स्वास्थ्य बीमा बोर्ड र नागरिक लगानी कोषमा रोजगारिको अवसर
स्वास्थ्य बीमा बोर्ड टेकु, काठमाण्डौले करार सेवामा कर्मचारी मागको आवेदन आव्हान गरेको छ । बोर्डले ५५ जना सेवा जनशक्तिको माग गरेको हो ।
आवेदन बैशाख २९ गतेसम्म दिन सकिने छ । दरखास्त फाराम www.hib.gov.np बाट डाउनलोड गरेर भर्न सकिने छ । आवेदन फारामसँगै नेपाली नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्ने सूचनामा उल्लेख गरिएको छ । आवेदन स्वास्थ्य बीमा बोर्ड टेकु, काठमाण्डौमा बुझाउनु पर्नेछ ।
दरखास्त दस्तुर ५ सय रुपैयाँ लाग्नेछ । दस्तुर बोर्डको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १०००१००२०००१००००, राजश्व शीर्षक नं. १४२२४ कार्यालय कोड नं. ३७०३१३५०१ मा जम्मा गर्नु पर्ने हुन्छ ।
कर्मचारी छनोट लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताबाट गरिने छ । छानिएका कर्मचारीले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरु/स्थानीयतहहरूमा रहेर काम गर्नुपर्ने हुन्छ ।
हेर्नुहोस् सूचना
त्यस्तै, नागरिक लगानी कोष केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौँले बिभिन्न पदमा कर्मचारी मागको आवेदन खुलाएको छ । कोषले सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक तथा सहायक कम्प्युटर अपरेटर पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा १५ जना स्थायी कर्मचारीको लागि आवेदन आव्हान गरेको हो ।
आवेदन आउँदो जेठ १३ गतेसम्म बुझाउन सकिने छ भने दोब्बर दस्तुर तिरेर जेठ २० गतेसम्म दिन सकिने छ । आवेदन www.nlk.org.np को Career भित्र गई Online Application वा www.vacancy.nlk.org.np मार्फत् अनलाइन दिन सकिने छ । आवेदन फारामसँगै नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि, तालिम तथा अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपिहरू तथा समावेशी समुदायको हकमा स्थानीय तहको प्रमुखको सिफारिसपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
दरखास्त दस्तुर अधिकृत स्तर, छैटौँ तहको पदका लागि १ हजार र सहायक स्तरका पदका लागि ६ सय रुपैयाँ लाग्ने छ, भने प्रत्येक थप समावेशी समूहका लागि २५ प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ । दस्तुर Connect IPS, Esewa वा कोषको लक्ष्मी बैंकमा रहेको खाता नम्बर ०१२११०३४१४१ मा जम्मा गर्न सकिने छ । कर्मचारीको छनोट लिखित परीक्षा, प्रस्तुतीकरण, अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षणबाट गरिने छ ।
हेर्नुहोस् सूचना