साताका अवसर : १,४९२ रोजगारी, महिलालाई सीप तालिम र कृषकलाई चार तालिम
काठमाडौं — रोजगारी खोजिरहेका युवा, नर्सिङ अध्ययन गरेका व्यक्ति, वैदेशिक रोजगारीमा जान चाहने केयरगिभर, सीप सिक्न चाहने महिला तथा कृषि उद्यमीका लागि यो साता विभिन्न अवसर खुलेका छन्।
जिबिको मिडियाको साप्ताहिक प्रस्तुति ‘साताका अवसर’ मा यसपटक नेपाल र विदेश गरी १ हजार ४९२ जनाका लागि रोजगारी, बुटवलमा १२५ महिलाका लागि चार प्रकारका सीप तालिम, बागमती प्रदेशका कृषक तथा कृषि उद्यमीका लागि चार विषयका तालिम र मानसिक संकटमा निःशुल्क सहयोग लिन सकिने सेवासम्बन्धी विशेष सूचना समेटिएको छ।
१. बुटवलमा १२५ महिलालाई चार सीप तालिम
बुटवल उपमहानगरपालिकाले महिलालाई स्वरोजगार तथा रोजगारीसँग जोड्ने उद्देश्यले चार प्रकारका तालिममा १२५ जनाका लागि आवेदन खुलाएको छ।
कुकिङमा २५, अनलाइन मार्केटिङमा ५०, मन्टेश्वरीमा २५ र हेयर कटिङमा २५ जना सहभागी हुनेछन्।
तालिम १५ दिनदेखि ४५ दिनसम्मका छन्।
आवेदन फाराम बुटवल उपमहानगरपालिकाको वेबसाइट वा सम्बन्धित वडा कार्यालयबाट प्राप्त गरी सम्बन्धित वडा कार्यालयमार्फत बुझाउनुपर्छ।
अन्तिम मिति : भदौ ३१ गते
थप विवरण:
https://jibiko.com/2026/09/5749/
२. बागमतीका कृषकलाई चार विषयमा तालिम
कृषि तथा पशुपन्छी तालिम केन्द्र, भण्डारा, चितवनले बागमती प्रदेशका कृषक तथा कृषि उद्यमीका लागि चार विषयमा ६/६ कार्यदिनका तालिम सञ्चालन गर्ने भएको छ।
तालिममा फलफूल नर्सरी, पशु आहारा तथा घाँसेबाली व्यवस्थापन, बहुवर्षीय घाँसमा असल अभ्यास र वर्णशंकर मकै बीउ उत्पादन तथा प्रमाणीकरणसम्बन्धी विषय छन्।
१८ देखि ४५ वर्षका युवा कृषक तथा उद्यमी, महिला र व्यवसाय दर्ता तथा नवीकरण भएका आवेदकलाई प्राथमिकता दिइनेछ।
आवेदन atc.bagamati.gov.np मार्फत अनलाइन दिनुपर्छ। एक जनाले एउटा तालिमका लागि मात्रै आवेदन दिन पाउनेछन्।
सहभागीको आतेजाते यातायात खर्च तथा तालिम अवधिको दैनिक भत्ता र भ्रमण खर्च केन्द्रले बेहोर्ने जनाएको छ।
अन्तिम मिति : असोज २ गते
थप विवरण:
https://jibiko.com/2026/09/5742/
३. काठमाडौं महानगरमा २८ विद्यालय नर्स
काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयमा काम गर्ने गरी २८ जना विद्यालय नर्स सेवा करारमा माग गरेको छ।
आवेदकले मान्यताप्राप्त शिक्षण संस्थाबाट पीसीएल नर्सिङ वा सोसरह उत्तीर्ण गरेको र नेपाल नर्सिङ काउन्सिलमा दर्ता तथा नवीकरण गरेको हुनुपर्छ।
उमेर १८ देखि ३५ वर्षसम्म तोकिएको छ। महिला उम्मेदवारका लागि माथिल्लो उमेर सीमा ४० वर्ष रहेको छ।
आवेदन महानगरपालिकाको वेबसाइटमार्फत अनलाइन दिनुपर्छ। सामान्य आवेदन दस्तुर ५०० रुपैयाँ छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म सामान्य दस्तुरमा र त्यसपछि थप सात दिन दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ।
थप विवरण:
https://jibiko.com/2026/09/5754/
४. इजरायलमा १,४६४ केयरगिभर, तलब करिब ३ लाख २३ हजार
नेपाल र इजरायल सरकारबीचको श्रम सम्झौताअन्तर्गत इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न १ हजार ४६४ जना सहायक कामदार माग गरिएको छ।
यसमा १ हजार १३२ महिला र ३३२ पुरुष रहेका छन्।
सूचनाअनुसार मासिक तलब करिब ३ लाख २३ हजार रुपैयाँ छ।
आवेदक २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलो तौल भएको हुनुपर्छ।
शैक्षिक योग्यताका मुख्य दुई विकल्प छन्—कक्षा १० उत्तीर्ण गरी ANM वा CMA मा कम्तीमा १५ महिनाको अध्ययन, वा कक्षा १२ उत्तीर्ण गरी सरकारबाट मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको Caregiving तालिम।
तोकिएको स्तरको Cambridge Upskill अंग्रेजी परीक्षाको प्रमाणपत्र पनि आवश्यक छ।
आवेदन वैदेशिक रोजगार विभागको FERMS पोर्टल मार्फत अनलाइन दिनुपर्छ।
आवेदन अवधि : भदौ २३ गतेदेखि असोज २६ गते राति ११:५९ बजेसम्म
थप विवरण:
https://jibiko.com/2026/09/5752/
५. मानसिक संकटमा ११६६ मा निःशुल्क सहयोग
निरन्तर निराशा, असह्य तनाव वा आफूलाई हानि पुर्याउने सोच आएमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा फोन गरी निःशुल्क मनोपरामर्श लिन सकिन्छ।
यो सेवा चौबीसै घण्टा उपलब्ध रहेको छ।
बाढी प्रभावितका लागि नेपाल मनोचिकित्सक संघले पनि ९७१७०९१७६८ नम्बरमार्फत अनलाइन विशेषज्ञ परामर्शको व्यवस्था गरेको जनाएको छ। चिन्ता, डर, तनाव, शोक तथा मानसिक आघातका अवस्थामा सहयोग लिन सकिन्छ।
तत्काल आफूलाई वा अरू कसैलाई हानि पुग्ने जोखिम देखिए नजिकको अस्पतालको आकस्मिक कक्ष वा नेपाल प्रहरीको १०० नम्बर मा तत्काल सम्पर्क गर्नुपर्छ।
थप विवरण:
https://jibiko.com/2026/09/5746/
आवेदनसँग सम्बन्धित अवसरमा सहभागी हुनुअघि योग्यता, कागजात, शुल्क तथा अन्तिम मिति सम्बन्धित निकायको आधिकारिक सूचनासँग पुनः जाँच गर्नु उपयुक्त हुन्छ।
सीप, तालिम, रोजगारी, वैदेशिक रोजगार तथा जीविकासम्बन्धी यस्तै अवसरका नियमित जानकारीका लागि जिबिको मिडिया र jibiko.com हेर्न सकिन्छ।
