जागिर र तालिम खोज्ने र दिने दुबैलाई श्रम संसारमा जोडिन सरकारको अनुरोध
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम संसार पोर्टलमा आवद्द हुन सम्पूर्ण रोजगारदाता र रोजगार खोजकर्तालाई अनुरोध गरेको छ ।
सार्वजनिक सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले आफ्ना सम्पूर्ण डिजिटल प्रणालीहरूलाई एकीकृत गरी ‘श्रम संसार’ नामक एकद्वार प्रणाली सञ्चालनमा ल्याएको हो । यस प्रणाली अन्तर्गत अब निजी क्षेत्र, रोजगारदाता, रोजगार खोज्कर्ता, जब एजेन्सी तथा तालिम प्रदायक संस्थाहरूले अनिवार्य रूपमा आबद्ध भई श्रम र रोजगारसँग सम्बन्धित सम्पूर्ण सूचना, विज्ञापन र तालिमका अवसरहरू सार्वजनिक गर्नुपर्नेछ। यस प्रणालीमा आबद्ध हुनका लागि प्रयोगकर्ताले ‘श्रम संसार’ को आधिकारिक वेबसाइट (https://shramsansar.gov.np/) मा गएर वा मोबाइलको प्ले-स्टोरबाट Shram Sansar एप डाउनलोड गरी आफ्नो विधा अनुसारको विवरण दर्ता गर्न सक्नेछन्।
यसरी ‘श्रम संसार’ मा आबद्ध हुँदा रोजगारदाताहरूले आधिकारिक रूपमा जनशक्ति खोज्न पाउनेछन् भने रोजगार खोज्कर्ताहरूले सरकारी रेकर्डमा रहेका विश्वसनीय विज्ञापनहरू एकै ठाउँमा हेर्न र आवेदन दिन सक्नेछन्। यो प्रणालीले सूचनाको हकलाई सुनिश्चित गर्दै रोजगारीका अवसरहरूमा पारदर्शिता ल्याउने र बिचौलियाको जोखिमलाई कम गर्न ठूलो भूमिका खेल्नेछ। साथै, तालिम प्रदायक संस्थाहरूले आफ्ना सीपमूलक कार्यक्रमहरू लक्षित वर्गसम्म सिधै पुऱ्याउन पाउने भएकाले आन्तरिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन यसले महत्वपूर्ण सहयोग पुऱ्याउने मन्त्रालयको विश्वास छ।
