संसद् सचिवालयमा ३८ जनाका लागि रोजगारी खुल्यो, साउन्ड इन्जिनियरदेखि चालकसम्म माग

जीविको २०८३ जेठ ७ गते २०:२७

काठमाडौँ। संघीय संसद् सचिवालयले करार सेवामा ३८ जना कर्मचारी माग गरेको छ। सचिवालयले २०८३ जेठ ६ गते सूचना प्रकाशित गर्दै संघीय संसद सेवा, प्राविधिक समूहअन्तर्गत विभिन्न १४ पदमा करार सेवाका लागि दरखास्त आह्वान गरेको हो।

सचिवालयका अनुसार रा.प. तृतीय सरहको साउन्ड इन्जिनियर पदमा २ जना माग गरिएको छ। त्यस्तै, रा.प. अनं. प्रथम श्रेणीअन्तर्गत इलेक्ट्रोनिक्स ओभरसियर ६ जना, भिडियोग्राफर २ जना, मेसेज सञ्चालक २ जना, अडियो भिडियो एडिटर ४ जना, प्रसारण सहायक ४ जना, माइक सञ्चालक २ जना र ओभरसियर ३ जना माग गरिएको छ।

यसैगरी, रा.प. अनं. द्वितीय श्रेणीअन्तर्गत इलेक्ट्रोनिक्स हेल्पर/टेक्निसियन २ जना, विद्युत हेल्पर २ जना, आईटी हेल्पर २ जना र स्वास्थ्य हेल्पर १ जना माग गरिएको छ। श्रेणीविहीनतर्फ भारी सवारी चालक ४ जना र हलुका सवारी चालक २ जना माग गरिएको छ।

कसले दिन पाउँछन् आवेदन?

तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेका, १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। सबै पदका लागि दुई पाङ्ग्रे सवारीसाधन चलाउन जानेको र सवारी चालक अनुमतिपत्र भएको हुनुपर्ने सूचनामा उल्लेख छ।

समकक्षता आवश्यक पर्ने शैक्षिक योग्यताको हकमा सम्बन्धित विश्वविद्यालय वा निकायबाट समकक्षता निर्धारण गरिएको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। दरखास्तसँग समकक्षता प्रमाणपत्र पेश नगरेमा त्यस्तो योग्यता मान्य नहुने सचिवालयले जनाएको छ।

कुन पदका लागि कस्तो योग्यता?

साउन्ड इन्जिनियरका लागि साउन्ड इन्जिनियरिङमा बीई वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ/इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङमा स्नातक गरी साउन्ड सिस्टम इन्जिनियरिङ सम्बन्धी कम्तीमा ६ महिनाको तालिम वा साउन्ड इन्जिनियरिङ सम्बन्धी कम्तीमा २ वर्षको अनुभव आवश्यक पर्नेछ।

इलेक्ट्रोनिक्स ओभरसियर र इलेक्ट्रिकल ओभरसियरका लागि सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण हुनुपर्नेछ। भिडियोग्राफर, मेसेज सञ्चालक, अडियो भिडियो एडिटर, प्रसारण सहायक र माइक सञ्चालक पदका लागि १०+२ वा सो सरहको योग्यता, आधारभूत कम्प्युटर तालिम र सम्बन्धित विषयको तालिम आवश्यक पर्नेछ।

इलेक्ट्रोनिक्स हेल्पर/टेक्निसियन, विद्युत हेल्पर र आईटी हेल्परका लागि एसईई वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिम तथा केही पदमा अनुभव पनि आवश्यक पर्नेछ। स्वास्थ्य हेल्परका लागि सीएमए वा सो सरहको योग्यता र सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिनाको अनुभव आवश्यक हुनेछ।

भारी सवारी चालकका लागि कक्षा १० उत्तीर्ण गरी भारी सवारी चालक अनुमतिपत्र र कम्तीमा १ वर्षको अनुभव आवश्यक छ। हलुका सवारी चालकका लागि कक्षा १० उत्तीर्ण, हलुका सवारी चालक अनुमतिपत्र र कम्तीमा ६ महिनाको अनुभव आवश्यक पर्नेछ।

आवेदनका लागि आवश्यक कागजात

आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको लब्धाङ्कपत्र वा ग्रेडसिट, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र, समकक्षता प्रमाणपत्र, अनुभव आवश्यक हुने पदका लागि अनुभव प्रमाणपत्र, दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्र र परीक्षा दस्तुर बुझाएको रसिद पेश गर्नुपर्नेछ।

परीक्षा शुल्क र छनोट प्रक्रिया

रा.प. तृतीय सरहका लागि परीक्षा दस्तुर रु. १,२००, रा.प. अनं. प्रथम सरहका लागि रु. ७००, रा.प. अनं. द्वितीय सरहका लागि रु. ५०० र श्रेणीविहीन पदका लागि रु. २५० तोकिएको छ।

छनोट प्रक्रिया प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामार्फत हुनेछ। प्राप्त दरखास्तमध्ये संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूलाई मात्र प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा सहभागी गराइनेछ। सबै पदका लागि कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान र सीप भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

आवेदन कहाँ र कहिलेसम्म दिने?

योग्यता पुगेका उम्मेदवारहरूले संघीय संसद् सचिवालयमा भौतिक रूपमा उपस्थित भई वा पदपूर्ति समितिको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्। इमेलमार्फत आवेदन दिँदा दरखास्त फारामसहित आवश्यक कागजात एउटै PDF फाइल बनाएर पठाउनुपर्नेछ।

दरखास्त फाराम सचिवालयको वेबसाइट hr.parliament.gov.np/np/secretariat-notices बाट प्राप्त गर्न सकिनेछ।

आवेदन दिने अन्तिम मिति २०८३ जेठ १२ गते दिनको ५ बजेसम्म तोकिएको छ। रीत नपुगेका वा म्याद नाघी प्राप्त भएका दरखास्तमाथि कुनै कारबाही नहुने सचिवालयले जनाएको छ।

नियुक्ति २०८३ सालको असार मसान्तसम्मका लागि करार सेवामा गरिनेछ। सचिवालयको आवश्यकताअनुसार करार अवधि नवीकरण हुन सक्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित