कतारमा श्रमिकले न्यूनतम १८ सय रियाल मासिक तलब पाउने तस्विर: Rowen Smith, Unsplash

जीविको २०७८ पुष १२ गते १८:४१

कतारमा काम गर्ने श्रमिकको न्यूनतम मासिक तलब १८ सय रियाल (करिव ६० हजार नेपाली रुपैयाँ ) निर्धारण गरिएको कतारको श्रम मन्त्रालयले जानाएको छ ।

नेपाल सरकारले कतारका लागि सन् २०१३ देखि अदक्ष श्रमिकका लागि न्युनतम तलब ९ सय रियाल र खानाबापत तीन सय रियाल गरी १२ सय रियाल (करिब ३६ हजार रुपैयाँ) निर्धारण गरेको थियो तर रोजगारदाता कम्पनीले नेपालले एकतर्फी रूपमा तलब निर्धारण गरेको भन्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेका थिएनन् ।

अन्य देशको तुलनामा कतार सरकार आप्रवासी कामदारको हकमा खाडी देश मध्येकै सुधारवादी राज्य बनेको छ ।

मन्त्रालयले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरी सार्वजनिक गरेको रिपोर्ट अनुसार खाना बस्न राम्रो व्यवस्था भएमा कम्पनीले मासिक एक हजार तलब दिने तर खान बस्नको सुविधा नभए रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खाना, बस्न ३ सय र आवास बापत ५ सय रियाल गरी कूल  १८ सय   दिनैपर्ने व्यवस्था लागू गरेको छ । ओभरटाईमको हकमा भने त्यहाँकै कम्पनीले थप रकम कती दिने भनेर निर्धारण गर्ने छ ।

न्यूनतम ज्यालामा बृद्धि भएयता १ हजार रियाल भन्दा कम तलब पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलब पाउन थालेको कतारको श्रम मन्त्रालयले निकालेको प्रतिवेदनमा उल्लेख छ ।

कतार सरकारले घरेलु श्रमिकका लागि मानक रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्ययोजना गर्ने बताएको छ । घरेलु श्रमिकलाई अन्य श्रमिकहरू सरह व्यवहार गर्ने सेवा सुविधा प्रदान गर्ने, आराम तथा बसोबासको व्यवस्था गर्ने र उनीहरूलाई काम चित्त नबुझेमा रोजगारदाता परिवर्तन गर्न अधिकार दिएको पनि रिपोर्टमा उल्लेख छ ।

साथै नयाँ व्यवस्थाअनुसार कतारमा रहेका सबै प्रकारका श्रमिकलाई समस्या परेको खण्डमा गुनासो टिपाउन छुट्टै हटलाइन र काम गर्न नसक्नेलाई अस्थायी सेल्टरको व्यवस्था गरिने जनाइएको छ । विदेशी श्रमिकको रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ ।

यसका साथै कोरोना महामारीको समयमा विदेशी श्रमिकलाई काम तथा आम्दानीमा कमी नहोस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल पनि यसअघि नै तयार गरेको थियो । ।

श्रमिकको न्यूनतम तलब तोक्ने खाडी मै पहिलो राष्ट्र कतार बनेको छ । यो घोषणालाई आईएलओलगायतका संस्थाले ऐतिहासिक परिवर्तन भन्दै स्वागत गरेका छन् ।

नेपाल सरकारले तोकेको देशगत न्यूनतम मासिक तलब
देश न्यूनतम मासिक तलब
कतार १२ सय रियाल (३६ हजार रुपैयाँ)
साउदी अरेबिया १३ सय रियाल (४१ हजार रुपैयाँ)
यूएइ १२ सय दिर्हाम (३६ हजार रुपैयाँ)
बहराइन १ सय २० दिनार (३८ हजार रुपैयाँ)
कुवेत घर भित्रको लागि ९५ दिनार, घर बाहिरको कामको लागि १ सय ५ दिनार (३८ हजारदेखि ४१ हजार रुपैयाँसम्म)
ओमान १ सय २० ओमानी दिनार (३७ हजार रुपैयाँ)
मलेसिया १२ सय रिगेट (३४ हजार रुपैयाँ)

हालसम्म कायम गरिएको देशगत न्यूनतम मासिक तलब,

श्रोत : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 

कतार नेपाली श्रमिकको प्रमुख गन्तव्यमध्येको एक हो । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कतारमा करिव ४ लाख नेपाली श्रमिक गरेका छन् ।  यसरी पछिल्लो समय नेपाल सरकारले तोके भन्दा २४ हजारले बढी तलब पाउने भएपछि कतार जान चाहने नेपाली श्रमिकहरूको संख्या वृद्धि हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरे बताउँछन् ।  उनी भन्छन्, “कतार सरकारको घोषणा कार्यन्वयन भएको खण्डमा नेपाली श्रमिकहरूको आर्थिक समृद्धिमा टेवा पुग्छ । यो नेपालको लागि स्वागतयोग्य कार्यक्रम हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *