युवा उद्यमीहरूका लागि अवसर युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनी गर्ने
प्रदेशस्तरीय स्टार्टअप प्रतियोगिताका लागि आवेदन दिने समय थप, जेठ ४ गतेसम्म आवेदन दिन सकिने
राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनी प्रतियोगिताका लागि आवेदन दिने समय थप गरेको छ। परिषद्ले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक युवालाई आवेदन दिन थप समय दिइएको जनाएको हो।
प्रदर्शनीमा उत्कृष्ट हुने व्यवसायहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, दुई स्टार्टअपलाई १०/१० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार दिइने परिषद्ले जनाएको छ।
परिषद्का अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। यसअघि तोकिएको समयसीमाभित्र आवेदन दिन नसकेका युवाहरूको मागलाई ध्यानमा राख्दै आवेदन अवधि थप गरिएको परिषद्ले जनाएको छ।
अब इच्छुक युवाले आगामी २०८३ जेठ ४ गते राति १२ बजेसम्म आवेदन दिन सक्नेछन्। आवेदन परिषद्को आधिकारिक वेबसाइट www.nyc.gov.np मा रहेको अनलाइन फारम पोर्टल प्रणालीमार्फत दिनुपर्नेछ।
प्रतियोगितामा सहभागी हुन १६ वर्ष पूरा भई ४० वर्ष ननाघेका युवा व्यवसायीहरूले आवेदन दिन सक्नेछन्। यसअघि नै आवेदन दिइसकेका युवा उद्यमीहरूको आवेदन भने यथावत् रहने परिषद्ले जनाएको छ।
प्रदर्शनी सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको वीरेन्द्रनगर, लुम्बिनी प्रदेशको बुटवल, बागमती प्रदेशको हेटौंडा, मधेश प्रदेशको वीरगन्ज र कोशी प्रदेशको विराटनगरमा आयोजना हुनेछ।
परिषद्का अनुसार प्रत्येक प्रदेशबाट १५/१५ ओटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय छनोट गरी प्रदर्शनीमा सहभागी गराइनेछ। छनोट भएका व्यवसायीलाई स्टल व्यवस्थापनका लागि प्रति स्टल १० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइनेछ।
युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नवीन सोच र व्यवसायिक अवधारणा भएका युवालाई आफ्नो काम प्रस्तुत गर्ने अवसर दिने परिषद्को विश्वास छ। आवेदन प्रक्रियामा समस्या आए सम्बन्धित सम्पर्क व्यक्तिसँग समन्वय गर्न परिषद्ले अनुरोध गरेको छ।
