
के नेपाल दूधमा आत्मनिर्भर भएको हो?
झापाको अर्जुनधारा नगरपालिका बस्ने अच्युत ढकाल (४४) सबेरै दूधको क्यान मोटरसाईकलमा हालेर दुध बेच्न विर्तामोडसम्म पुर्याउँछन् । कोही बेला उत्पादन गरेको दूध बिक्दैन त कोही समय भनेजस्तो दूधको मूल्य पाइदैन । घरघरमा लगेर दूध बेच्दा केही बढी पैसा पाइन्छ तर घरघर लगेर दूध बेच्न सम्भव पनि हुँदैन ।
“एक लिटर दूध बेच्दा ४० देखि ५० रुपैँयासम्म पाइन्छ । उक्त पैसाले गाईले खाने दाना किन्नुपर्यो घाँस किन्नुपर्यो राम्रो सँग पैसा बाँच्दैन,” उनी भन्छन् । सातवटा गाई पालेर दूध बिक्री गरेता पनि उनलाई पारिवारिक आवश्यकता पुरा गर्न गाह्रो भएको बताउँछन् ।
कोरोना महामारीको समयमा ३/४ महिना अच्युतले दूध बेच्नै पाएनन् । महामारीको समयमा नेपालमा दूधको माग घटेर भने उनको दूध नबिकेको होइन । त्यो समय नेपालले दूध किनिरह्यो तर नेपाली किसानबाट हैन, भारतबाट ।
किसानहरु उत्पादित दूध बिक्रि गर्न नपाएको गुनासो गरिरहेकै मौकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूध, अण्डा तथा मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरिदिए तर दूध आपूर्ति चाहिँ भारतबाट भइरहेको तथ्य सरकारी निकायको तथ्यांकले देखाउँछ । नेपालले वार्षिक १३ लाख लिटर दूध आयात गर्नुपर्ने तथ्यांक पशुसेवा विभागको रहेको छ ।
महामारी सकिएता पनि अहिले पनि दूध पाउडरको रुपमा नेपालले वार्षिक एक अरब रुपैँया भन्दा बढिको दूध भारतबाट भित्र्याइरहेको छ ।
नेपाल सरकार मातहतको पशु सेवा विभागका वरिष्ठ पशु अधिकृत चन्द्र ढकाल भन्छन्, “नेपालको दूरदराजमा उत्पादीत दूधजन्य उत्पादनले बजार पाउन सकेन जसको कारण भारतबाट यस्ता पदार्थहरु भित्रिरहेका छन् ।”
हुम्ला जुम्ला जस्ता विकट जिल्लाहरुबाट ढुवानी गर्न गाह्रो भए पनि इलाम जस्तो सुगम जिल्लामा पनि किसानहरु आफैले दूध बिक्रि गर्नुपर्ने बाध्यता छ । अच्युत जस्ता किसानहरु अहिले पनि ५० किलोमीटरसम्म आफ्नै साधनमा दूध बोकेर बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ । “हामी सुगमको भएर के भयो ? अझै आफैले बजार खोज्दै हिँड्नु परेको छ,” उनी भन्छन् । सवारी साधन नभएकाहरुले इलामबाट झापा झारेर बिक्रि गर्न गाह्रो हुने नै भयो ।
नेपालको तराई क्षेत्र देखि हिमाली क्षेत्रसम्म गाई तथा भैँसी पालन हुने गर्दछ। गाउँघरमै दूधको पर्याप्त उत्पादन पनि हुने गरेको छ । सरकारले नेपाली किसानहरुका लागि बजार सहजीकरण मात्र गर्ने हो भने नेपाल दूधजन्य उत्पादनमा आत्मनिर्भर बन्न सक्थ्यो भन्छन् अच्युत । जबकि अहिलेसम्म स्थानीय दूध बिक्रि नभएर किसानहरुले सडकमा पोख्दै बिरोध जनाउने गरेका छन् । लाखौ लिटर दूध सडकमा पोखिए पनि उत्तिकै मात्रामा दूध भारतबाट आयात भइरहनुले सरकारको प्राथमिकता अनि किसानहरु प्रति गरिने व्यवहारलाई देखाउँछ । ‘नेपाल कृषि प्रधान देश हो’ भनेर भाषण गरे पनि आजसम्मका कुनै पनि सरकारले कृषि क्षेत्रलाई सुधार गर्न वास्तविक पहल गरेको छैन ।
नेपाली किसानहरुले उत्पादित दूध नबिकेर सडकमा नै पोख्नुपर्ने अवस्था आउनुमा उनी महंगो ढुवानीलाई प्रमुख कारण मान्छन् । उनी भन्छन्, “हुम्ला र जुम्ला जस्ता क्षेत्रमा उत्पादित दूध बजार आइपुग्दा बाटोमा नै बिग्रन्छ । केहि गरि बजार आइपुगे पनि ढुवानी खर्चका कारण दूध किनेर खान नसकिने हुन्छ ।”
नेपाल डेरी वोर्डका सूचना अधिकारी ईञ्जिनियर बालक चौधरी भने नेपाली बजार पाउन र नास हुन नदिन पाउडर दूध बनाएर प्रयोग गरे नेपाललले तेस्रो मुलुकबाट दूध आयात गर्नु नपर्ने तर्क राख्छन् । उनी भन्छन्, “दूध छिट्टै बिग्रिएर जान्छ । दूध नबिक्ने समस्याको समाधान पाउडर कारखानाले मात्र गर्न सक्छ।”
उत्पादन बढी हुने मौसममा यसलाई व्यवस्थापन गर्न र दूध नबिक्ने समस्या न्यूनीकरण गर्न वोर्डले चितवन मिल्क लिमिटेड र पोखरास्थित सुजल डेरीमा लगेर सम्पूर्ण निजी डेरी उद्योगमा बढी दूधलाई धुलो दूधमा रुपान्तरण गराइरहेको पनि बालकले जानकारी दिए ।
यसरी पाउडर दूध उत्पादन गर्ने कम्पनीहरु स्थापना हुँदै आएता पनि नेपाली पाउडर दूध उत्पादन कम्पनीमा भने दूध नै नपुगेर क्षमता अनुरुप उत्पादन हुन सकेको छैन । देशका कुनै निश्चित क्षेत्रमा पाउडर दूध बनाउनका लागि कारखाना खुलिरहेता पनि नेपाली डेरी बजारमा भारतकै दूध बिक्ने गरेको छ । नेपालको ग्रामिण क्षेत्रको दुरदराजमा उत्पादन भएको दुध पाउडर बनाउने कारखाना सम्म ल्याउन नसक्दा अझैपनि डेरी बजारमा भारतिय दूध नै हाबी भएको छ ।
अर्को तर्फ नेपालको पूर्वि क्षेत्रमा उत्पादन हुने दूध पूर्वि क्षेत्रको काकडभिट्टा सीमाबाट भारतको सिक्किममा रहेको अमुल दूध कम्पनीले लग्ने गरेको छ । भारतले यहाँबाट दूध खरिद गरेर सिक्किम लैजाने र प्याकेजीङ गरेर पुनः नेपालमा नै बेच्ने गरेको पनि वोर्ड स्वीकार गर्दछ ।
नेपालमा हाल दूधको उत्पादन २१ लाख १ हजार मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको नेपाल डेरी उद्योग संघले जनाएको छ । कूल दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब चार प्रतिशतको रहेको छ । संघका अनुसार नेपालको निजी क्षेत्रको डेरी उद्योगमा ३० अर्ब रुपैया हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सृजना भएको छ । देशभर दूग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आबद्ध रहेका छन् ।
दूग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक पाँच करोड रुपैया तथा वार्षिक १२ अर्ब रुपैयाँ शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दूग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको बताइन्छ तर पनि नेपालमा भारत तथा तेस्रो मुलुकबाट डेढ अर्ब बढीको दूध र दूग्धजन्य पदार्थ आयात भइरहेको छ ।
एकातर्फ किसानले उत्पादन गरेको दूध नबिकेको समाचारहरु आइरहेता पनि दूग्ध विकास संस्थानका उप-महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी भने नेपालमा उत्पादित दूधनै आफुले खरिद गरिरहेको बताउँछन् । उनी भन्छन्, “हामीले भारतबाट दूध ल्याएका छैनौँ, सडक सुविधा पुगेका ठाउँसम्मको दूध हामीले नै खरिद गर्छौँ ।”
अर्को तर्फ नेपाली दूध उत्पादनले भारतमा भन्दा बढी मूल्य पाउने गरेको राजेन्द्रको तर्क छ। उनी भन्छन्, “नेपालका उत्पादनलाई हामी भारतीय मुल्यभन्दा बढी मूल्य तिर्ने गरेका छौँ ।,”
दूग्ध विकास संस्थानले ग्रमिण पहाडी भेगमा दूधको प्रतिलिटर ३८ रुपैयादेखि ४२ रुपैयासम्म तिरेर खरिद गर्ने गरेको छ भने तराई क्षेत्रमा ४२ रुपैयादेखि ४८ रुपैयासम्म मूल्य तिर्ने गरेको छ ।
यसरी निरन्तर नेपालमा वार्षिक १३ लाख लिटर दूध आयात गर्नुपर्ने अवस्था देखिए पनि समयसमयमा नेपाली किसानहरुका उत्पादन बिक्री नभएर समस्या भएको समचार बन्ने गरेका छन् । जसले गर्दा अच्युत जस्ता दूध उत्पादक किसानहरुले समयसमयमा दूध नबिकेर ठूलो सास्ती व्यहोर्नुपरेको छ ।
