आहा… भेज नेवारी खाजा ! नेवारी खाजा बनाउँदै गरेकी चन्द्रदेवी महर्जन तस्विर : प्रतिक ढकाल/जीविको

धर्मराज रिमाल २०७८ माघ ७ गते १८:४७

चन्द्रदेवी महर्जन (५०) एक हातले तातो तावामा बारा राख्ने र अर्को हातले राखेका बारा पल्टाउने लगातार गरिरहन्छिन् । ग्राहकहरुको अर्डर लिने अनि बेलाबेला उनीहरुको कुरामा सहि थप्न पनि भ्याउछिन् । भित्रको एउटा सानो अँध्यारो कोठामा चन्द्रदेवीका तीनजना दिदीबहिनी र एकजना भतिजी पिठो मुस्न र मसला बनाउने काम गर्न व्यस्त थिए । अगाडि लहरै चार-पाँच वटा बेन्च राखिएका छन् अनि २-४ वटा मुडा पनि । न त कुनै साइनबोर्ड न कुनै मेनु नै ।

दस वर्षदेखि इन्द्रचोकको चोखाछे गल्लीमा यो नेवारी खाजा पसल यसरी नै चलिरहेको छ । चन्द्रदेवी र उनका तीनजना दिदीबहिनी अनि एकजना भतिजी मिलेर मिलेर यो खाजाघर चलाउँछन् । नेवारी खाजा मन पराउनेहरुको सधैं भिड हुन्छ तर त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ कि यो फरक नेवारी खाजाघर रहेछ भनेर । 

 “नेवारी खाजा, त्यो पनि भेज ?,” चन्द्रदेवीले ठूलै कसुर गरे जस्तो ठानेर हामीले प्रश्न तेर्स्यायौं । 

तावामा रहेको बारालाई अर्कोतर्फ फर्काउँदै नेवारी लवजमा उनले सहजै उत्तर फर्काइन्, “यहाँ मासुको खानेकुरा केही पनि पाउँदैन, सबै भेज हो । यो बारा चाँही अण्डाको पनि पाउँछ ।”

“मान्छेहरु खानलाई आउँछन् त सधैं ?,” हाम्रो जिज्ञासा अझै मेटिएन । हाम्रो मुखमा हेरेर मुस्कुराउदै चन्द्रदेवीले भनिन्, “दस वर्ष भयो भेज खाजा मात्र बेचेको, मान्छेहरु आएकै छन् ।”

छेवैमा रितिका अग्रवाल र उनको साथी स्वाद मान्दै बारा र च्याउको छोइला खाँदै थिए । उनीहरु जस्तै अन्य १०-१२ जनाले पनि बारा, खाजा सेट, योमरी, च्याउको अनि सोयाबिनको छोइला खाँदै थिए ।

रितिकालाई सोध्यौं, “कस्तो छ भेज नेवारी खाजा ?” 

“अमेजिङ (खुब मिठो छ) !” उनले भनिन्, “म मारवाडी समुदायकी हुँ । हामी माछामासु खादैँनौ तर नेवारी खाजा भने मलाई खुब मिठो लाग्छ । म वर्षौदेखि यहाँ आएर खाजा खाने गरेको छु । सबै खानेकुरा यस्तो  स्वादिलो छ कि अन्त कतै जानै मन लाग्दैन ।”

उनीसँगै त्यहाँ खाजा खाँदै गरेका अन्य आठ-दस जनासँग कुरा गरेपछि अब भने हामी विश्वस्त भयौं भेज नेवारी खाजाका पारखीहरु पनि थुप्रै हुँदा रहेछन् ।

काठमाडौँ उपत्यकामा नेवारी खाजा खान कै लागि भनेर जसरी मानिसहरु कीर्तिपुरको लहना, सःसः, पाटनको होनचा, भक्तपुरको सुकुलढोका नेवारी खाजा घर धाउने गर्छन् उसैगरी चन्द्रदेवीकोमा पनि भेज नेवारी खाजा खान विभिन्न ठाउँबाट मानिसहरु नियमित आउने रहेछन् ।

“भेज नेवारी खाजा नै बनाउँछु भन्ने सोच कसरी आयो त दिदी ?,” हाम्रो जिज्ञासा अझै सकिएको थिएन, चन्द्रदेवीले हामीलाई प्रतिप्रश्न गरिन्, “मासुको नेवारी खानेकुरा त जहाँ पनि पाउँछ तर भेज नेवारी खाजा खान चाहनेहरु कहाँ जाने ?” 

अनि उनले विस्तारमा बताउन थालिन् । सुरुमा चन्द्रदेवी र उनका श्रीमानले योमरी मात्र बेच्ने गर्थे । उनीहरुको खाजघरमा आउने ग्राहकहरुले अरु खानेकुराहरु पनि खान रुचि देखाए । ग्राहकहरुले नै नेवारी भेज खानेकुरा मात्र बनाउँदा राम्रो हुने भनेर पनि सुझाएका थिए रे । नेवारी खाजा भन्न साथै छोयला, कचिला, सपुमिचा, समयबजी लगायतका मासुका परिकार र साथमा पिरो अचार भन्ने बुझिन्छ । उपत्यकामा नेवारी परिकार पाउने धेरै नै पसल छन् । त्यै भएर पनि नेवारी भेज खाजा घर चल्न सक्ने चन्द्रदेवी दम्पतिको पनि ठम्याई रह्यो ।

दस वर्षअगाडि खाजाघर सुरु गर्दा चन्द्रदेवी र उनका श्रीमानले योमरी बेचेरै एक छोरी र एक छोरा सहितको चारजनाको सानो परिवारको जीविका चलाइरहेका थिए । दुःख-सुख सबै कुराहरु जसोतसो चलिरहेकै थियो तर पाँच वर्षअगाडि मात्र उनले आफ्नो श्रीमान गुमाइन् । अब चन्द्रदेवीलाई एक्लै त्यो जिम्मेवारी उठाउनु पर्ने बाध्यता आइपर्‍यो । उनी आफ्नो जिम्मेवारीबाट भागिनन् बरु चार जना उनका दिदीबहिनीको साथ लिएर व्यवसायलाई अगाडि बढाइन् ।

दिदीबहिनीको साथमा चन्द्रदेवी
तस्विर : प्रतिक ढकाल/जीविको

मध्यान्न १२ बजेदेखि उनको खाजा पसल खुल्छ । पाँच दिदीबहिनीहरु भने बिहानैदेखि तयारीमा लाग्छन् । रातीको ८ बजेसम्म यहाँ खाजा खान पाइन्छ । दैनिक ५० जनादेखि सय डेढसयसम्मको संख्यामा ग्राहकहरु उनकोमा नियमित खाजा खान आउँछन् । यहाँकै आम्दानीले उनिहरुको पाँच परिवारको खर्च धानिरहेको छ । बालबच्चाले पढ्न पाएका छन् भने केहीको त बिहे पनि भइसकेको छ । यी सम्पूर्ण खर्च यही खाजा पसलबाट जुटाएको चन्द्रदेवी बताउँछिन् ।

चन्द्रदेवीले कुनै ठूलो लगानी र भव्य तयारी गरेर यो व्यवसाय सुरु गरेकी होइनन् । उनले घरमा पाकिरहने खानेकुरालाई व्यवसायिक रुपमा अगाडि बढाएकी हुन् । सुरुवाती दिनमा थोरै मात्रामा योमरी र अन्य खाजा बनाउने गरेकी चन्द्रदेवीले बिस्तारै स्वच्छ, स्वस्थ्य अनि स्वादिलो खाजा बनाएर धेरैको मन जित्न सफल भइन् । कत्तिलाई त यहाँ आएर नियमित खाजा खानैपर्ने लत लागेको रहेछ । केही वर्षयता उनिहरु १२-१५ घण्टासम्म खेट्ने गरेका छन् । यसरी खटेन भने खाजाको माग धान्न गाह्रो हुने चन्द्रदेवी बताउँछिन् ।

काममा खटिने दिदीबहिनीहरु बिचको आपसी मेल पनि खुबै राम्रो छ । सर-समान किन्ने, खाजाको तयारी गर्ने, पकाउने, खान दिने अनि हिसाब किताब गर्ने सबै काममा एक अर्कालाई सहयोग गर्छन् उनीहरु । हामीले पनि चन्द्रदेवीको भेज नेवारी खाजा खायौं । जति मिठो खाजा थियो उस्तै मिठो व्यवहार थियो उनीहरूको ।

व्यवसाय गर्नका लागि ठूलो लगानी अनि लामो समयसम्मको अध्ययन र तयारी चाहिन्छ भन्ने तर्कलाई चन्द्रमायाको उद्यमले वास्तवमै चुनौती दिइरहेको थियो । व्यवसाय गर्नका लागि आँट, लगन र कामप्रतिको सम्मान हुनुपर्छ भन्ने एक उदाहरण हो चन्द्रमायाको सफलता ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *