राधिका थारू भन्छिन्: माछा पालेर नै हाम्रो जीविका चल्यो, हाम्रा सन्तानले यसैबाट कमाउन सकुन् !
उदयपुर त्रियुगा ३ बराहमा रहेको तेलमिलमा नाम्लो र ठूलो पाटको बोरा काखीमा च्यापेर आएकी राधिका थारूलाई हामीले भेट्यौँ ।
तेल मिलमा बोरा बोकेर आएको देखेर हामीले सोध्यौँ, कति तोरी लिएर आउनुभयो नि ?
उनले जवाफ फर्काइन् ‘तेल हैन पिना लिन चाहिँ आएको ।’ तोरी पेलेर निक्लिएको पिना गाईबस्तुलाई पोसिलो आहारको रूपमा खुवाउने चलन छ । तर, राधिका भने आफ्नो पोखरीमा रहेको माछालाई चारोका लागि पिना लिन आएकी रहेछिन् ।
माछा पालन उनीहरूको पुर्ख्यौली पेशा रहेछ । बुवा, बाजे सबैले माछा पालेर नै जीविका चलाउँदै आएको राधिका बताउँछिन् ।
“माइतीमा पनि यही माछा पाल्ने गरेको थियो, घरमा पनि म बिहे गरेर आउँदा २ वटा पोखरी थियो, पछि मैले थप २ वटा पोखरी खन्न लगाएर ४ वटा बनाएर व्यवसाय गरे ।”
वर्षौँदेखि माछा पालन बाट नै उनीहरूको घर व्यवहार चल्ने गरेको छ । राधिका आफू माछा पालन मात्र गर्दिनन् बजारमा गएर आफूले पालेका माछालाई आफै बेच्ने गर्छिन् । यसरी माछा बजारमा व्यापारीलाई दिने होइन उनी आफै त्यसलाई काटेर, सरसफाइ पनि गरेर ग्राहकलाई दिन्छिन् । सप्तरी बाट विवाह गरेर उदयपुर पुगेकी राधिकाको माइतीमा पनि यही माछा पाल्ने व्यवसाय नै गर्छन् रे । सानै बेला देखी माछा सँग खेल्दै हुर्किएकी राधिकालाई माछा पाल्नु, माछाको स्याहार सुसार गर्नु खासै गार्हो लाग्दैन ।
“हाम्रो त सानै देखी यही माछासँग दिन बित्थ्यो पोखरीमा गयो यिनीहरूलाई खाना दियो, माछासँगै खेल्यो कत्ती रमाइलो हुन्थ्यो ।” राधिका सम्झन्छिन् । सानैदेखि माछापालनलाई नियाली रहेकी राधिकालाई माछा कसरी पाल्ने, माछाको हेरचाह कसरी गर्ने ? चारो कति बेला हाल्ने ? भन्ने जस्ता कुराहरूको राम्रो ज्ञान थियो । त्यसैले होला माछा पालन सम्बन्धी कुनै व्यवसायिक तालिमको आवश्यकता उनलाई परेन । अनि त्यसलाई बजारमा लगेर बेच्न भने उनले बाबुसँग हिँड्दा हिँड्दै सिकिन ।
“सानो हुँदा बाबु सँगै माछा बेच्न जान्थे, अनि ब्यापार कसरी ब्यापार गर्ने, हिसाब किताब कसरी राख्ने, माछाको सरसफाइ कसरी गरेर ग्राहकलाई दिने भन्ने सबै कुरा बुवा सँग हिँड्दा सिके ।” राधिका सुनाउँछिन् ।
यसरी बालापन देखी सिकेको कुरालाई राधिकाले आफ्नो व्यापार/व्यवसाय बनाइन् । माछा पाल्ने अनि त्यसलाई बेचेर जीविका चलाउँदै आएकी राधिका एकै ठाउँमा पसल राखेर ब्यापार गर्ने भने भने होइन । माछा बेच्ने क्रममा उनलाई उदयपुर जिल्लाको धेरै हटियामा भेटिन्छ । उदयपुरको राजावासमा लाग्ने हाट बजारमा शुक्रबार भने कहिले बाघा, दौली, जलजले, गाइघाटमा लाग्ने बजारमा माछा बेच्न जान्छिन् उनी ।
“मलाई त हप्तामा १ दिन पनि फुर्सद हुँदैन, जहाँजहाँ बजार लाग्छ त्यही कुदी हाल्छु माछा लिएर, काम गर्न के को लाज,” मुसुक्क हाँस्दै राधिकाले सुनाइन ।
हुनत माछा टोकरीमा लिएर बेच्न कमै मात्र महिलाहरू हिँड्ने गर्छन् । तर, माछा बेच्न पुरुष सरह आफू पनि हिँड्न सक्छु भनेर राधिका अगाडि बढिन् । यही माछा पाल्ने अनि बेच्ने व्यवसायले नै उनको परिवार चलेको छ । अनि उनलाई यो काम गर्न कति पनि गार्हो लाग्दैन । अहिले त उनका छोराछोरीले पनि यो काममा हात बढाउन थालेका छन् ।
राधिकालाई आफूले गरेको पेसा आउने पुस्ताले पनि नछाडुन् जस्तो लाग्छ । यही माछाको व्यवसायलाई ठूलो बनाउन अनि व्यवसायीक रूपमा नयाँ तरिकाले अगाडि बढाउँन भन्ने उनको चाहना छ ।
“मलाई त आफ्नो पुर्ख्यौली पेसाप्रति गर्व लाग्छ, पुरानै तरिकाले माछापालन गर्ने हो भने त जीविको धान्न गार्हो पर्छ । तर व्यवसायीक रूपमा माछा पाल्न सके मेरो आउने पुस्ता सहजै यसमा निर्भर हुन सक्छन्,” राधिका सुनाउँछिन् ।