो । कच्चा पदार्थको आयात गर्दा व्यवस्थापनले वास्तविक मूल्य भन्दा बढी मूल्य देखाएर कच्चा पदार्थ आयात गर्ने प्रवृत्तिले ठूलो पूँजी कच्चा पदार्थ खरिदको रकम सञ्चालक समितिको गोजीमा पुग्न थाल्यो । जसका कारण चालु पुँजीको अभाव भयो । अर्कोतर्फ उद्योगको नाफालाई दक्ष कर्मचारी उत्पादन गर्न खर्च नै गरिएन । सेयर होल्डर रहेको प्राइभेट कम्पनी (साल्ट ट्रेडिङ) को हस्तक्षेप पनि सरकारी उद्योगमा उत्तिकै पर्यो । माओवादी युद्ध ताका करोडौँ रकम चन्दाका नाममा दिइयो ।
२०६२/०६३ तिर केमिकल इन्जिनियर विनोदकुमार तिवारी उद्योगको महाप्रबन्धक भएको समयमा उद्योग डेढ करोड भन्दा बढी नाफामा थियो । त्यसपछि राजनीतिक नियुक्तिबाट महाप्रबन्धक फेर्न थालियो फलस्वरूप कम्पनी नाफामा जानै सकेन ।
पछि बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु र मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पूर्ण रुपमा बन्द हुन पुगेको छ । टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरू भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो । कच्चा पदार्थको आयात गर्ने पूँजी नै सकिएपछि अन्ततः २०७१ चैतदेखि उद्योग पूर्णरुपमा बन्द नै गर्नु पर्यो ।
स्वदेशी कारखाना बन्द गरेर वार्षिक १० अर्ब बढीको टायर आयात
नेपाल सरकार अन्तर्गत उद्योग मन्त्रालयले औद्योगिक नीति २०४९ ले औद्योगिक क्षेत्रको उन्नतिमा अपेक्षाकृत प्रगति नगरेको भन्दै औद्योगिक नीति २०६७ जारी गर्यो तर यो नीति पारित भएको ४ वर्ष नपुग्दै गोरखकाली रबर उद्योग बन्द हुन पुग्यो । यसरी नेपालको कमजोर औद्योगिक नीति र सरकारको लाचार प्रवृत्तिले गोरखकाली जस्ता थुप्रै उद्योगहरू बन्द भएका छन् । कतिले आफ्नो रोजगारी गुमाएका छन् थाहा छैन । भन्सार विभागले निकालेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को बैशाख महिनासम्म ७ अर्ब ९९ करोडको टायर आयात भएको थियो । त्यस्तै सोही आर्थिक वर्ष सकिँदासम्म १० अर्ब माथिको टायर आयात भएको भन्सार विभागको तथ्यांक छ । गोरखकाली रबर उद्योग बन्द भएको आर्थिक वर्ष २०७१/०७२ मा २३ करोड २९ लाख ४३ हजार रुपैयाँ बराबरको मात्र टायर आयात भएको थियो ।
त्यसको तीन वर्ष पछि (आ.व ०७५/७६ मा) आठ अर्ब छ करोड ६३ लाख ३१ हजार रुपैयाँको टायर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । नेपालमा भारत, चीन, इटाली, अमेरिका, इजिप्ट, दुबइ, ब्राजिल, चेक रिपब्लिकदेखि दक्षिण अमेरिकी मुलुकबाट हाल टायर आयात भइरहेका छन् ।
चुनावी एजेण्डामै सीमित बन्यो उद्योग संचालन
गोरखकाली रबर उद्योगमा काम गर्ने मजदुर तथा कर्मचारीलाई रबर उद्योगले हाल काम दिन नसके पनि गोरखाबाट सरकारको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको लागि भने यो उद्योगले चुनावी एजेण्डा बनेर काम गरिरहेको छ । यो उद्योग सञ्चालनका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठ, तत्कालीन स्थानीय विकास मन्त्री हितराज पाण्डे, राष्ट्रिय सभा प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डे, प्रतिनिधि सांसद हरिराज अधिकारी, चुडामणि खड्का, गण्डकी प्रदेश सभाका सांसदहरू लेखबहादुर थापामगर, रामशरण बस्नेत, हरिशरण आचार्य, प्रकाशचन्द्र दवाडी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त समेतले यो उद्योग जसरी पनि सञ्चालन गर्ने अठोट लिएका थिए ।
उनीहरूले निर्वाचनमा चुनावी एजेन्डाका रूपमा उद्योगलाई अघि सारे तर कहिल्यै फलोअप गरेनन् । पूर्वप्रधानमन्त्री भट्टराईदेखि गोरखाबाट निर्वाचित जनप्रतिनिधिले उद्योग सञ्चालनमा ल्याउन विभिन्न चरणमा संसदमा आवाज उठाए पनि खासै सम्बोधन हुन भने सकेको छैन ।
२०४० को दशकमा रबर उद्योगका लागि ‘म्यानुअल’ मेसिनरी भित्र्याइएका थिए । धमाधम आउन लागेका नयाँ-नयाँ प्रविधिका सवारी साधन सुहाउँदो अटो प्रणालीका मेसिनहरू भित्र्याउनु पर्ने समयमा उद्योगमा राजनीति घुस्यो । त्यही अवधिमा बाहिरबाट ट्युबलेस टायरहरू आउन थाले । स्तरोन्नति गरेर बजारमा प्रतिस्पर्धी बन्नु पर्ने महत्वपूर्ण समयमा कर्मचारीलाई दुई वर्षसम्म तलब समेत दिन नसक्ने अवस्थामा उद्योग जकडियो । सरकारले आर्थिक सहयोग पनि गर्यो तर उद्योगमा सुधार हुन सकेन ।अन्ततः कच्चा पदार्थ आयात गर्नु परेको, विदेशी टायरको तुलनामा उत्पादन महँगो भएको, बजार हिस्सा गुमेको जस्ता कारण देखाउँदै २३ चैत २०७१ बाट गोरखकालीको उत्पादन पूर्णरूपमा बन्द भयो ।
पटक पटक चुनावी एजेण्डा बनेको गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने भनेर प्रत्येक सरकारले मौखिक रुपमा भनिरहे पनि कारखाना फेरी चल्ने छाँटकाँट भने अहिलेसम्म पनि देखिएको छैन । २०७५ साल माघ १० गते गोरखकाली रबर उद्योगमा काम गर्ने कर्मचारी साथै मजदुरहरूले रबर उद्योग पुन: सञ्चालन गर्न भनेर उद्योग सञ्चालन हुन सक्ने कारण र अनुमानित खर्च समेत सरकारलाई बुझाएका थिए ।
तत्कालीन उद्योग मन्त्री मातृकाप्रसाद यादवले पनि आफ्नै पालामा जसरी पनि गोरखकाली उद्योगलाई पुनः सञ्चालन गर्ने भनेर प्रतिवद्धता जनाए । मन्त्रालयमा बुझाइएको उक्त प्रतिवेदनमा उद्योग सञ्चालन हुन सक्ने विभिन्न सातवटा आधारहरू समावेश गरिएको थियो । जसमा भएका मेसिन मर्मत गर्न ५० लाख रुपैयाँ, पहिलो किस्तामा कच्चा पदार्थ आयात गर्न १० करोड रुपैयाँ, दोस्रो किस्तामा कच्चा पदार्थ आयात गर्न १० करोड रुपैयाँ, तेस्रो किस्ता बापत कच्चा पदार्थ आयात गर्न १० करोड रुपैयाँ र नयाँ कर्मचारी भर्ना गर्न करिब १ अर्ब रुपैयाँ लाग्न सक्ने कुरा उल्लेख गरिएको थियो । यसरी सरकारले खर्चको दायित्व बोकेर उद्योग सञ्चालन गर्नसके वार्षिक ५०.४ करोड नाफा हुने प्रतिवेदनमा उल्लेख थियो । यसरी तयार गरिएको प्रतिवेदन लिएर ध्रुव पनि उद्योग मन्त्रालयको ढोकासम्म पुग्ने कर्मचारी थिए । उनी भन्छन्, “उद्योग बन्द भएपछि धेरै पटक नै सरकार फेरियो । हामीले सबैसँग उद्योग सञ्चालन गर्न बिन्ती बिसायौँ तर कसैले कुरा सुनेनन् । अहिले हरेस खाएरै मन्त्रालय धाउन छाडिसक्यौँ ।”
मन्त्रालयले प्रतिवेदन पढेर आश्वासन दिएर फर्कायो । आश्वासन पाएको पनि ४ वर्ष नाघ्यो तर उद्योग सञ्चालन हुने भने छाँटकाँट भने हालसम्म पनि देखिएको छैन ।
उद्योग मन्त्रालयका सूचना अधिकारी लेखनाथ अधिकारी भन्छन्, “अर्थ मन्त्रालयमा बेलाबेला उद्योग सञ्चालनको लागि बैठक बस्छौँ तर ठोस रुपमा कहिले र कसरी सञ्चालन गर्ने भनेर निर्णय आइसकेको भने छैन ।”