अनलाइनबाटै भिजिट भिसाको स्वीकृति दिने तयारी
सरकारले भिजिट (पर्यटक) भिसामा विदेश जानेका लागि अनलाइनमार्फत पूर्वस्वीकृति दिने तयारी गरेको छ । भिजिट भिसामा विदेश जाँदा धेरै नेपालीहरू कागजात नमिलेर वा भिजिट भिसाको मापदण्ड नपुगेर विमानस्थलबाट फर्कनु नपरोस् भन्ने उद्देश्यले सरकारले यस्तो प्रावधान ल्याउन लागेको हो । नयाँ कार्यविधि स्वीकृतिका क्रममा रहेको र त्यसलाई कार्यान्वयनका लागि प्राविधिक तयारी भइरहेको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागले पूर्वस्वीकृति दिने प्रावधानसहितको कार्यविधि स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइसकेको छ । विभागका अनुसार घुम्न तथा आफन्त भेट्ने प्रयोजनका लागि विदेश जानेहरूको आवश्यक कागजपत्र अनलाइनमै अपलोड गरेपछि उनीहरूले इमेल वा एसएमएसमार्फत पूर्वस्वीकृति पाउनेछन् । विभागको वेबसाइटमार्फत नै फारम भरेर भिजिट भिसाको स्वीकृति दिने तयारी भइरहेको छ ।
नयाँ कार्यविधि स्वीकृत भइनसकेकाले औपचारिक रूपमा नयाँ प्रावधान सार्वजनिक नगरिएको विभागले बताएको छ । नयाँ प्रावधान लागू भए पछि घुम्नकै लागि विदेश जानेको हकमा वार्षिक न्यूनतम आय ६ लाख हुनुपर्ने र तीन लाख रुपैयाँ बैंक ब्यालेन्स देखाउनुपर्ने प्रावधान राखिएको छ । त्यस्तै घुम्नको लागि जाने व्यक्तिको मासिक आम्दानी ५० हजार हुनु पर्नेछ । भिजिट भिसामा जानेले आयसम्बन्धी कागजपत्र अनलाइनमै अपलोड गरेपछि विभागले त्यसमा अध्ययन गरी पूर्वस्वीकृति दिनेछ । पूर्वस्वीकृति प्राप्त भएपछि मात्र टिकट काट्ने गरी नयाँ प्रावधान लागू गर्न लागिएको विभागले जानकारी दिएको छ ।
व्यापारिक काम तथा उपचार लगायतको प्रयोजनका लागि विदेश जानेको हकमा भने पूर्वस्वीकृतिको प्रावधान राखिएको छैन । यसरी पूर्वस्वीकृतिको प्रावधानले विमानस्थल पुगेर फर्कनुपर्ने अवस्था नरहने र यसबाट अध्यागमनका कर्मचारीलाई पनि सहज हुने विभागको भनाइ छ ।
भिजिट भिसाको दुरुपयोग गरी वैदेशिक रोजगारीमा लैजाने तथा मानव तस्करीका घटनासमेत बढ्दै गएपछि यसमा सुधारको माग हुँदै आएको छ । घुम्ने नाममा युएई, मलेसिया, कतारलगायतका देश लगेर मानव तस्करी हुने गरेको घटना विगतमा पटकपटक सार्वजनिक हुँदै आएका छन् । गृह मन्त्रालयले गरेको एक अध्ययन अनुसार सन् २०२१ मा विभिन्न समूहले रोजगारीको प्रलोभनमा पारेर ७२ हजार नेपालीलाई भिजिट भिसामा युएई पुर्याएका थिए ।