सचेत रहौं: वैदेशिक रोजगारीमा कसैको भ्रम र प्रलोभनमा नपरौँ
वैदेशिक रोजगार विभागले दक्षिण कोरिया लगायत कुनैपनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/ संस्थाको भ्रममा नपर्न, रकम नबुझाउन आग्रह गरेको छ । विभागले पछिल्लो समयमा मौसमी कामदार पठाउने भनी विभिन्न अनलाइन माध्यमहरूमा भ्रामक सूचना प्रकाशन गरी विभिन्न मुलुकहरू खास गरी दक्षिण कोरिया पठाउने भनी उजुरीहरू आएको हुँदा सबैलाई सचेत गराएको हो ।
मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रुपमा जाने व्यक्तिले कुनै पनि शुल्क बुझाउनु पर्दैन । कसैले काम लगाइ दिन्छु भनी ठगेमा स्थानीय निकायको आधिकारिक पदाधिकारी वा यस विभाग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा वा अन्य फोनमा सम्पर्क गर्न विभागले आव्हान गरेको छ ।
सम्पर्क नम्बर : ०१ ४७८२६४८,४७८२७१०,४७८२६५८,९७७-१-४७८२६
हेर्नुहोस् सूचना
त्यस्तै नेपाली राजदूतावास याङ्गुनले पनि दुबईमा काम गर्दै आएका तथा नेपालमा रहेका नेपालीहरूलाई थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (IT) का क्षेत्रमा ‘Digital Sales and Marketing Executives’ रुपमा आकर्षक तलब र सुविधा दिने भनी प्रलोभन देखाई थाइल्याण्डको बैंकक र याङ्गुनबाट म्यानमारको कायिन प्रान्तको म्यावडीमा लागि जबरजस्ती अवैध कार्यहरूमा लगाइएको हुँदा सचेत रहन आव्हान गरेको छ ।
यसरी फसेका नेपालीको रोजगारदाताले राहदानी खोसिदिने, १२-१३ घण्टासम्म काममा लगाउने, तलब नदिने गरेको बताउँदै उद्दारका लागि राजदूतावासमा सम्पर्क गरिएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवं कानून अनुरूप निषेध गरिएका कार्यहरूमा संलग्न हुने कार्य कानून बमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी कार्यहरू नगर्न/नगराउन र यसतर्फ सचेत रहन दुतावासको सूचनामा उल्लेख गरिएको छ ।
साथै सूचनामा नेपालीहरूलाई रोजगारीका लागि पर्यटक / भिजिट भिसामा यात्रा नगर्न र रोजगारी प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगहरू मार्फत विदेशी फर्म/कम्पनी/ रोजगारदाताहरूको बारेमा जानकारी प्राप्त गर्न तथा व्यक्तिगत रुपमा ती फर्म/कम्पनी/ रोजगारदाताहरूको वेबसाइट चेक जाँच / प्रमाणीकरण गर्न समेत दुतावासले अनुरोध गरेको छ ।
थप जानकारीका लागि [email protected] मा इमेल वा ०१-९५४५८८० , ०१-९५५७१६८ मा सम्पर्क गर्न सकिने छ ।
हेर्नुहोस् सूचना
त्यसोत वैदेशिक रोजगार बोर्डले आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहीहरूलाई सजग रहन आव्हान गरेको छ ।
बोर्डबाट प्राप्त हुने कल्याणकारी तथा बीमा सुविधा सहजीकरण गर्ने बहानामा मृतकको घरमा वा अङ्गभङ्ग भएका व्यक्तिका आफन्तसम्म बिचौलिया पुगी, प्रभावमा पारी विभिन्न रकमको माग गर्ने गरेको हुँदा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग वा उपचारको लागि प्राप्त हुने आर्थिक सहायता तथा बीमा रकम प्राप्त गर्नको लागि कुनै असम्बन्धित व्यक्ति र बिचौलियाको भर / विश्वासमा नपर्न, कुनै रकम नदिन तथा आफ्नो बैंकसँग सम्बन्धित कागजात (चेक, एटीएम कार्ड) लगायतका आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न बोर्डको सूचनामा उल्लेख गरिएको छ ।
यदि कसैले कुनै पनि बहानामा दुःख दिएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा गइ उजुरी गर्न वा आफू नजिकको आप्रवासी स्रोत केन्द्रमा सहयोगको लागि सम्पर्क सकिने छ ।
थप जानकारीका लागि [email protected] मा इमेल गर्न वा ०१-५३२०३११०१-५३२०४३३ सम्पर्क गर्न सकिने छ ।
हेर्नुहोस् सूचना