अनि हेर्दाहेर्दै गाउँ रित्तियो..
पाल्पा तानसेन नगरपालिका-९ मदनपोखराका नरेश बस्यालको बारीमा मकै नटुसाएको तीन साल भयो । सँधै हरियाली देखिने मदनको बारी अनि फाँट अहिले सुख्खा र उराठलाग्दो छ ।
बारी बाँझो छ, अनि घरको भकारी उनै नरेशले प्रवासमा जोहो गरेको पैसाले चल्दैछ । मदनपोखराका रित्ता घर, बाँझो बारी, शुन्यता अनि हराबरा खेत खण्डहर बनिरहेको दूरदशाका साक्षी छन् – नरेश, जो आफैँ दशक अगाडिबाट रोजगारीका लागि प्रवासमा छन् ।
गाउँमा रहेका बुढाबुढीका मलिन अनुहारहरू मुग्लानीहरूको प्रतिक्षामा देखिन्छन् । नरेशकै घर आसपास रहेका झण्डै ४० घरहरूमध्ये २५ भन्दा बढी घरमा यतिबेला माकुरा छन् तर मान्छे भने भेटिदैँनन् ।
नरेशका दाजुले पनि गाउँ छाडिसके तर उनका बुवाआमाले अहिलेसम्म गाउँ छाड्न सकेका छैनन् ।
मदनपोखरमामा सतप्रतिशत घरधुरीबाट यतिवेला वैदेशिक रोजगारीमा पुगेका छन् । कोही खाडीमा छन् कोही यूरोप त कोही जापान । पढ्दै गरेका १-२ जना तन्नेरी पनि १६ पुग्ने बित्तिकै पासपोर्ट बनाउन थालिहाल्छन् ।
नरेश भन्छन्, “डिग्री सक्काएकालाई रोजगारी छैन । हातमा सर्टिफिकेट नहुनेहरूको त गाउँ बस्ने आधार नै के छ र ? मेरै श्रीमती डिग्री सक्काएर घरमा बसेकी छिन् । गाउँ त बञ्जर बिरानो भइसक्यो । केही सालपछी त परदेशीका मस्तिस्कमा गाउँको झझल्को बाहेक केही रहने भएन”
रित्तिदै गरेको गाउँबाट थप एक युवा पनि यतिवेला विदेशिने तयारीमा छन्, उनी हुन् केशब बस्याल ।
३४ वर्ष उमेर लाग्दै गरेका केशव लामो समय आफ्ना समकालिन साथीभाईहरु विदेशिरहँदा ‘म त विदेशिन्न’ भनेर मदनपोखरामै बसिरहे ।
समय बित्दै गयो, गाउँ रित्तिँदै गयो त्यहीँ माथी बाँदरको बिगबिगीले भएको खेतीपाती सबै नष्ट गर्दै लग्यो ।
गाउँको एकान्तमा विरहको गीत गाउँदै उनी बसिरहे ।
तिमि चाहिँ नविदेशिने ? धेरैको प्रश्न हुन्थ्यो । केशव भन्ने गर्थे, “मलाई त दक्षिण कोरिया नै मदनपोखरा”
एकातिर कृषिबाट आम्दानी नहुनु अनि अर्का तीर बालसखाहरू विदेशिएर गाउँभर शून्यता छाउनु र त्यसमाथि बाँदरले आतंक मच्चाएर बालीनाली सखाप पार्नु जस्ता चोटहरू केशवले सहन सकेनन् र अहिले विदेशिने निधो गरिसके ।
“पेट त भर्नु पर्यो नि हैन र.. दुई छोरी छन् घरमा जहान छन्, बा ८० पुग्नुभयो आमालाई पनि बुढेशकाल छ सबैको जिम्मेवारी छ” निराश हुँदै केशब भन्छन्, “गाउँबाट बाँदरले लखेट्यो, देशबाट सरकारले लखेट्यो”
उनी भन्छन्, “गाउँमा बाँदरले उठिबास लायो, गाउँ रित्तियो, युवा सकिए तर सरकारले देखेन”
गाउँमा बाँदर भित्रिएसँगै पलायन भयो युवा जमात
दशक अगाडिसम्म गाउँका फाट्टफुट्ट युवाहरू मात्र विदेशिन्थे । यो सङ्ख्या त्यति ठूलो थिएन । गाउँमा एउटा बेग्लै किसिमको रौनक छाउँथ्यो । मलिलो जमिन भएकाले बाँच्नैका लागि भनेर ठूलो संघर्ष थिएन ।
करिब ५ वर्ष अगाडि गाउँमा बाँदर भित्रियो । त्यससमय अगाडिसम्म बाँदरको नाम निसान नरहेको मदनपोखरामा कहाँबाट यतिका बाँदर पुगे कसैलाई पत्तै भएन ।
बाँदरको बिगबिगी यतिसम्म बढ्यो कि घरको एकजना पुरुष चाहिँ खेती बचाउन बाँदर गोठालो हुनुपर्ने भयो ।
नरेश सम्झन्छन्, “बजारमा मेलामा बाँदर नचाउन ल्याउँदा मात्र हामीले बाँदर देख्थ्यौँ । एक्कासी कहाँबाट गाउँमा यतिका सङ्ख्यामा बाँदर आए पत्तै भएन । ”
सुरुवातमा छिटफुट देखिएका बाँदरको सङ्ख्या दिनप्रतिदिन बढ्न थाल्यो । बाँदर आतंकले बिकराल रूप लिएको ५ वर्ष बित्दा पनि स्थानीय सरकारले यो समस्या समाधानको पहल गर्नै सकेन ।
भएको बाली सबै नष्ट हुन थालेपछि घरमा खान लाउनै दुःख हुन थाल्यो ।फलतः बाध्य भएर युवाहरू वैदेशिक रोजगारीमा पलायन हुन थाले ।
बाँदरले छोराछोरी मुग्लान लखेट्ने भयो भन्दै गाउँका बुढापाका पनि नगरपालिकामा बिन्ती बिसाउन पटक पटक पुगे तर स्थानीय सरकार प्राय सँधै मौन नै रहेको नरेशले बताए।
बाँदरले बाली खानु स्वभाविक ठान्यो सरकारले, तर अस्वभाविक पलायन भने देख्न सकेन ।
अन्तत: हेर्दाहेर्दै गाउँ रित्तिँदै गयो ।
विदेशिएको छोरो पर्खनलाई एउटा मुर्दाघर बनाइदिनुहोस् !
गाउँमा फेरी रौनक छाउला, छोराछोरी गाउँभरी भरिभराउ होलान् अनि बारी फेरी हरियाली होला भन्ने सपना अहिले त्यहाँका वृद्दवृद्दाले पनि देख्न छाडिसके ।
अब त उनीहरुलाई एउटै मात्र चिन्ता लाग्छ – केही कथम मरिहाले चार काँध कसले बोक्ला अनि जलाउन खोलासम्म कसले पुर्याउला ?
स्थानीय ७१ वर्षीय लिलाप्रसाद बस्याल भन्छन्, “विदेशिएको छोरो त रोक्न सकिनस् सरकार, अब दया गरेर एउटा मुर्दाघर चाहिँ बनाइदिनु”
गाउँमा बुढेशकाल लागेका धेरै छन् तर कसैका छोराछोरी भने छैनन् । यदी कोही मरिहाल्यो भने घाट लैजाने मलामीसम्म नहोलान् भन्ने पीर छ लिलालाई ।
“विदेशबाट फर्किएर आउञ्जेल राख्नलाई गाउँमा मुर्दाघर चाहिने भएको छ । अब छोराछोरी त गइहाले, एउटा मुर्दाघर बनाइदिए चाहिँ हुने,” लिलाले सुनाए ।
स्थानीय, प्रदेश अनि संघिय सरकार सबै निरिह
तानसेन ९ का वडाध्यक्ष राजेश कुमार अर्याल भन्छन्, “ऊ बेला खेतीपाती गरेरै जीविका चलाउनेहरू अहिले गाउँको पसलबाट चामल किनेर गुजारा चलाउँछन् । हिजोका करेसाबारीमा अहिले घाँस सिवाय केही भेटिदैन अनि वर्षभरी खान पुग्ने खेतहरू बाँझिएका छन् । गाउँमा चरा उड्दैनन् । मौरी भुनभुनाउँदैनन् ।”
एक समय मदनपोखरा विशेषगरि तरकारी उत्पादनका लागि प्रख्यात थियो । त्यहाँबाट आसपासका ठाउँहरूमा तरकारी निर्यात हुन्थ्यो । तानसेन बजारलाई आधाजस्तो तरकारी मदनपोखराले खुवाउँथ्यो । अझ यही क्षेत्रमा फलाएको तरकारी बुटवलका बजारसम्म पुग्ने गरेका थिए । तर, अहिले गाउँमा न तरकारी छ न तरकारी फलाउने जनशक्ति नै । बिगत सम्झँदै वडाध्यक्ष राजेशले सुनाए ।
“यहाँ त न सरकारको नजर पर्यो न नगरपालिकाले नै कुनै कदम चाल्यो ।
वडाको स्रोत र साधनले समस्या हल गर्न नसक्ने भयो । अहिले बिस्तारै-बिस्तारै गाउँ नै पूरै रित्तिँदै छ,” राजेशले सुनाए ।
त्यसो त गाउँलेहरूले बाँदर धपाएर युवा टिकाउन थुप्रै तिकडम प्रयोग नगरेका होइनन् । कहिले ढ्याङ्ग्रो बजाएर लखेटे कहिले पटका पड्काएर बाँदर लखेटे तर अवस्था फेरीएन ।
“नेपालका नीति नियमहरूले बन्यजन्तुलाई मार्न नपाउने भनेको छ । अहिलेको विकल्प बाँदर मार्ने मात्र बनेको छ तर पाइँदैन, हाम्रो त गाउँ नै रित्तिने भयो,” राजेशले गुनासो पोखे ।
पाल्पाबाट संघिय संसद् चुनिएका ठाकुर गैरे भन्छन्, “पाल्पाको मदनपोखरामा मात्र नभई जिल्लाभरका जनताको समस्या हो – बाँदर । मैले व्यक्तिगत रूपमा यो समस्यालाई सदनसम्म उठाएको छु, तत्काल केही उपाय खोजेर समस्या समाधान गर्ने उपायमा छु”
बन्यजन्तु मार्न नहुने सरकारी नीति र मार्नु मात्र एकमात्र विकल्प देखिइरहेको अवस्थामा जनता र बन्यजन्तुबीच पारस्परिक समबन्ध कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा विकल्पहरू खोजिरहेको ठाकुर बताउँछन् । यसअघि पनि गाउँमा इलेक्ट्रीक तार व्यवस्था गर्ने भनेर सरकारले नीति तथा कार्यक्रम ल्याएको तर बाँदर रूख-रूख कुद्ने जनवार भएकाले दीर्घकालीन समाधानको रूपमा यसलाई राख्न नसकिने सोचेर खारेज गरिएको तर अब फरक ढंगले यसको व्यवस्थापन गर्न जरूरी देखिएको ठाकुर सुनाउँछन् ।
उनी भन्छन्, “संघीय सरकारमा आवाज उठाउने काम मबाट भइरहेको छ, सँगै स्थानीय निकायको कार्ययोजनामा पनि यसलाई समेट्न निरन्तर समन्वय गरिरहेको छु”