गलाको कलामा बाँचेकाहरू..
काठमाडौंको शहिदगेट – सुन्धारा, सधैँ व्यस्त रहने ठाउँ । गाडीहरूको आवाज, ट्राफिकको सिट्ठी, धुलो- धुँवा र मानिसहरूको भिड उत्तिकै । भिडको बिचमा एउटा गीत गुन्जिँदै थियो ..
“मुटु छुने लुम्लेको हावाले मनै छुने लजालु मायाले.. पुन हिलैमा फूल जस्ती सोल्टिनी बस्यौ दिलैमा…”
सुन्धारा सडकमा मानिसहरूको आवत जावत बढ्दो थियो । कोही धरहरा हेर्न आएका त कोही कार्यालय जान हिँडेका भने कोही नयाँ बसपार्क जान हतारिएकाहरू । सडकका पेटिमा राखिएका पसल र त्यहाँ आएका ग्राहकहरूले गर्दा सकमा हिँड्न पनि एक अर्कालाई ठेल्दै हिँड्नु पर्ने अवस्था थियो ।
सुन्धाराबाट रत्नपार्क जाने तर्फको आकाशे पुल मुनि सडक किनारमा बसेर एक पछि अर्को गरी म्युजिक ट्रयाकमा गीत गाउदै थिए सिन्धुपाल्चोकका भीम बहादुर बोहोरा (३३) । उनले गाएको गीत र स्पिकरमा घन्किएको म्युजिकले सुन्धारा सडकमा एक प्रकारको सांगीतिक माहोल नै बनेको थियो ।
सानो प्लाष्टिकको ढक्की अनि एउटा स्पिकर राखेर एक हातले माइक र अर्को हातले सेतो छडी समाएका भीमले निरन्तर गीत गाईरहे ।
करिव ४ वटा गीत पुरा गाउन्जेल हामी उनलाई सडक छेउ उभिएर सुनी रह्यौँ । उनी थोरै सुस्ताउँछन् अनि कुराकानी गरौँला भनेर पर्खिरह्यौँ तर गीत रोकिने केही छाँटकाँट देखिएन । यती धेरै गीत आउँदै गर्दा गार्हो भा’को छैन ? उनी भन्छन् ” हुन्छ नि गाह्रो मात्र होइन घाटी पनि दुख्छ, स्वर पनि सुक्छ, तिर्खा पनि लाग्छ सबै हुन्छ । यस्तो सास्तीले गायो अनि अलिअलि जम्मा भएको पैसा पनि लुटेर लगी दिन्छन्” उनी आक्रोश हुँदै आफ्नो पीडा पोख्न थाली हाले ।
केही दिन अघि मात्र भीमले काठमाडौंको सडक- सडक डुलेर गीत गाउदै कमाएको पैसा चोरी भएको हुँदा उनको रिस अझै मरेको रहेनछ । “म झाँक्री हुँ, राम्रो बनाइ दिन्छु भनेर ललाइ फकाइ गरेर शौचालय लग्यो पछि जम्मा भएको सबै पैसा कुम्लाएर गयो” भन्छन् भीम । “यती मात्र होइन कहिले काँही त शौचालय गएको बेला स्पिकर, माइक नै पनि लगी दिने गर्छन् भने कहिले चाँही पैसा लागेर कागज राखिदिएर जानेहरू पनि धेरै छन्” भन्छन् उनी ।
भीम ४ वर्षको हुँदा दुबै आँखा पाक्यो अनि बिस्तारै आँखाको ज्योति अध्याँरिदै गयो । अन्तत: आँखा नै नदेख्ने भए उनी । हुन त उनले गाउँमा औपचारिक शिक्षा पनि हाँसिल गरेका छन् । तर वैधानिकता नपाएको हुँदा त्यसले खासै मान्यता पाएन । घर परिवारबाट पनि हेला गरेको हुँदा उनी बिरक्तिएर काठमाडौं आए ।
सुरुवातमा काठमाडौंमा जीविका चलाउनको लागि उनले अगरबत्ती बेच्न थाले । समयमा तलब नदिने अनि अपाङ्ग भएकोले दुर्व्यवहार गरेको हुँदा उनले त्यो काम छाडे । जीवन त धान्नु पर्यो, के गर्ने त भन्दा भीमले सडकको पेटिमा नङ काट्ने नेलकटर राखेर बेच्न सुरु गरे तर त्यो व्यवसायमा पनि त्यति राम्रो भएन । उनी आँखा नदेख्ने भएको कारण लुटेर लगी दिने भएकोले व्यवसाय नै छाड्नु पर्यो र मन्दिरामा भजन गाउँदा गाउँदै गीत गाउन सिके अनि माइक र स्पिकरको जोहो गरेर विगत एक वर्ष देखी कहिले सुन्धारा, कहिले रत्नपार्क त कहिले कंलकी, स्वयम्भुको सडकको पेटीमा यसरी गाउँदै जीविका चलाइरहेका छन् भीम ।
गायन सम्बन्धी कुनै औपचारिक कोर्स नगरेता पनि भीमको आवाज कुनै दक्ष गायक गायिकाको भन्दा कम छैन । सुरमा सुर मिलाएर म्युजिकमा उनले गाउँदा रेडियो नै सुनेझैं लाग्छ ।
हुन त नेपाल सरकारले अपाङ्गता भएका व्यक्तीहरुको अधिकार सम्बन्धी ऐन २०७४ जारी गर्दै शारिरिक तथा बौद्धिक अपांगता भएका व्यक्तीहरुका लागी विभिन्न अधिकारहरु दिएको छ । जहाँ व्यवसायिक रोजगारी तालिम तथा स्वरोजागारी सृजना गर्दै अपाङ्गता भएका व्यक्तीहरुलाई अवसरहरु सीर्जना गर्ने भनिएको छ । तर यो सबै कुराहरू कागजमा मात्र सीमित भएको र आफुहरुलाई यसले खासै राहत नदिएको दाबी भीमको छ । उनी भन्छन् “हामीलाई सरकारलेत्यस्तो धेरै केही गरेको छैन । महिनाको जम्मा १६ सय भत्ता दिन्छ, त्यो पनि कटाउने भन्ने कुरा आइरहेको छ। अपाङ्ग मैत्री भौतिक संरचना बनाउने भन्ने त परै जावस सरकारले सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ तर गाडीमा चड्दा पनि पूरै भाडा नतिरी सुख छैन । यतीसम्म कि मैले टेकेको यो सेतो छडीको पनि ७०० सय तिर्नु पर्छ महासंघलाई । अनि शिक्षा, स्वास्थ्यमा पनि सुविधा दिने भनेर कानुन छ तर कोही बिरामी भएर अस्पतालमा गयो भने औषधि सकिएको छ भन्ने , आज हुँदैन भन्ने जस्ता बहाना बनाएर टार्ने गरिन्छ हामीलाई“
त्यसो त सामाजिक सुरक्षा भत्ता अन्तर्गत सरकारले पूर्ण अपाङ्गता भएका अर्थात् रातो रङ्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरूलाई एक हजार रुपैयाँ र आंशिक अशक्त अपाङ्गता भएका अर्थात् निलो रङ्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका व्यक्तिलाई मासिक तीन सय रुपैयाँको दरले सुविधा दिने व्यवस्था गरेको छ । तर यस्तो सुविधा लिन कहाँ सजिलो छ र ? भीम भन्छन्, “हामीलाई परिचय पत्र बनाउन वडामा १० चक्कर लगाउनु पर्छ, फेरी एक चोटि बनाएर मात्र कहाँ हुन्छ र? वर्ष वर्षमा तोकिएको म्यादभित्र अनिवार्य नवीकरण गर्नुपर्छ । नवीकरण गर्न केही समस्या परेमा भत्ता नै लिन पाइदैन ।“
नेपाल सरकार मन्त्रिपरिषदबाट २०६९ सालमा स्वीकृत भएको “अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९“ मा सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ स्थल, मनोरञ्जन स्थल, सम्मेलन केन्द्र, सिनेमा हल, जस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खल्ला गरिएका व्यवसायिक तथा आवासीय भवन, होटल तथा रेष्टुरेन्ट, एटिएम बैंकिङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेल समेतको व्यवस्था गरि भौतिक संरचनाका साथै अपाङ्गता भएका व्यक्तिका लागि सूचना सेवामा समेत पहुँच अभिवृद्धि गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको छ । तर यस्ता कुरा कागजमा मात्र सीमित हुँदा आफुहरुलाई धेरै गाह्रो परेको भीमको गुनासो छ ।
२०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत (५ लाख १३ हजार ९९३ जना) एक वा एकभन्दा बढी अपाङ्गता भएका व्यक्ति छन् । ती मध्ये ३६.३२ प्रतिशतमा शारीरिक अपाङ्गता, १८.४६ प्रतिशतमा दृष्टिसम्बन्धी अपाङ्गता, १५.४५ प्रतिशतमा श्रवणसम्बन्धी अपाङ्गता, १.४८ प्रतिशतमा श्रवण र दृष्टिबिहीनता, ११.४७ प्रतिशतमा स्वरसम्बन्धी अपाङ्गता, ६.०४ प्रतिशतमा मानसिक अपाङ्गता, २.९० प्रतिशतमा बौद्धिक अपाङ्गता र ७.५२ प्रतिशतमा बहुअपाङ्गता छ ।
त्यसो त सरकारले अपाङ्गता भएका व्यक्तिको रोजगारीको लागि निजामती सेवा ऐेन २०४९ मा ५ प्रतिशत आरक्षण दिने व्यवस्था गरेको छ । लोक सेवा आयोगको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७\७८ मा अपाङ्गता भएका समुह बाट ३ जना सिफारिस भएका छन् । गैर सरकारी क्षेत्रमा पनि कुनै कम्पनीमा २५ जना भन्दा बढी कर्मचारी छन् भने कम्तिमा १ जना अपाङ्गता भएका व्यक्तिलाई राख्नु पर्ने व्यवस्था रहेको छ । साथै घरेलुले पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि सीप विकासका कार्यक्रमहरू गर्दै आएको छ । तर सरकारले विशेष प्रावधान दिएर अपाङ्गता भएकाहरूको लागि रोजगारीका कुनै पनि कार्यक्रम ल्याएको छैन भन्छन् राष्ट्रिय अपाङ्ग संघका महासचिव राजु बस्नेत ।
सरकारको अपाङ्गता भएका नागरिकका लागि भनेर विशेष कार्यक्रमको व्यवस्था नगरेता पनि भीम भने आफ्नो गलाको माध्यमबाट कला बेचेर आफ्नो जीवन चलाई रहेका छन् । उनले गीत गाएर नै दिनमा नौ सय देखि एक हजारसम्म आम्दानी गर्दछन् । यसैबाट उनको घर व्यवहार चलेको छ । अनेकौं तनाव भए पनि उनी यो पेशाबाट खुशी नै छन् ।
काठमाडौंको सडकमा एउटा सेतो छडीको सहारामा गीत गाउदै हिँड्ने भीम मात्र एक्ला व्यक्ती होइनन् । काठमाडौंको कुना कुनामा अपाङ्गता भएका धेरै भीमहरू हामी भेट्न सक्छौं । कोही गलाको कलाको सहायतामा आफ्नो जीवीका चलाउँदै छन् भने नगन्य संख्यामा सिलाइ बुनाइको सीप, जागिर अनि कोही व्यापार व्यवसाय गरेर जीवन गुजारा गर्दै छन् । राज्यले अपाङ्गता सम्बन्धी निती नियम बनाएर व्यवहारमा नल्याए पनि भीम जस्ता धेरै अपाङ्गता भएका नागरिक आफ्नो सीप तथा मेहनतमा विश्वास गरेर निरन्तर परिश्रम गरिरहेका छन् ।
आफू दृष्टिविहीन भएर पनि आफ्नो गलाको कला बेचेर जीवन चलाई रहेका भीम आफूजस्तै अपाङ्गता भएका साथीहरूलाई भन्छन् ” म अपाङ्ग छु भनेर टोलाएर बस्नु भन्दा केही काम गरौँ जसले गर्दा आफ्नो जीविकोपार्जन आँफै गर्न सकियोस् र अरुको भरमा बस्न नपरोस् । आफै आत्मनिर्भर हुनु पर्दछ ।“