डकुमेन्ट्री फिल्म र फोटोग्राफी सिक्ने ६ महिने निःशुल्क फेलोशिपमा आवेदन खुला
काठमाडौं। डकुमेन्ट्री फिल्म, फोटोग्राफी, रेडियो उत्पादन, अनलाइन प्रसारण तथा सामुदायिक मिडियामा रुचि राख्ने नेपाली युवाका लागि ‘ग्रिन मिडिया फेलोशिप २०२६–२७’ को आवेदन खुला गरिएको छ।
डकुमेन्ट्री ओपन स्कुल अर्थात् डकस्कुलले सञ्चालन गर्ने यो पूर्णकालीन आवासीय फेलोशिप सन् २०२६ को सेप्टेम्बरदेखि सुरु हुनेछ। छ महिनासम्म सञ्चालन हुने कार्यक्रम धुलिखेल र नेपालका विभिन्न साझेदार संस्थाका कार्यक्षेत्रमा आयोजना गरिनेछ। कार्यक्रमका लागि १० जना छनोट गरिने र छनोट भएका सहभागीलाई पूर्ण छात्रवृत्तिमा तालिम प्रदान गरिने कार्यक्रम विवरणमा उल्लेख छ।
फेलोशिपमा सहभागी युवाले डकुमेन्ट्री फिल्म निर्माण, फोटोग्राफी, सिनेमाटोग्राफी, भिडियो सम्पादन, रेडियो उत्पादन, अनलाइन प्रसारण तथा सामुदायिक मिडियासम्बन्धी व्यावहारिक ज्ञान र सीप सिक्ने अवसर पाउनेछन्। प्रशिक्षणसँगै सहभागीले समुदायमा पुगेर व्यक्तिगत तथा सामूहिक फिल्म र अन्य मिडिया सामग्री निर्माण गर्नुपर्नेछ।
फेलोशिपको उद्देश्य
ग्रिन मिडिया फेलोशिपको उद्देश्य समुदायमा रहेका वातावरण, जलवायु परिवर्तन, जैविक विविधता, स्थानीय संस्कृति, आदिवासी ज्ञान तथा सामाजिक विषयलाई फिल्म, फोटो, रेडियो र डिजिटल माध्यमबाट अभिलेखीकरण गर्न सक्ने युवा कथावाचक तयार गर्नु हो।
कार्यक्रमले विशेषगरी वातावरणीय परिवर्तनबाट प्रभावित समुदायका युवालाई आधुनिक दृश्य तथा श्रव्य सञ्चार सीप प्रदान गर्ने लक्ष्य राखेको छ। स्थानीय भूगोल, परम्परागत ज्ञान, कृषि प्रणाली, समुदायको जीवनशैली तथा वातावरणीय चुनौतीबारे स्थानीय युवासँग रहेको ज्ञानलाई प्रभावकारी मिडिया सामग्रीमा रूपान्तरण गर्न सहयोग गर्ने कार्यक्रमको उद्देश्य छ।
छ महिनाको कार्यक्रम कसरी सञ्चालन हुन्छ?
फेलोशिपलाई तीन मुख्य चरणमा सञ्चालन गरिनेछ।
पहिलो चरण: तीन महिने प्राविधिक प्रशिक्षण
पहिलो तीन महिनामा सहभागीलाई मिडिया उत्पादनसम्बन्धी आधारभूत तथा प्राविधिक प्रशिक्षण दिइनेछ। यस अवधिमा निम्न विषय समेटिनेछन्:
- आधारभूत फोटोग्राफी
- फिल्मको अवधारणा विकास र निर्माण
- सिनेमाटोग्राफी
- भिडियो सम्पादन
- डकुमेन्ट्री फिल्म
- रेडियो कार्यक्रम उत्पादन
- अनलाइन प्रसारण
- सामुदायिक मिडिया उत्पादन
प्राविधिक विषयसँगै वातावरण संरक्षण, आदिवासी तथा स्थानीय सीपको अभिलेखीकरण, मानव अधिकार, लैङ्गिकता तथा यौनिकतासम्बन्धी कार्यशाला पनि सञ्चालन गरिने जनाइएको छ।
यो पनि पढ्नुहोस् – साताका १० अवसर : अस्पताल र बैंकमा रोजगारीदेखि निःशुल्क एआई फेलोसिपसम्म
दोस्रो चरण: दुई महिने कार्यस्थलमा आधारित उत्पादन
दोस्रो चरणमा सहभागीलाई एक वा दुईवटा साझेदार कार्यक्षेत्रमा खटाइनेछ। त्यहाँ उनीहरूले दुई महिनासम्म समुदायसँग प्रत्यक्ष रूपमा काम गर्दै व्यक्तिगत तथा समूहमा फिल्म, फोटो, रेडियो वा अन्य मिडिया सामग्री निर्माण गर्नेछन्।
यस चरणले सहभागीलाई वास्तविक समुदाय र विषयसँग जोडिएर अनुसन्धान, अन्तर्वार्ता, छायाङ्कन, ध्वनि रेकर्डिङ, सम्पादन तथा कथा प्रस्तुतिको अनुभव दिनेछ।
तेस्रो चरण: एक महिने उन्नत प्रशिक्षण
अन्तिम एक महिनामा डकुमेन्ट्री सिनेमाको विश्लेषण, सहभागितामूलक भिडियो निर्माण तथा व्यक्तिगत र सामूहिक परियोजनाको अन्तिम तयारीसम्बन्धी उन्नत प्रशिक्षण दिइनेछ।
फेलोशिपको अन्त्यमा वातावरणसँग सम्बन्धित फिल्म तथा सहभागीले निर्माण गरेका सामग्री प्रदर्शन गर्न दुईदिने ‘ग्रिन मिडिया फेस्टिभल’ आयोजना गरिने कार्यक्रम विवरणमा उल्लेख छ।
कसले आवेदन दिन सक्छ?
फेलोशिपका लागि निम्न योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन्:
- नेपाली नागरिक हुनुपर्ने
- उमेर १८ देखि २५ वर्षसम्म हुनुपर्ने
- न्यूनतम SEE वा सोसरह उत्तीर्ण हुनुपर्ने
- मिडिया, सामुदायिक अभियान, वातावरण संरक्षण वा सामाजिक गतिविधिमा रुचि अथवा अनुभव भएको हुनुपर्ने
- छ महिनासम्म पूर्णकालीन आवासीय कार्यक्रममा सहभागी हुन सक्ने हुनुपर्ने
केही विशेष अवस्थामा उमेरसम्बन्धी अपवाद गर्न सकिने कार्यक्रम विवरणमा उल्लेख छ। युवा अभियानकर्मी, वातावरण अभियन्ता, सामुदायिक अगुवा तथा समुदायमा सक्रिय व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ।
आदिवासी तथा स्थानीय समुदायका युवा, महिला र विविध लैङ्गिक तथा यौनिक पहिचान भएका व्यक्तिलाई पनि आवेदन दिन प्रोत्साहित गरिएको छ।
फिल्म वा फोटोग्राफीसम्बन्धी औपचारिक अध्ययन अनिवार्य गरिएको छैन। तर आवेदकले आफ्नो समुदाय, वातावरणीय विषय, सामाजिक समस्या तथा कथावाचनप्रतिको रुचि आवेदनमार्फत स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेछ।
सहभागीले के पाउँछन्?
फेलोशिप सफलतापूर्वक पूरा गर्ने सहभागीले:
- डकुमेन्ट्री फिल्म र सामुदायिक मिडियाको व्यावहारिक सीप
- व्यावसायिक प्रशिक्षकबाट प्रशिक्षण र मार्गदर्शन
- विभिन्न समुदाय तथा कार्यस्थलमा पुगेर सामग्री उत्पादन गर्ने अवसर
- व्यक्तिगत र समूहगत फिल्म निर्माणको अनुभव
- निर्माण गरिएका सामग्री प्रदर्शन गर्ने अवसर
- डकस्कुलबाट प्रदान गरिने ‘डिप्लोमा इन क्रिएटिभ कम्युनिटी मिडिया’ प्राप्त गर्नेछन्।
आवेदन कसरी दिने?
इच्छुक आवेदकले सबैभन्दा पहिले अनलाइन आवेदन फारम भर्नुपर्नेछ।
अनलाइन आवेदन: ग्रिन मिडिया फेलोशिपको आवेदन फारम भर्नुहोस्
फारम भरेपछि आवेदकले निम्न सामग्री तयार गरी [email protected] मा पठाउनुपर्नेछ:
- आवेदक आफैँले खिचेका कम्तीमा १० वटा फोटो
- कम्तीमा तीन मिनेट लम्बाइका दुईवटा भिडियो
- आफ्नो बायोडाटा अर्थात् CV
- आवेदकलाई राम्रोसँग चिन्ने एक जना सम्बन्धित व्यक्तिको सिफारिसपत्र
- सिफारिस गर्ने व्यक्तिको फोन नम्बर र इमेल ठेगाना
सिफारिसपत्र आफन्तबाट नभई समुदायका अगुवा, शिक्षक, अभियानकर्मी, संस्थाका प्रतिनिधि वा आवेदकको कामबारे जानकार व्यक्तिबाट लिनुपर्ने कार्यक्रम विवरणमा उल्लेख छ।
आवेदन फारममा आवेदकको व्यक्तिगत तथा शैक्षिक विवरणसँगै समुदायसँगको सम्बन्ध, वातावरणीय वा सामाजिक चासो, कथावाचनको अनुभव, उपलब्ध मिडिया सीप, प्रयोग गर्न सक्ने सफ्टवेयर, समूहमा काम गरेको अनुभव र फेलोशिपका क्रममा निर्माण गर्न चाहेको कथाबारे प्रश्नहरू राखिएका छन्।
छनोट प्रक्रिया
अनलाइन फारम र आवेदनसँग पठाइएका सामग्रीको मूल्याङ्कनपछि प्रारम्भिक सूचीमा परेका आवेदकसँग थप कागजात माग्न वा अनलाइन अन्तर्वार्ता लिन सकिनेछ।
त्यसपछि छनोट प्रक्रियाको अर्को चरणका लागि आवेदक काठमाडौंमा उपस्थित भएर भौतिक परीक्षा वा अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। काठमाडौं आउने यात्राको खर्च डकस्कुलले उपलब्ध नगराउने आवेदन फारममा उल्लेख छ।
AI प्रयोग गरे आवेदन अस्वीकृत हुने
आवेदकले फारम भर्न, प्रश्नहरूको उत्तर तयार गर्न वा आवेदनसँग बुझाइने भिडियो, फोटो र बायोडाटा बनाउन कृत्रिम बुद्धिमत्ता अर्थात् AI प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ।
फारम वा आवेदन सामग्रीमा AI प्रयोग भएको पाइए आवेदन तत्काल अयोग्य हुने डकस्कुलले जनाएको छ। त्यसैले आवेदकले सबै उत्तर, फोटो, भिडियो तथा अन्य सामग्री आफ्नै अनुभव, विचार र सिर्जनामा आधारित भएर तयार गर्नुपर्नेछ।
शुल्क तिरेर सहभागी हुने अतिरिक्त सिट
पूर्ण छात्रवृत्तिका लागि १० सिट उपलब्ध रहेको कार्यक्रम विवरणमा उल्लेख छ। यसबाहेक छात्रवृत्तिमा छनोट नभए पनि शुल्क तिरेर अध्ययन गर्न चाहने व्यक्तिका लागि अधिकतम चारवटा अतिरिक्त सिट उपलब्ध हुन सक्ने जनाइएको छ।
शुल्कसहितको सिट, लाग्ने रकम र भुक्तानी व्यवस्थाबारे इच्छुक व्यक्तिले आयोजकसँग प्रत्यक्ष सम्पर्क गरेर जानकारी लिनुपर्नेछ।
आवेदनको अन्तिम मिति
आवेदन बुझाउने अन्तिम मिति १५ अगस्ट २०२६ तोकिएको छ। निर्धारित समयभित्र अनलाइन फारम भर्नुका साथै फोटो, भिडियो, सिफारिसपत्र र बायोडाटा इमेलमार्फत पठाइसक्नुपर्नेछ।
सम्पर्क विवरण
फोन तथा ह्वाट्सएप: ९८१८९६६५६९
कार्यालय फोन: ०१–५३५१७०९
इमेल: [email protected]
कार्यक्रम विवरण: ग्रिन मिडिया फेलोशिपको जानकारीपत्र पढ्नुहोस्
वेबसाइट: डकस्कुलको क्लाइमेट फेलोशिप पृष्ठ
नोट: डकस्कुलको मुख्य क्लाइमेट फेलोशिप वेबसाइटमा अघिल्लो संस्करणको १० महिने कार्यक्रमसम्बन्धी विवरण देखिन सक्छ। सन् २०२६–२७ को आवेदनका लागि आयोजकले जारी गरेको नयाँ कार्यक्रम जानकारीपत्र र हाल खुला रहेको आवेदन फारममा उल्लेख भएको छ महिनाको विवरणलाई आधार मान्नुपर्नेछ।
