‘भयो, म किसान बनेर बदनाम हुन चाहन्न’
“केटा चाहिँ के गर्छन् नि ?,” पाँचथरमा विवाहको लागि केटीको हात माग्न जाँदा केटीका बा ले मलाई प्रश्न गरे ।
मेरो विहे जुराइदिन मसँगै लमि बनेर गएका गाउँले ठूलाबाले झटपट भनिदिए, “गाउँमै खेतीपाती गर्छ राम्रो कमाउँछ । भलादमी छ केटो, व्यवहारिक पनि”
मैले पनि ठूलाबाको कुरामा सहि थप्दै गफ लगाएँ, “कृषि गर्छु । ब्याचलर सक्काएँ, लोकसेवा दिने मन भएन आफ्नै केही गर्नु थियो अनि गाउँकै जग्गालाई सदुपयोग गरेर कृषि गर्न थालेँ”
गफ टुंगियो हामी घर फर्कियौँ । केटी पक्षले उताबाट ठूलाबालाई जवाफ फर्काए छन्, “मेरी छोरी गाउँमा बस्दिन रे, किसानलाई छोरी नदिने”
यो केही वर्षअगाडिको कुरो थियो । म २८ को थिएँ । त्यसपछिको २ साल जति मेरो विहेको कुरा चलेन । फेरी ३० वर्षहुँदा केटी माग्न भनेर इलामको फिक्कल पुगेँ । कुरा उसैगरि सुरूभयो । केटी पक्षबाट परिवारको बारे सोधियो, काम के गर्नुहुन्छ भनेर केटीका दाईले मलाई सोधे ।
यसपटक अरूले जवाफ फर्काउन नपाई मैले अलि सभ्य भाषामा सुनाएँ – कृषि फार्म छ, म डेरी पनि चलाउँछु । परिवारले राम्रै रेस्पोन्स गर्यो । अब केटी र मेरो अलग्गै कुराकानी गराउने कुरा चल्यो । हामी छुट्टै कुरा गर्न भेट्ने भन्यौँ र त्यसदिन छुट्टियौँ । भोलीपल्ट नै मैले विहानै मेरो पुरानो डिस्कभर बाइक निकालेर फिक्कल गएँ । केटीसँग एउटा क्याफेमा बसेर कुरा हुन थाल्यो । घुमाउरो पारामा उनले सोध्न खोजिन् – “अब गाउँमै खेतीपाती गर्ने योजना छ कि तराई तीर झर्ने प्लान छ नि ?”
“तराईमा त के छ र जानलाई ?” मैले सुनाएँ ।
“हैन ! सँधै गाउँनै बसिराख्ने हो कि भनेर नि ?” उनले भनिन् ।
मैले नि वास्तविकता सुनाएँ – “यहीँ राम्रो कमाउँछु, तराई गइहाल्ने योजना छैन, पहिला गाई बस्तुमात्र थिए अहिले डेरी पनि थपेको छु” एक कप चियासँगै हाम्रो गफ टुंगियो, म घर फर्किएँ । ३ दिनसम्म केटी पक्षबाट कुनै जवाफ आएन । चौथो दिनमा केटीका बाको फोन आयो- ‘छोरीले अहिले विहे नगर्ने भन्छे’
कुरा त्यसै सकियो, पछि अरूबाटै थाह पाएँ मेरो गाउँमै बसेर खेतीपाती गर्ने अडानले कुरो बिग्रिएछ । त्यसपछि मन विरक्तियो ३ \४ वर्ष बिहेको कुरा चलेन त्यसपछि दुई तीनवटा विहे प्रस्ताव आयो सबै गाई, गोबर अनि खेतबारीसँग जोडिएको मेरो जिवनीले तोडियो ।
बाले त्यसबेलै कृषि नपढ त भनेकै हो । मैले मानिन । आम्दानी धेरै देखेँ अनि बि.एस.स्सी एजी पढ्छु भनेर जीत कसेँ । पढाई सक्कियो जागिर खोज्न तीर लागिँन । आफ्नै गाउँमा प्रशस्तै जग्गा जमिन थियो त्यहीँ फर्म खोल्न मन थियो अनि सोहीअनुसार योजना बनाएर कम्मर कसेर गाउँ छिरेँ ।
आफूसँग प्राविधीक ज्ञान पनि भएकाले प्रविधीमैत्री खेती गर्न थालेँ । आम्दानी राम्रो हुँदै गयो । अहिलेपनि मासिक ६०-७० हजार रूपैयाँ गाउँ बसेरै कमाउँछु ।
तर, बिहानै थला भकारो गर्न गोठमा पसेर निस्किँदा गोबरसरी भएर निस्किन्छु, त्यसबेला डर लाग्छ कसैले आएर देख्ने पो हो कि ? भन्ने लाग्छ । पहिले बिना कुनै संकोच यिनै काम गर्थेँ, तर अहिले गोठबाट निस्किँदा डर लाग्छ । यस्तो लाग्छ, पढे लेखेको व्यक्तिले कृषि गरेर कुनै सामाजिक अपराध गरिरहेको छु ।
उमेरले ३६ नाघिसकेँ, अब भने एउटा ठोस निर्णय लिने निधो गरेँ – कि त खेतीपाती छाड्ने कि त विवाह गरेर घरजाम गर्ने सपना त्याग्ने । मैलै यो निर्णय त्यती हतासिएर लिएको पनि होइन । बितेका १० वर्षमा पाइला पाइलामा कृषि पेशा अंगालेका कारण होच्याइ खेप्नुपरेको छ ।
बौदिक भनेर चिनिने बर्गमा पनि मेरो खासै गफ जम्दैन । अझ भन्दा गफ गर्न खोज्छु तर मेरा कुराको वास्तै हुँदैन । आउने आफन्तले पनि बालाई सुनाउँदा रहेछन्, ‘यसरी नै बसे त यसको घरजाम हुँदैन, गोबरबाट निस्कनुपर्छ’
विहानै गमबुट लगाएर थलामा पस्दा जुन आनन्द मलाई २५-२६ वर्षको हुँदा आउँथ्यो अहिले दिक्दारीमा बदलिएको छ । अब मन मारेरै भएनि सरकारी जागिर खाउँ न त भन्दा उमेर पनि सकियो । कृषि छाडेर अरू केही गरौेँ न भन्दा जानेको नै यही हो ।
यो पङ्तीकारको ठाउँमा बसेर तपाईंले पनि एकपटक सोच्नुहोस् त – एक किसान बाबुले कृषकलाई छोरी दिन्न भनेर बस्दा मनमा के पस्छ ? केही वर्ष अगाडि विपिन कार्कीको ‘गोपी’ नामको सिनेमा चलेको थियो । बिपिन कार्की फिल्ममा गाईपालक थिए । सिनेमाको क्लाइमेक्स त सुखद थियो, पहिलो प्रेमिका (सुरक्षा पन्त)ले गाईपालक भनेर छाडे पनि दोस्रो प्रेमिका वर्ष राउतसँग उनको विवाह भएको थियो । मैले पनि हेरँ, फिल्म त राम्रो बनेको थियो । तर, बिपिन कार्कीको क्लाइमेक्स झैँ सुखद जीवन सबै गोपीहरूको भने हुँदो रहेनछ ।
७० प्रतिशत माथी किसानको जनसङ्ख्या भएको राष्ट्रमा न त कृषिले पेशागत सुरक्षा पाउन सक्यो न त सम्मानजनक पेशाका रुपमा स्थापित नै हुन सक्यो । त्यसैले त अब म खेतीपाती छाड्दै छु । मिले विदेशिन्छु नमिले जागिर खोज्छु । तर, फेरी खेतीपातीमा चाहिँ फर्किन्न । भयो म अब किसान बनेर बदनाम हुन चाहान्न ।
…..
स्नातक तहमा कृषि विज्ञान गरेका लेखक विगत १० वर्षदेखि इलाममा कृषि गर्दै आएका छन् । किसान हुँदा समाजबाट भोगेको आफ्नो अनुभव उनले जीविकोलाई बताउँदै प्रकाशन गर्दा नाम उल्लेख नगर्न आग्रह गरे ।